M’Cheyne Bible Reading Plan
सुलेमानले निर्माण गरेका शहरहरू
8 परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस बर्ष लाग्यो। 2 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए। 3 त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे। 4 सुलेमानेले मरुभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू सँग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे। 5 सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए। 6 सुलेमानले वालात शहर अनि अन्य सबै शहरहरू फेरि निर्माण गरे जहाँ तिनले धेरै चीज बीजहरू सँग्रह गरेका थिए। तिनले सबै शहरहरू निर्माण गरे जहाँ रथहरू राखिएका थिए अनि सबै शहरहरू जहाँ घोड-सवारहरू बस्थे। सुलेमानले जे चाहे यरूशलेममा त्यही निर्माण गरे उसले यरूशलेम, लबानोन अनि ती सबै क्षेत्रहरूमा जहाँ तिनीले शासन गर्थे।
7-8 त्यहाँ धेरै संख्यामा विदेशीहरू बाँकीरहेका थिए, जहाँ इस्राएलका मानिसहरू बस्थे। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबूसीहरू थिए। सुलेमानले तिनीहरूलाई सबै दास-कर्मीहरू बन्न बाध्य तुल्याए। यो आजसम्म चलिरहेको छ। ती मानिसहरू इस्राएलका मानिसहरूबाट थिएनन्। ती मानिसहरू तिनीहरूका सन्तान थिए, जो देशमा बाँकी रहेकाहरू थिए। अनि त्यस बेलासम्म इस्राएलका मानिसहरूद्वारा नष्ट गरिएका थिएनन्। 9 सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए। 10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।
11 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, “मेरी पत्नी राजा दाऊदको भवनमा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।”
12 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामुन्ने निर्माण गरेका थिए। 13 सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विश्रामको दिन, औंसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन बार्षिक विदाहरू अखमीरी रोटीको चाड, साप्ताहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए। 14 सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए। 15 इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अवज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्त्तन गरेनन्।
16 सुलेमानका सबै कार्यहरू पूरा भए। परमप्रभुको मन्दिरको कार्य शुरू भएदेखि समाप्त नभए सम्मको योजना ठीक बनेको थियो। यसरी परमप्रभुको मन्दिरको निर्माण कार्य समाप्त भयो।
17 त्यस पछि सुलेमान एसोन-गेबेर अनि एलोत शहरहरूमा गए। ती शहरहरू एदोम देशको लाल समुद्र नजिक थिए। 18 हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।
1 अग्रजबाट अभिवादन!
मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
2 मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्। 3 ख्रीष्टमा विश्वास रहेका कोही भाइहरू आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरूले भने कि तिमीले सत्यको मार्ग अनुशरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो। 4 जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
5 मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरूलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरूलाई पनि सहयोग गरिरहेछौ। 6 यी भाइहरूले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरूलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरूलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्। 7 यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्। 8 यसर्थ हामीले यस्ता भाइहरूलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरूलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरूले गरेको कार्यमा सहभागी बर्न्छौं।
9 मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। ऊ सदैव तिनीहरूका नेता बन्न चाहन्छ। 10 जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरूलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरू जसले भाइहरूलाई सहयोग गर्न चहान्छन् तिनीहरूलाई पनि वाधा दिन्छ अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकाली दिन्छ।
11 मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुशरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
12 सबै मानिसहरूले डेमेत्रियसको विषयमा असल कुराहरू गर्छन्। अनि त्यो सत्य तिनीहरूले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छौं। अनि तिमीहरू जान्दछौ कि हामी जे भन्छौं त्यो सत्य हो।
13 मेरो तिमीहरूलाई धैरे कुराहरू भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ। 14 म तिमीहरूसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौं।
15 तिमीहरूमा शान्ति रहोस्। यहाँ भएका साथीहरूले तिमीहरूलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरू हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु।
हबकूकको प्रार्थना
3 शिग्गिओनोथ[a] रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।
2 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।
हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें।
अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु।
म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस्
तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।
3 परमेश्वर तेमानवाट आउँनु हुँदैछ।
पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ,
आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो,
अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।
4 उहाँको गौरम चम्कन्छ,
उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो
अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।
5 उहाँको अघि रूढी फैलिंदै गयो
अनि विनाशक उहाँको पछि-पछि गयो।
6 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो,
र तिनीहरू डरले काम्न थाले
अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे,
परमेशवर सदा यस्तै हुनुहुन्छ।
7 मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें।
मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें।
8 हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो?
के समुद्र तपाईंको क्रोधको पात्र बन्यो?
के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो
जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो,
के तपाईं क्रोधित हुनुहुन्थ्यो?
