Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 22

22 दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

दाऊदले मन्दिर निमार्णको निम्ति योजना बनाउँछन्

दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुङ्गा काट्ने मानिसहररू छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउँनका निम्ति ढुङ्गा काटेर तयार गर्ने थियो। दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रशस्तै काँसा ल्याए। अनि दाऊदले गन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्वल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउँने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाएँ र सामग्रीहरू तयार गरें।

त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने। दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउँन चाहन्थें। तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्। तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु। 10 सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउँनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछु। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।’”

11 दाऊदले यो पनि भने, “अब छोरा परमप्रभु तेरो साथ रहुन्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर। 12 जसरी पनि परमप्रभुले तँलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्। 13 यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस् भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलियो र साहसी हो। नडराऊ निरूत्साहित नहो।

14 “सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडा[a] सुन दिएको छु। अनि लगभग दश लाख तोडा[b] चाँदी दिएको छु। मैले यति धेरै काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्। 15 तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्। 16 तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहुन्।”

17 तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्नु भनी आदेश दिए। 18 दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्। 19 अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”

1 पत्रुस 3

पतिहरू अनि पत्नीहरू

त्यसरीनै तिमी पत्नीहरूले आफ्ना पतिहरू अघि समर्पण गर। तब, यदि तिमीहरू कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरूको व्यवहारले नै तिनीहरू जितिनेछन्। पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्। तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन। अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।

यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए। म “सारा” जस्ती स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँच्चो सन्तानहरू हौ, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।

त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।

असलकामको निम्ति यातना

यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। 10 धर्मशास्त्रले भन्छ,

“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ,
    अनि असल समयको आनन्द भोग गर्न चाहन्छ,
उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ
    र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।
11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ,
    त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन्
    अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन्
तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।”(A)

13 यदि तिमीहरू सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोक्सान गर्न सक्छ? 14 तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।”(B) 15 तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।

16 तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्। 17 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।

18 तिमीहरूको निम्ति ख्रीष्टले सधैँको
    निम्ति जीवन बलिदान दिनुभयो।
उहाँ दोषी हुनु हुन्न थियो,
    तर उहाँ तिनीहरूको निम्ति मर्नु भयो जो दोषी थिए।
    तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो।
उहाँ शरीरमा मारिनुभयो,
    तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।

19 अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरूलाई शिक्षा दिनु जानुभयो। 20 ती आत्माहरू तिनीहरू हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरूलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरूलाई पानीले बचाएको थियो। 21 त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरूलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरूलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो। 22 अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरू, अधिकारीहरू अनि शक्तिहरूमाथि शासन चलाउनु हुन्छ।

मीका 1

सामरिया र इस्राएललाई दण्ड दिइनेछ

परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन,
    हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन।
मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ।
    मेरो मालिक तिमीहरूको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ।
    उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।
परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ,
    जसरि मैन आगोमा पग्लन्छ,
जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्।
    जसरी पहाडबाट पानी बगेर झर्छ।
यस्तो भयो किनभने याकूबले पाप गरेको थियो।
    किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए।

सामरिया पापको करण

याकूबको पाप के हो?
    यो सामरिया हो।
यहूदाको अग्लो स्थान कुनहो?
    यो यरूशलेम हो।
यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु।
    त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ।
म सामरियाका ढुङ्गाहरूलाई बेंसीमा फालिदिनेछु
    र त्यसका जगहरू सतहमा पुर्याइदिनेछु।
म त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिदिनेछु।
    सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु
र म तिनीहरूको झूटा देवताहरूको मुर्तिहरू सबै ध्वंश गरिदिनेछु,
    जबकि यी मूर्तिहरू वेश्याबृति मार्फत बनिएका थिए।
ती मूर्तिहरू फेरि वेश्याहरूलाई नै
    तिर्न प्रयोग हुनेछन्।

मीकाको ठूलो दुःख

म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु।
    म खालि खुट्टा र नाङ्गै हिँड्नेछु।
म स्याल जस्तै साह्रो कराउँनेछु
    र शतुरमुर्गा झैं विलाप गर्नेछु।
सामरियाको घाऊ निको हुनेछैन।
    त्यसको पाप यहूदा सम्म फैलनेछ।
यो मेरा मानिसहरूको शहरको प्रवेसद्वार सम्म जानेछ,
    किनकि यो त यरूशलेम सम्म आपुगेको छ।
10 यो कुरा गातमा नभन।
    त्यसका निम्ति रूँदै नरोऊ,
विलाप गर्दै बेत-लाप्रामा
    धुलोमा लडी-बडी गर।
11 हे शाफीरका वासिन्दाहरू हो,
    तिमीहरू आफ्नो बाटोमा नाङ्गो
र लज्जित भएर जाऊ।
    ती मानिसहरू जो सानानको वासिन्दाहरू हुन्
तिनीहरू बाहिर आउने छैनन्।
    बेतेसेलमा मानिसहरूको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।
12 मारोतका वासिन्दाहरूले केही राम्रो कुरा होस् भनी
    व्याकुलतापूर्वक पर्खिरहेकाछन्।
किनभने कष्ट परमप्रभुबाट
    यरूशलेमको मुलढोकामा आएकोछ।
13 हे लाकीशका वासिन्दाहरू हो!
    तिमीहरूले वेगवान घोडाहरू रथमा बाँध।
सियोनको पाप रथहरूबाट नै शुरु भएको थियो।
    जसको मार्फत तिनीहरूले इस्राएलले गरे जस्तै पाप गरे।
14 यसकारण मोरशेत गातमा
    तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ।
अकजीबाका घरहरूले
    इस्राएलका राजालाई धोका दिनेछन्।
15 हे मोरेशाका वासिन्दाहरू!
    तिनीहरूको बिरुद्ध म एक जना मानिस पठाऊनेछु
जसले तिमीहरूबाट सबै चिजहरू खोस्नेछ।
    इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।
16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे[a] होऊ।
    किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ
तिनीहरूका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ।
    किनकि तिम्रो नानीहरूलाई कैदी झैं लगिनेछ।

लूका 10

येशूले बहत्तर जनालाई पठाउनु भयो

10 त्यसपछि, प्रभु येशूले 72[a] जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।

“अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेंडा़ जस्तै हुनेछौ। पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड। कसैको घरमा पस्न अघि भन, ‘यस घरमा तिमीहरूलाई शान्ति होस्।’ यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसँग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ। शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।

“यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ। त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’

10 “तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन, 11 ‘तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौं। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’ 12 म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।

येशूद्वारा विश्वास नगर्नेहरूलाई चेतावनी

(मत्ती 11:20-24)

13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। 14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ। 15 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौं? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।

16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”

शैतान झर्दछ

17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”

18 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें। 19 सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन। 20 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”

येशूको पितामा प्रार्थना

(मत्ती 11:25-27; 13:16-17)

21 त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।

22 “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन्, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”

23 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ। 24 म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”

असल सामरीको कथा

25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”

26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?”

27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।(A) अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(B)

28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”

29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”

30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।

31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। 32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।

33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। 34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। 35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’”

36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”

37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।”

येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”

मरियम र मार्थ

38 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। 39 मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। 40 मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।”

41 अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ। 42 एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International