Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 19-20

19 यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्कि आए। दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो। तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुशरण गर्ने निश्चय गर्नु भयो।”

यहोशापातले न्यायकर्ताहरू चुने

यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए। यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने। योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ। अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”

अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए। यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ। 10 तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाइहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।

11 “अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिमीहरूसाथ रहून् तिमीहरूले त्यही गर्नु जे गर्न उचितछ।”

यहोशापातले युद्धको सामना गर्छन्

20 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए। केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” (हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।) यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। तिनले भने,

“हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’

10 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। 11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। 12 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”

13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। 14 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा। 15 यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो। 16 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। 17 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’”

18 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे। 19 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।

20 यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिंड्न थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”

21 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए,

“परमप्रभुको स्तुति गर!
    किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”

22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू जो यहूदा माथि आक्रमण गर्न आएका थिए। 23 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक-अर्कालाई पनि मारे।

24 यहूदाका मानिसहरू मरुभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइईँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्। 25 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए। 26 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका-बेंसी” भन्छन्।

27 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए। 28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।

29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो। 30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।

यहोशापातको शासनको अन्त

31 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस बर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस बर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। 32 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुशरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे। 33 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमेश्वरको अनुशरण गर्न देखि हटाएनन्।

34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।

35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे। 36 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए। 37 तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्।

प्रकाश 8

सातौं मोहर

भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो। अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो।

अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनौलो बेदीमा राखे। धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो घुवाँ परमेश्वरका मानिसहरूको प्रार्थनासितै उँभो गयो। त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरू आयो अनि भूईँचालो गयो।

सात स्वर्गदूतहरूले तुरही बजाए

तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए।

पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले।

दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए।

10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। 11 त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे।

12 चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।

13 जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”

जकरिया 4

सुनौलो सामदान अनि दुइवटा भद्राक्षेका रूखहरू

तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए। तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?”

मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरू निक्लिँदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो तेल हरेक दियोको प्याला सम्म जाँदै छन्। त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।” तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ के होला?”

मसँग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?”

मैले भनें, “थाहाछैन महाशय।”

तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो। त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’”

तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो, “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। 10 मानिसहरू त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरू यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।”

11 त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुइवटा भद्राक्षको बोटहरूले के अर्थ बुझाउँछ?” 12 मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसँग छ।”

13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?”

मैले भनें, “छैन महाशय।”

14 यसकारण उनले भने, “यो ती दुइ मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”

यूहन्ना 7

येशू र उहाँका भाइहरू

यो घट्ना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए। त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो। तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्। यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।” (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)

येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ। संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ। यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।” त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।

10 तब येशूका भाइहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो। 11 त्यो चाडमा यहूदीहरूले येशूलाई खोजे। तिनीहरूले भने, “त्यो मानिस कहाँ छ?”

12 त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै-कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरूले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।” 13 तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसँग डराउँदथे।

येशूले यरूशलेममा शिक्षा दिनुभयो

14 त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो 15 यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”

16 येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो। 17 यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ। 18 कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफैं मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन। 19 के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”

20 मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”

21 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ। 22 मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ। 23 यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ? 24 बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”

येशू नै ख्रीष्ट हो भनेर मानिसहरू छक्क परे

25 यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्? 26 हेर, तिनी खुल्लम-खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे? 27 तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”

28 येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ। 29 तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”

30 जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन। 31 तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर पर्खिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नु हुन्छ र? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”

यहूदीहरूले येशूलाई पक्रने प्रयास गरे

32 फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्य पूजाहारीहरू र फरिसीरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए। 33 तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसँग बस्नेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो। 34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्ने छैनौ। अनि जहाँ म हुन्छु त्यस ठाउँमा तिमीहरू आउन सक्नेछैनौ।”

35 यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन्, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्? के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्? 36 उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”

पवित्र आत्माको विष्यमा येशूले भन्नु हुन्छ

37 पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ। 38 यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।” 39 येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।

येशूको विषयमा मानिसहरूको वाद-विवाद

40 मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।”

41 अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”

अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन। 42 धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।” 43 तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्। 44 कोही मानिसहरूले येशूलाई पक्रन चाहन्थे। तर कसैले पनि तिनीमाथि आफ्नो हात हालेनन्।

यहूदी अगुवाहरूले विश्वास गर्न अस्वीकार गरे

45 तब मन्दिरका पहरेदाहरू, मुख्या पूजाहारीहरू र फरिसीहरूभए कहाँ फर्के। तिनीहरूले मन्दिरका पहरेदाहरू सोधे, “तिमीले किन येशूलाई ल्याएनौ?”

46 मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”

47 फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ। 48 अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन! 49 तर ती मानिसहरू जौ बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।”

50 तर निकोदिमस् ती अगुवाहरूमध्ये एकजना थिए। निकोदेमस त्यो मानिस थियो जो येशूलाई हेर्न पहिल्यै गएको थियो। उनले भने, 51 “हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”

52 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पनि गालीलबाटै आएको हौ? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि आगमवक्ता गालीलबाट आउँदैन्।”

व्यभिचारमा समातिकी आइमाई

53 [a] सबै यहूदी अगुवाहरू आ-आफ्ना घर गए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International