Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 17

यहोशापात यहूदाका राजा

17 यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लड्न सकुन्। तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।

परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुशरण गरेनन्। यहोशापातले तिनका पुर्खाहरूले अनुशरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्। परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो। यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।

यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो बर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए। ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए। ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।

10 यहूदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरूद्ध युद्ध शुरू गरेनन्। 11 केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेंडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।

12 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे। 13 तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे। 14 ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः

यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः

अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।

15 योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।

16 अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिंक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई समर्पण गर्नमा खुशी थिए।

17 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः

एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।

18 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।

19 ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।

प्रकाश 6

भेंड़ाको पाठोले चर्म-पत्र खोल्दछन्

तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”। अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।

भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।

त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।”

त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो।

त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। 10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” 11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।

12 तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। 13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। 14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे।

15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। 16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। 17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”

जकरिया 2

यरूशलेमलाई नाप्ने मानिसको दर्शन

तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें। मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”

उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”

त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्:

“‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ।
    किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’
परमप्रभु भन्नुहुन्छ,
‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु,
    म तिमीहरूको महिमा हुनेछु।’”

परमेश्वरले मानिसहरूलाई घरमा बोलाउनु हुन्छ

परमप्रभु भन्हुन्छ,
“छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर!
    जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें।
हे सियोनका मानिसहरू!
    जो बाबेलमा कैदीछौ, दगुर!”
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
    “उहाँले मलाई त्यस देशको बिरुद्ध
    पठाउँनु भएको छ जसले तिमीलाई लगे।
किनभने यदि उसले तिमीलाई चोट पुरायो भने
परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु।
    तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।”
तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई
    यहाँ पठाउँनु भएको हो।

10 परमप्रभु भन्नुहुन्छ,
“आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन।
    किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।
11 त्यससमय धेरै जातिका मानिसहरू
    परमप्रभु कहाँ आउँनेछन्,
अनि तिनीहरू मेरा मानिस हुनेछन्।
    म तिमीहरूको बीचमा बस्नेछु।
अनि तिमीहरूले जान्नेछौ कि
    सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।”

12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
    अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस!
    आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ।

यूहन्ना 5

जल-कुण्डको छेउमा भएको मानिसलाई येशूले निको पार्नुभयो

त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ। धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।[a] [b] त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”

त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”

तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो।

त्यस्तो घट्ना भएको दिन विश्रामको दिन[c] थियो। 10 तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

11 तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिँड।’”

12 यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”

13 तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।

14 केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घट्नाहरू नघटोस्।”

15 तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।

16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले। 17 तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।”

18 येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

येशूमा परमेश्वरको अधिकार छ

19 तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। 20 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। 21 पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

22 “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। 23 परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।

24 “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्। 25 म तिमीहरूलाई साँच्चो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। 26 जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ। 27 अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ।

28 “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्। 29 तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

30 “म एक्लै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किनभने म आफैंलाइ खुशी पार्ने कोशिश गर्दिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।

येशूले यहूदीहरूसँग लगातार वार्तालाप गरिरहनु भयो

31 “यदि मैले आफ्नो साक्षी आफैंले दिन्छु तब मेरो साक्षी समर्थित हुँदैन। 32 तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।

33 “तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने। 34 मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ। 35 यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।

36 “तर मसँग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो। 37 पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ। 38 पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ। 39 तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। 40 तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।

41 “म मानिसहरूबाट प्रशंसा चाहन्न। 42 तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन। 43 म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ। 44 तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ? 45 नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गर्यौ। 46 यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ। 47 तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International