Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 2

सुलेमानले मन्दिर र महल निर्माण गर्ने योजना गर्छन्

सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे। सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने,

“तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई पनि सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्। परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा-सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।

“हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु। कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अँहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

“अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ। दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्। मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ। 10 काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो: म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी[a] गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी[b] दाखरस अनि 20,000 पाथी तेल दिने छु।”

11 तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्;

“सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।” 12 हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ। 13 म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु। 14 त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसँग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका निकासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्। 16 अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”

17 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। (यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए।) तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए। 18 सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।

1 यूहन्ना 2

येशू हाम्रा सहयोगी हुनुहुन्छ

मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ।

यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ।

येशूले भन्नु भयो अरूलाई प्रेम गर

मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।

एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ। 10 जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन। 11 तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ। त्यस मानिस अंन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।

12 प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु,
    किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु,
    किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु
    किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
14 बालकहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू पितालाई चिन्दछौ।
पिताहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू बलियो छौ,
अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ,
    अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।

15 संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। 16 संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। 17 मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ।

ख्रीष्टको शत्रुहरूलाई नपछ्याऊ

18 मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। 19 ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्।

20 तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। 21 मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।

22 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। 23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।

24 जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। 25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।

26 म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। 27 ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।

28 हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। 29 तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।

नहूम 1

निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।

परमप्रभु निनवे प्रति क्रोधित हुनुहुन्छ

परमप्रभु ईर्ष्यँलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ।
    परमप्रभुले दोषीहरूलाई दण्ड दिनुहुन्छ।
    परमप्रभु एकदमै क्रोधित हुनुहुन्छ।
परमप्रभुले उहाँका शत्रुहरूलाई दण्ड दिनुहुन्छ
    र उनीहरूसँग एकदमै क्रोधित हुनुहुन्छ।
परमप्रभु धैर्यशील हुनुहुन्छ,
    तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ,
अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ।
    उहाँले तिनीहरूलाई भाग्न दिनुहुँदैन।
उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी,
    र आँधिहरू ल्याउनु हुनेँछ।
मानिसहरू यो पृथ्वीमा माटोमाथि हिँड्छन्
    तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।
परमुप्रभु समुद्रहरूसित कर्कश शब्दमा बोल्नु हुन्छ
    अनि त्यो समुद्र सुक्दछ।
सबै नदीहरू सुक्नेछन्।
    बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ।
    लबानेनको फूलहरू ओइलिनेछन्।
परमप्रभुको आगमन हुनेछ
    अनि पहाडहरू डरले काम्नेछन्,
    अनि पहाडहरू पग्लेर बग्नेछन्।
परप्रभुको आगमन हुनेछ
    र पृथ्वी डरले काम्नेछ।
यो संसार अनि यसमा रहने सबै
    डरले काम्नेछन्।
परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन।
    कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन।
उहाँको क्रोध आगो झैं हुन्छ।
    जब उहाँ आउनुहुन्छ तब चट्टानहरू पनि टुक्रा-टुक्रा हुन्छन्।
परमप्रभु असल हुनुहुन्छ!
    उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ।
    उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ।
तर उहाँले आफ्नो शत्रुहरूलाई पुरै नष्ट पार्नु हुन्छ।
    उहाँले शत्रुहरूलाई बाढीको पानीले बगाए जस्तै बगाउनु हुन्छ।
    अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरूलाई लखेट्नु हुन्छ।
के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ?
परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ
    अनि अरू धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।
10 भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरू जस्तै,
    तिमीहरू ध्वंश हुनेछौ।
सुकेको बल्ने घाँसहरू जस्तै
    तिमी झट्टै नष्ट हुनेछौ।

11 हे अश्शूर! एउटा मानिस तिमीहरूबाट आएकोछ।
    त्यसले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ,
    अनि खराब सल्लाह दिएकोछ।
12 परमप्रभुले यहूदासँग भन्नु हुन्छ,
    “अश्शूरका मानिसहरू अत्यन्तै शक्तिशाली छन्।
तिनीहरूका सैनिकहरू अनगन्ती छन्,
    तर तिनीहरू काटिनेछन् अनि फ्याँकिने छन्।
    प्रत्तेकलाई शेष गरिनेछ।
हे मेरा मानिसहरू! मैले तिमीहरूलाई धेरै कष्टहरू दिएँ,
    तर अब म तिमीहरूलाई अरू बेशी कष्ट पैदा गर्नेछैन।
13 म अब तिमीहरूलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु।
    म अब तिमीहरूको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु।
त्यसलाई म चक्कानाचुर पार्नेछु।
    जुन साङ्गलाले तिमीहरू बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।”

14 हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ,
    तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।
तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति,
जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्,
    म ती सबै ध्वंश पार्नेछु।
म तिम्रा निम्ति चिहान बनाउँदैछु,
    किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।

15 हेर यहूदा!
    पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ।
    हेर, त्यले भन्दैछ, “त्यहाँ शान्ति छ।”
यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ।
    यहूदा तिमी आफ्नो भाकल पुरा गर।
फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्।
    ती सबै दुष्टहरू ध्वंश पारिनेछन्।

लूका 17

पापको कारण नबन र सधैँ क्षमा गर्न तयार होऊ

(मत्ती 18:6-7,21-22; मर्कूस 9:42)

17 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ। यसकारण होशियार बस।

“यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर। तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”

तिम्रो विश्वास कति ठूलो छ?

प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”

प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।

विश्वासी नोकर हुने चेष्टा गर

“मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेंडा़ चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? ‘आऊ अनि खाना खान बस’? अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’ नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन। 10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’”

धन्यवादी बन

11 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो। 12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। 13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”

14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।”

जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए। 15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। 16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो। 17 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्? 18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?” 19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”

परमेश्वरको राज्य तिमीभित्रै छ

(मत्ती 24:23-28,37-41)

20 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?”

येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ। 21 मानिसहरूले भन्ने छन्, ‘हेर परमेश्वरको राज्य यहाँ छ!’ अथवा, ‘त्यहाँ छ!’ होइन, परमेश्वरको राज्य तिमी भित्रै छ।”

22 तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ। 23 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर्, यो त्यहाँ छ!’ अथवा हेर, ‘यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।

24 “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ। 25 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।

26 “मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो। 27 नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो।

28 “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए। 29 लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो। 30 जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यस्तै हुनेछ।

31 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन। 32 विचार गर, लूतकी पत्नीलाई के भएको थियो।

33 “जुन मानिसले आफ्नो जीवन बचाउँन चाहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ। 34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। 35 दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” 36 [a]

37 चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?”

येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International