Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 26-27

द्वार पालहरूको समूह

26 कोरहका परिवारबाट द्वारपालहरू यी हुन्:

मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए। मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए। एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तेर छोरा थिए अनि एल्यहोनै कान्छा छोरा थिए।

ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साँहिला छोरा थिए। साकार तिनका काँहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए। अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्साकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो। ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए। शमायाहका छोराहरू ओत्नी, रफाएल, ओबेद, एल्जाबाद, एलीहू, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए। यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।

मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।

10 यी मरारीका परिवारका द्वारपालहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने। 11 हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साँहिला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।

12 यी द्वारपालहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे। 13 हरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिट्ठा लगाएको थियो। जवान र बृद्धहरू प्रति समान व्यवहार गरिन्थ्यो।

14 मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए। 15 ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए। 16 शुप्पीम अनि होसा पश्चिम द्वार र माथिल्लो सडकको शल्लेकेत द्वारका निम्ति चुनिए।

रक्षकहरू एक-अर्काको छेउ-छेउमा उभिन्थे। 17 छः जना लेवीहरू हरेक दिन रक्षामा पूर्व द्वार तिर उभिन्थे। चार जना लेवीहरू हरेकदिन रक्षामा उत्तर द्वारतिर उभिन्थे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिन्थे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान बस्तुहरू राखिएको थियो। 18 जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।

19 यी, द्वारपालहरूका समूहहरू थिए। ती द्वारपालहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।

भण्डारे र अधिकारीहरू

20 अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।

21 लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए। 22 यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।

23 अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।

24 शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए। 25 यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिंक्रीका छोरा। 26 यी शलोमीत र तिनका आफन्तहरू दाऊदले सँग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए।

सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए। 27 तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए। 28 शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।

29 केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्थे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गर्थे। 30 हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए। 31 हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं बर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए। 32 यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।

सैन्य समूहहरू

27 यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक बर्ष एक महीना काम गर्थे। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए। याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।

दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए।

तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए। यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।

चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।

छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।

10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।

11 आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।

12 नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।

13 दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।

14 एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

15 बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।

कुल समूहका प्रधानहरू

16 इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएः

रूबेनकाः जिंक्रीका छोरा एलीएजर।

शिमोयोनकाः शपत्याह माकाको छोरा।

17 लेवीकाः कमूएलका छोरा हशब्याह।

हारूनकाः सादोक।

18 यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः

मीकाएलका ओम्री छोरा।

19 जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह।

नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।

20 एप्रैइमकाः अज्जयाहका छोरा होशेया।

पश्चिम मनश्शेकाः योएल पदायाहका छोरा।

21 पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो।

बिन्यामीनकाः यसीएल अबनेरका छोरा।

22 दानकाः यरोहामका छोरा अज्रेल।

यी इस्राएली कुल समूहका मुखियाहरू थिए।

दाऊदले इस्राएलीहरूको गन्ती गर्छन्

23 दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस बर्ष अनि त्यस भन्दा माथिका थिए। 24 योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।

राजाका प्रशासकहरू

25 यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएः

अज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए।

जोनाथन, उज्जियाहका छोरा स-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।

26 एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।

27 रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए।

शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए।

28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका

जिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।

29 शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मामा थिए।

अदूलेका छोरा शापात बेंसीमा गाई वस्तुहरूका जिम्मामा थिए।

30 इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए।

मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए।

31 हगरीका याजीज भेंडा-बाख्राहरूका जिम्मामा थिए।

यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।

32 जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे। 33 अहीतोपेल राजाका सल्लाहकार थिए। हूशै राजाका मित्र थिए। हूशै एरकी मानिसहरूबाट थिए। 34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।

2 पत्रुस 1

येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।

तिमी सबै मानिसहरूप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरूले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।

तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।

हामीलाई चाहिएका हरेक चीज परमेश्वरले प्रदान गर्नु भएको छ

येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ।

यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।

अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।

10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ। 11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।

12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु। 13 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरूलाई यी कुराहरू सम्झाउन उचित सम्झन्छु।

