Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 14-15

14 अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश बर्षसम्म शान्ति थियो।

आसा यहूदाका राजा

आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे। आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए। आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुशरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए। आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी जब आसा राजा थिए उनको राज्यमा शान्ति थियो। आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी बर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।

आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुशरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले स-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।

तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे। 10 आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।

11 आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”

12 तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे। 13 आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे। 14 आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहूमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहूमूल्य चीजहरू ती शहरहरूबाट लगे। 15 आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेंडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।

आसाका परिवर्त्तनहरू

15 परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए। अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ। धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए। दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो। तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”

जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशका अधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।

त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।

10 आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं बर्षको तेस्रो महीनामा एकत्रित भए। 11 त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेंडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए। 12 तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्माद्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ। 13 कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्। 14 तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए। 15 यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुशरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो।

16 राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई स-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए। 17 उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आसाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।

18 अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे। 19 आसाको पैंतीस बर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।

प्रकाश 4

यूहन्नाले स्वर्ग देखे

तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।” तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए। उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।

सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो। सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्। सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।

सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए। पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो। यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पखेंटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्:

“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्।
उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”

यी सजीव वस्तुहरूले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरू यसो गर्छन्, 10 ती चौबीस जना अग्रजहरू उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरू उहाँलाई पूजा गर्छन्। अग्रजहरू आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:

11 “हाम्रा परमप्रभु अनि परमेश्वर!
तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ।
    तपाईंले सबै बस्तुहरू सृष्टि गर्नु भयो।
हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन्, किनभने तपाईंले यस्तो चाहानु भएको छ।”

हाग्गै 2

परमप्रभुले मानिसलाई उत्तेजित पार्न थाल्नुभयो

सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो। वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन, ‘के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?’ तर यरूबाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।

परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’ किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई थर्रथर्र कमाउँनेछु। म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसँगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ।’ सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; ‘यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।’” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।

आज आशिषको कार्यको आरम्भ

10 फारसका राजा दाराको दोस्रो बर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो। 11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ। 12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”

पूजाहारीले उत्तर दियो, “अँहँ।”

13 त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”

अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

14 तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।

15 “‘तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो? 16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो। 17 मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”

18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच। 19 के बीऊहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ, छैन। तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”

20 अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो: 21 “यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु। 22 अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।” 23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किनभमे मैले तिमीलाई रोजेकोछु।”

सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।

यूहन्ना 3

येशू र निकोदेमस

त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए। एक-रात निकोदेमस येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”

येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”

निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?”

तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।”

निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?”

10 येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? 11 म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। 12 पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? 13 मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।

14 “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। 15 त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।”

16 हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। 17 परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। 18 जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन। 19 मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। 20 प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। 21 तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।

येशू र बप्तिस्मा दिने यूहन्ना

22 यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसँग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो। 23 यूहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यूहन्नाले त्यहीं बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए। 24 यो घट्ना यूहन्ना जेलमा थुनुवा पर्नु अगाडी भयो।

25 यूहन्नाका चेलाहरू र केही यहूदीहरू माझ धार्मिक शुद्धीकरण विषय वाद-विवाद भइरहेको थियो। 26 त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसँग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।”

27 यूहन्नाले उत्तर दिए, “मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ। 28 तिमीहरू आफैंले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’ 29 बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म सँग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ। 30 उहाँ अधिक महत्वपूर्ण हुनु पर्छ अनि म अल्प महत्वपूर्ण हुनु पर्छ।

उहाँ एकमात्र स्वर्गबाट आउनु भएको

31 “तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जो एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ। 32 उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्। 33 उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्। 34 उहाँले जो परमेश्वरद्वारा पठाइएकोछ परमेश्वरको संदेश भन्नु हुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो। 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ। 36 जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International