9 तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो।
यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो।
तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो।
10 तपाईंलाई देखेर पहाडहरू काम्न थाले,
पानी पृथ्वीमा बग्न शुरु गर्यो।
जव गहिरो समुद्र भूमिबाट झर्यो
यसले ठुलो हल्ला गर्यो।
11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो।
जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे,
तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे।
त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू,
अथवा काँडहरू जस्तै थियो।
12 क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो,
अनि देशहरूलाई दण्ड दिनु भयो।
13 तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो।
जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो
त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो।
पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर
परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।
14 शत्रुका सेनाहरू जसले हामीलाई
शक्तिशाली आँधीले झैं पछ्याए।
हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोक्न तपाईले
मोशाको लौरो प्रयोग गर्नु भयो।
गुप्तरूपले गरीबलाई लुटे झैं
तिनीहरूले सोचे कि हमालाई सजिलै जित्न सक्नेछौं।
15 तर तपाईं गहिरो समुद्रमा तपाईंको
आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।
16 मैले यी कुराहरू सुनें, अनि मेरो शरीर काम्न थाल्यो।
मैले जोडसँग सुस्केरा हालें।
मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरें।
म त्यहाँ थर-थर काम्दै उभिरहें।
यसकारण जब शत्रुहरू मानिसहरूलाई आक्रमण गर्न आउँछन्,
म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।
परमप्रभुमा सधैँ आनन्दित बस
17 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्,
दाखको बोटमा फल लागोस् अथवा नलागोस्,
भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्,
अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्,
खोरमा केही भेंडाहरू होस् अथवा नहोस्,
गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्।
18 तर म अझै परमप्रभुमा आनन्दित रहने छु।
म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।
19 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ,
उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ।
उहाँले मलाई सुरक्षासँग पहाडमा चढाउँनु हुन्छ।
संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरूमा बजाइने राग।
यहूदी नेताहरू येशूलाई मार्न चाहन्छन्
(मत्ती 26:1-5,14-16; मर्कूस 14:1-2,10-11; यूहन्ना 11:45-53)
22 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो। 2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
येशूको विरूद्ध यहूदाको योजना
(मत्ती 26:14-16; मर्कूस 14:10-11)
3 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो। 4 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो। 5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे। 6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो।
निस्तार चाडको खाना तयारी
(मत्ती 26:17-25; मर्कूस 14:12-21; यूहन्ना 13:21-30)
7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे। 8 येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”
9 पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?”
येशूले तिनीहरूलाई भने, 10 “सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग। 11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’ 12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”
13 त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।
प्रभु भोज
(मत्ती 26:26-30; मर्कूस 14:22-26; 1 कोरिन्थी 11:23-25)
14 तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए 15 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो। 16 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”
17 त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ। 18 म तिमीहरूलाई भन्छु, म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”
19 त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।” 20 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
येशूको विरुद्ध को जानसक्छ
21 येशूले भन्नुभयो, “तिमीहरू मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ। 22 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”
23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
नोकर जस्तो व्यवहार गर
24 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे। 25 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैंलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्। 26 तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ। 27 को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठूलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?
28 “तिमीहरू तिनीहरू हौ जो मेरो संघर्षहरूमा छेउमा बसेका थियौं। 29 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु। 30 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
आफ्नो विश्वास नहराऊ
(मत्ती 26:31-35; मर्कूस 14:27-31; यूहन्ना 13:36-38)
31 “शैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन, 32 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
33 तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसँग तयार छु।”
34 तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”
कष्ट सहन तयार बस
35 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”
प्रेरितहरूले भने, “भएन।”
36 येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसँग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसँग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख। 37 धर्मशास्त्रले यो भन्छ,
‘मानिसहरूले भने उनी अपराधीहुन्।’(A)
धर्मशास्त्रमा लेखिएका कुरा साँच्चो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँच्चो भइरहेछ।”
38 चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्! यहाँ दुइवटा तरवार छन्!”
येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”
येशूले प्रेरितहरूलाई प्रार्थना गर्नु भन्नुभयो
(मत्ती 26:36-46; मर्कूस 14:32-42)
39-40 येशूले शहर (यरूशलेम) छोड्नु भयो अनि सधैँ झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसँगै गए। जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
41 तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो, 42 “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।” 43 त्यसपछि स्वर्गबाट एउटा दूत देखा पर्यो अनि येशूलाई दृढ बनायो। 44 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसँग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो। 45 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए। 46 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”
येशू पक्राउ पर्नुभयो
(मत्ती 26:47-56; मर्कूस 14:43-50; यूहन्ना 18:3-11)
47 जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।
48 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?” 49 येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”
50 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।
51 येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।
52 येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ? 53 म तपाईंहरूसँगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”
येशूलाई पत्रुसले अस्वीकार गरे
(मत्ती 26:57-58,69-75; मर्कूस 14:53-54,66-72; यूहन्ना 18:12-18,25-27)
54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रुस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएनन्। 55 सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसँगै बसे। 56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।”
57 तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।” 58 केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।”
तर पत्रुस ले भने, “मानिस, म हैन”
59 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसँगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
60 तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?”
जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो। 61 त्यसपछि प्रभु येशू फर्कनु भयो अनि पत्रुसलाई हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।” 62 त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ-ग्वाँ रोयो।
मानिसहरूदारा येशूको उपहास
(मत्ती 26:67-68; मर्कूस 14:65)
63-64 कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए। त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?” 65 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।
यहूदी अग्रजहरूको अघि येशू
(मत्ती 26:59-66; मर्कूस 14:55-64; यूहन्ना 18:19-24)
66 अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे। 67 तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!”
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन। 68 अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न। 69 तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
70 तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”
71 तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैंले उसले यसो भनेका सुनेका छौ!”
© 2004, 2010 Bible League International