M’Cheyne Bible Reading Plan
इस्राएलीहरूको गन्ती गरेर दाऊदले पाप गर्छन
21 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो। 2 यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जसद्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”
3 तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”
4 तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए। 5 अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे। 6 योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन। 7 परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।
परमेश्वरले इस्राएललाई दण्ड दिनु हुन्छ
8 तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खतापूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”
9-10 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो, “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।’”
11-12 तब गाद दाऊद कहाँ गए र गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन चाँही दण्ड तिमी चाहन्छौ? अनिकालको तीन बर्ष, वा तीन महीनासम्म तेरो शत्रुहरू देखि भागी हिँड्नु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्नेछन् अथवा परमप्रभुबाट तीन दिनको दण्ड। या भयानक रूढ़ी देश भरि फैलिने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद, परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईंले निर्णय गर्नुहोस्, कुन उत्तर मैले उहाँलाई दिनु?”
13 दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”
14 यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे। 15 परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।
16 दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूईँ छुनेगरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए। 17 दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईंका मानिसहरूलाई मारिरहेछ।”
18 तब परमप्रभुका स्वर्गदूतले गादलाई भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।” 19 गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खलातिर गए।
20 ओर्नान गहुँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे। 21 दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूईँ छुनेगरी शिर झुकाई प्रणाम गरे।
22 दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”
23 ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाईं मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।”
24 तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिँदिन। म त्यो भेट अर्पण गर्दिनँ जसको कुनै मूल्य दिनु पर्दैन।”
25 यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए। 26 दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो। 27 तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो।
28 दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए। 29 (पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए। 30 दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।)
सजीव ढुङ्गा अनि पवित्र राष्ट्र
2 यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ। 2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। 3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
4 प्रभु येशू सजीव पत्थर[a] हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। 5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। 6 धर्मशास्त्रले भन्छ,
“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,
अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,
जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”(A)
7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:
“निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा,
तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”(B)
8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्:
“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,
एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”(C)
मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
9 तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
परमेश्वरका निम्ति जिउँनु
11 प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। 12 मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
ठीक काम गर
13 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। 14 अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। 15 यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। 16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। 17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।
ख्रीष्टको यातनाको उदाहरण
18 दासहरू हो! तिमीहरूको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरूले मालिकहरूको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ। 19 एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ। 20 तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ। 21 तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर:
22 “उनले पाप गरेनन्,
अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।”(D)
23 मानिसहरूले ख्रीष्ट प्रति नराम्रा कुराहरू भने, तर उहाँले तिनीहरूलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरूलाई भय देखाउनु भएन। अँहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ। 24 ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ। 25 तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।
परमेश्वरको दयाले योनालाई क्रोधित बनायो
4 योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो। 2 उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला तर्शिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरूले पाप गर्न छोडे भने तपाईंले यिनीहरूको विनासको योजना बद्ली गर्नु हुन्छ। 3 यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”
4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”
5 यी सबै कुराहरूले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छाँयाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो।
लौकाको बोट र किरा
6 परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छाँयाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।
7 अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।
8 सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनी हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै उचित छ।”
9 अनि परमेश्वरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?”
योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”
10 तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्। 11 यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरूछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरूछन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।”
येशूले बाह्रजना प्रेरितहरूलाई पठाए
(मत्ती 10:5-15; मर्कूस 6:7-13)
9 येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो। 2 येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। 3 उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। 4 कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। 5 यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
6 त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।
येशूको बारेमा हेरोद अन्योल
(मत्ती 14:1-12; मर्कूस 6:14-29)
7 शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” 8 अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” 9 हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।
येशूद्वारा पाँच हजार भन्दा अधिक मानिसलाई भोजन
(मत्ती 14:13-21; मर्कूस 6:30-44; यूहन्ना 6:1-14)
10 जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। 11 तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।
12 साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”
13 तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”
प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” 14 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए।
उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”
15 त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। 16 येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। 17 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।
पत्रुस भन्छन् येशूनै ख्रीष्ट हुन्
(मत्ती 16:13-19; मर्कूस 8:27-29)
18 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”
19 चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?”
पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
21 येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
येशू भन्नुहुनछ उहाँ मर्नु पर्छ
(मत्ती 16:20-28; मर्कूस 8:31–9:1)
22 त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”
23 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ। 24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। 25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ? 26 यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु। 27 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”
मोशा, एलिया र येशू
(मत्ती 17:1-8; मर्कूस 9:2-8)
28 प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो। 29 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो। 30 दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए। 31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो। 32 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो। 33 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।
34 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए। 35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”
36 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।
येशूद्वारा दुष्टात्मा लागेको ठिटो निको
(मत्ती 17:14-18; मर्कूस 9:14-27)
37 भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो। 38 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो। 39 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफूमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट-आत्माले सधैँ कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन। 40 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट-आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”
41 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”
42 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूईँमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई निको पारेर बाबुलाई सुम्पि दिनु भयो। 43 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए।
येशूद्वारा आफ्नै मृत्युको विवरण
(मत्ती 17:22-23; मर्कूस 9:30-32)
येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, 44 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।” 45 तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।
सबभन्दा मुख्य मानिस
(मत्ती 18:1-5; मर्कूस 9:33-37)
46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले। 47 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो। 48 अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ सानो छ, ऊ नै सब भन्दा महान हो।”
जो तिमीहरूको विरूद्धमा छैन, त्यो तिमीहरूपट्टि छ
(मर्कूस 9:38-40)
49 यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”
50 येशूले यूहन्नालाई भन्नु भयो, “त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ।”
शामरिया शहर
51 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो। 52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए। 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो। 54 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”
55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो। 56 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।
येशूको अनुशरण
(मत्ती 8:19-22)
57 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।”
58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”
59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।”
तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”
60 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाड्न देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”
61 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”
62 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”
© 2004, 2010 Bible League International