M’Cheyne Bible Reading Plan
मीकायाले राजा आहाबलाई चेताउनी दिन्छन्
18 यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए। 2 केही बर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेंडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए। 3 आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।” 4 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”
5 यसर्थ राजा आहाबले 400 अगमवक्ताहरू एकत्रित गरे। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरूद्ध लडाई गर्न जाऊँ कि नजाऊँ?”
अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”
6 तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”
7 तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।”
तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”
8 तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”
9 आहाब इस्राएलका राजा अनि यहोशापात यहूदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुन्नेको द्वारको नजिक ढिकीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुइ राजाहरूका सामुन्ने आफ्ना संन्देश भनीरहेका थिए। 10 सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सींङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छः ‘तपाईंहरूले यी फलामका सींङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंश नहुन्जेल घोच्नलाई प्रयोग गर्नु हुनेछ।’”
11 सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्नु हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।”
12 मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”
13 तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझैं म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
14 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”
15 राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”
16 तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेंडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।’”
17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”
18 मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर। 19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने। 20 तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने उभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो, ‘कसरी?’ 21 त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूटो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि त्यसै गर।’”
22 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूटो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”
23 त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?” 24 मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौ।”
25 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ। 26 आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।’”
27 मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु मद्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरू पनि मेरो कुरा सुन।
रामोत-गिलादमा आहाब मारिए
28 यसर्थ इस्राएलका राजा आहाब अनि यहूदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे। 29 राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।
30 अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।” 31 जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो। 32 जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।
33 तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँढ हाने। त्यो काँढले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “घुम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।” 34 त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफैं उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।
इस्राएलका एकलाख चवालीस हजार मानिसहरू
7 यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। 2 त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, 3 “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।”
4 तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:
5 यहूदाको कुल समूहबाट | 12,000 |
रुबेनको कुल समूहबाट | 12,000 |
गादको कुल समूहबाट | 12,000 |
6 आशेरको कुल समूहबाट | 12,000 |
नप्तालीको कुल समूहबाट | 12,000 |
मनश्शेको कुल समूहबाट | 12,000 |
7 शिमियोनको कुल समूहबाट | 12,000 |
लेवीको कुल समूहबाट | 12,000 |
इस्साखारको कुल समूहबाट | 12,000 |
8 जबूलूनको कुल समूहबाट | 12,000 |
यूसुफको कुल समूहबाट | 12,000 |
बेन्यामीनको कुल समूहबाट | 12,000 |
विशाल भीड
9 त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। 10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।”
11 अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। 12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?”
14 मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।”
अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। 15 यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्। 16 तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। 17 सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
प्रधान पूजाहारीको बारेमा दर्शन
3 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। 2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हप्काउन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो। 4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरूलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसँग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। 6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसँग यसो भनेः
7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो:
“यदि तिमीले मैले भने जस्तै गरी बस्यै
अनि मेरो सेवा गर्यौ भने,
तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ।
तिमीले यसको आँगनको हेरचाह गर्नेछौ
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं
स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
8 प्रधान पूजाहारी यहोशू, सुन्।
तिमी अनि तिम्रा साथीहरू जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ।
अनि म मेरो दासलाई पनि ल्यउँदैछु।
उसलाई, ‘हाँगा’ भनिन्छ।
9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें।
त्यस ढुङ्गाको सातवटा आँखाहरूछन्
अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु,
म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”
10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई
तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि
शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”
येशूले पाँच हजार भन्दा बेसीलई खुवाउनुभयो
(मत्ती 14:13-21; मर्कूस 6:30-44; लूका 9:10-17)
6 यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो। 2 धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए। 3 येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो। 4 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।
5 येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?” 6 येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।
7 फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”
8 त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए। 9 आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए। 11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो।
12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।” 13 तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुइवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूल-ठूला बाह्र डोकोहरूमा भरे।
14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।”
15 येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।
येशू पानीमा हिँड्नु हुन्छ
(मत्ती 14:22-27; मर्कूस 6:45-52)
16 त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए। 17 यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो। 18 हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो। 19 तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए। 20 तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराऊ, यो म नै हुँ।” 21 जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
मानिसहरूले येशूलाई खोजे
22 अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसँग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफैं छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो। 23 तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो। 24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे। किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।
येशू जीवनको रोटी हुनुहुन्छ
25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”
26 उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अँहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ। 27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र सँग छन्।”
28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”
30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ? 31 मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’”
32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। 33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”
34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। 36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। 37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। 38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। 39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। 40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।” 42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’”
43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर। 44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ। 45 अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्। 46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।
47 “म तिमीहरूलाई साँच्चो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ। 48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ। 49 तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे। 50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन। 51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
52 तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”
53 येशूले भन्नुभयो, “म साँच्चो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ। 54 तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु। 55 मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो। 56 जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ।
57 “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। 58 म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
धेरै चेलाहरूले येशूलाई छाडे
60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? 62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? 63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। 64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) 65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’”
66 जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।
67 येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?”
68 शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। 69 हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”
70 तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।” 71 येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।
© 2004, 2010 Bible League International