14 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ। 15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ।

हामीले ख्रीष्टको महिमा देख्यौं

16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं। 17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।” 18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।

19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुशरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुन्जेलसम्म र बिहानी तारा तिमीहरूको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ। 20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी[a] कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। 21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।

मीका 4

व्यावस्था यरूशलेमबाट आउने छ

अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर,
    डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ,
अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ
    अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्।
धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्,
    “आऊ हामी परमप्रभुको पहाड,
    याकूबको परमेशवरको मन्दिरमा जाउँ,
र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ।
    हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।”

किनभने व्यवस्था सियोनबाट,
    र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ
    र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ।
तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली
    र भालाहरू चाहिँ हँसिया बनाउनेछन्।
    जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा,
तरवार चलाउने छैनन्,
    न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्।
तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट
    र नेभाराको बोट मुनि बस्नेछन्।
कसैले तिनीहरूलाई डर देखाउने छैन।
    किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरू भन्नु भएकोछ।

सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्।
    तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।

राज्य फर्काएर ल्याइन्छ

परमप्रभु भन्नुहुन्छ,
“लङ्गडाहरूलाई म त्यसदिन जम्मा गर्नेछु,
    अनि धपाईएकाहरूलाई
र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ,
    म भेला गर्नेछु।

“लङ्गडाहरूलाई एउटा बेचेको भाग
    र फ्याँकिएकाहरूलाई
एउटा सामर्थी जाति तुल्याउनेछु।”
    तिनीहरूमाथि सियोनमा
परमप्रभुले अब देखि
    सदा-सर्वदै राज्य गर्नुहुनेछ।
अनि तिमी, हे एदेरका धरहरा,
    सियोनकी छोरीको डाँडा।
पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्,
    र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।
    जसरि पहिला थियो।

किन यरूशलेम बेबिलोन जानै पर्छ?

अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ?
    के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्?
के तिम्रो सल्लाहकार नष्ट भयो,
    र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
10 हे सियोनकी छोरी,
    सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ।
किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ
    र मैदानमा बस्नेछौ
र माथि बाबेलमा जानेछ्यौ
    र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ।
परमप्रभुले तिम्रा शत्रुको हातबाट
    तिम्रो उद्धार गर्नुहुनेछ।

परमप्रभुले अन्य राज्यहरूलाई नाश गर्नुहुनेछ।

11 अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्,
    “त्यो अशुद्ध होस् र सियोनलाई
    हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”

12 तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्।
    न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्।
किनभने उहाँले खलामा बिटाहरू जम्मागरे झैं
    तिनीहरूलाई जम्मा गर्नु भएकोछ।

इस्राएलले त्यसको शत्रुहरूलाई पराजित गर्ने छ।

13 “हे सियोन छोरी, उठ अनि दाईँ गर
    किनभने म तिम्रा सींङहरूलाई
फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु।
    तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ
र तिनीहरूको धन-सम्पत्ति
    सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।”

लूका 13

तिम्रो हृदय परिवर्तन गर

13 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए। येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ? होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”

अनुपयोगी रुख

येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन। त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने? तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्। हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’”

येशूले विश्रामको दिन एउटी स्त्रीलाई निको पार्नु हुन्छ

10 विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो। 11 सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह वर्षबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी। 12 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।” 13 येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।

14 विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसँग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।”

15 प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ? 16 यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह्र वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?” 17 जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।

परमेश्वरको राज्य के जस्तो होला?

(मत्ती 13:31-33; मर्कूस 4:30-32)

18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? 19 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”

20 येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? 21 त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।”

साँघुरो ढोका

(मत्ती 7:13-14,21-23)

22 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो। 23 कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?”

येशूले भन्नुभयो, 24 “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन। 25 यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्‌ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?” 26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। 27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।

28 “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ। 29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। 30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”

यरूशलेममा येशूको मृत्युको भविष्यवाणी

(मत्ती 23:37-39)

31 त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’ 33 तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।

34 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 35 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड़ हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि, ‘स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।’”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International