M’Cheyne Bible Reading Plan
परमेश्वरको दाऊदलाई प्रतिज्ञा
17 दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”
2 नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।”
3 तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो। 4 परमेश्वरले भन्नु भयो,
“जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भनः परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्नको निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस्। 5-6 इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्। जब म इस्राएलका चारैतिर विभिन्न स्थानमा घुमिरहेथें। त्यसबेला कुनै पनि ती अगुवाहरूलाई मैले कहिले पनि भनिन किन तिमीहरूले मेरो निम्ति देवदारू काठको मन्दिर निर्माण गरेनौ?’
7 “यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ। 8 तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु। 9 म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरहेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहाँ बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए। 10 ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु।
“‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ। 11 जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस् म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउँनेछु। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु। 12 तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु। 13 म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाड्ने छैन। 14 म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मामा सर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।’”
15 नातानले यो दर्शनबाट परमेश्वरले भन्नु भएका सबै कुराहरूको विषयमा दाऊदलाई भने।
दाऊदको प्रार्थना
16 तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने,
“हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिनँ? 17 यिनीहरू बाहेक तपाईंले मलाई जान्न दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईले मलाई सधैँ एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो। 18 यो भन्दा धेरै म के भन्न सक्छु र? तपाईले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ। 19 हे परमप्रभु, तपाईंले मेरा निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईले यसो गर्नुभयो किनभने तपाई यो चाहनु हुन्थ्यो। 20 हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो महान कार्य गरेको सुनेका छैनौ। 21 इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन। पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता महान कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेश बाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो। 22 तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।
23 “त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ। 24 तपाईंका वचन राख्नुहोस् जसद्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्व-शक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्।
25 “तपाईं आफैंले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउँनु हुनेछ। त्यसै कराण म निर्धक्क साथ तपाईलाई दयाहरू मागिरहेछु। 26 यसकरण अब मेरो परमप्रभु, तपाई नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाई स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ। 27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैंले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”
परमेश्वरमा समर्पण
4 के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, 2 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। 3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।
4 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। 5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” 6 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”(A)
7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। 8 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। 9 उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। 10 परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।
तिमीहरू न्यायधीश हौइनौ
11 भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ। 12 परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।
परमेश्वरले तिम्रो जीवनमा योजना गरुन्
13 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच 14 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ। 15 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।” 16 तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो। 17 अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।
परमेशवरको बोलावट अनि योनाको भगाई
1 परमप्रभु अमित्तैको छोरा योनासँग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ, 2 “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरूले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरूलाई ती नराम्रा कामहरू छोडिदेऊ भनी भन।”
3 योनाले परमेश्वर को कुरा मानेनन्। यसकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तर्शिशतिर जाँदै थियो। योनाले आफ्नो यात्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरू मानिसहरूसितै तर्शिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।
भयंकर तूफान
4 तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो। 5 मानिसहरू चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरू उठाएर समुद्रमा फ्याँक्न थाले। मल्लाहरू धेरै डराएका थिए, प्रत्येक मानिसहरूले आ-आफ्नो देवताहरूलाई प्रार्थना गर्न थाले।
योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए। 6 त्यसैले जहाजका कप्तानहरू तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले तिम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”
यो तूफान को कारण के हो?
7 अनि तिनीहरू आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।”
यसो भनेर तिनीहरूले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो। 8 मानिसहरूले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद् हामीमाथि आयो! यसकारण हामीले के गर्यौं? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?”
9 अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”
10 योनाले मानिसहरूसँग भने, मानिसहरूले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरू अत्यन्तै डराए। अनि मानिसहरूले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”
11 उता आँधी तुफान र समुद्रको छाल झन्-झन् बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसँग के गर्नु पर्छ?”
12 योनाले मानिसहरूलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”
13 तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो।
योनालाई दण्ड
14 यसकारण, मानिलहरूले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।”
15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो। 16 तब ती मानिसहरूले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।
17 अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।
विश्रामको दिनको येशूनै प्रभु
(मत्ती 12:1-8; मर्कूस 2:23-28)
6 एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए। 2 कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”
3 येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब केगरेका थिए? 4 दाऊद परमेश्वरको मन्दिरमा गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसँग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।” 5 अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”
विश्रामको दिनमा येशूद्वारानै एकजना मानिस निको
(मत्ती 12:9-14; मर्कूस 3:1-6)
6 अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो। 7 शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्। 8 तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ, अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो। 9 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
10 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो। 11 फरिसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा तर्क गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”
येशूद्वारा बाह्रजना प्रेरितहरूको चुनाई
(मत्ती 10:1-4; मर्कूस 3:13-19)
12 त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो। 13 भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः
14 शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो)
र आन्द्रियास पत्रुसको भाइ,
याकूब,
र यूहन्ना,
फिलीप
बर्थुलमाई,
15 मत्ती,
थोमा,
याकूब अल्फायासको छोरो,
अनि शिमोन, जसलाई जेलोट पनि भनिन्छ,
16 यहूदा, याकूबको छोरो,
अनि यहूदा इस्करयोती (यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो)।
येशूद्वारा मानिसहरूलाई शिक्षा अनि उपचार
(मत्ती 4:23-25; 5:1-12)
17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए। 18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो। 19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।
20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,
“हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ,
किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ,
किनभने तिमीहरू तृप्त हुनेछौ।
तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ,
किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ।
22 “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ। 23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार!
किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
25 तिमी अघाएकाहरूलाई, धिक्कार!
किनभने तिमीहरू भोकाउनेछौ।
तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार!
किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।
26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैँ प्रशंसा गरे।
शत्रुहरूलाई प्रेम गर
(मत्ती 5:38-48; 7:12a)
27 “म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर। 28 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर। 29 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक। 30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। 31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।
32 “जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँहँ। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्। 33 यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्। 34 यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्।
35 “यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसँग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ। 36 जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।
आफैंले आफैंलाई नियाल
(मत्ती 7:1-5)
37 “अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ। 38 अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”
39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः “के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अँहँ! दुवै नै खाडलमा पर्नेछन्। 40 एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।
41 “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाइको आँखमा परेको धुलो किन देख्छौ? 42 तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाइ मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैंले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसँग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।
दुइ प्रकारको फल
(मत्ती 7:17-20; 12:34b-35)
43 “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन। 44 हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्। 45 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।
दुइ प्रकारका मानिसहरू
(मत्ती 7:24-27)
46 “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै? 47 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु। 48 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।
49 “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
© 2004, 2010 Bible League International