Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 16

16 लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे। दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।

तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो। आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए। बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे। यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।

दाऊदको धन्यवादको गीत

परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार।
    मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।
परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर।
    उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।
10 परमप्रभुको पवित्र नाउँको गौरव गर।
    परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ।
11 परमप्रभु र उहाँको शक्ति तर्फ हेर।
    परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।
12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ।
    उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।
13 इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्।
    याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।
14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।
    उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।
15 उहाँको करार सदैव सम्झ।
    उहाँले ती आज्ञाहरू हजारौं पुस्ताहरूका निम्ति दिनुभएको छ।
16 त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो।
    उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ।
17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो।
    यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।
18 परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ।
    यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”

19 जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए,
    अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहें।
20 तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए।
    तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए।
21 तर परमप्रभुले कसैलाई पनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन।
    परमप्रभुले तिनीहरूलाई चोट नपुर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।
22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ।
    मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”
23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ।
    हामीलाई बचाउँने परमप्रभुको बारेमा हरेक दिन तिमीले असल समाचार भन्नुपर्छ।
24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर।
    हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ।
25 परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्,
    परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।
26 किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्।
    तर परमप्रभुले आकाश बनाउनु भयो।
27 परमप्रभुको महिमा अनि गौरव छ।
    शक्ति र आनन्दले त्यो ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ।
28 परिवारहरू अनि समूहहरू,
    परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर।
29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्।
    परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ।
    परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।
30 उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ।
    जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।
31 पृथ्वी अनि आकाश प्रशन्न होऊन्!
    सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।”
32 समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्!
    खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।
33 तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किनभने परमप्रभु आउनु हुँदैछ।
    उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ।
34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ,
    हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
35 परमप्रभुसित भनः
    “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस्
हामीलाई एकसाथ पारिदिनुहोस्
    र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्।
यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं
    जब तपाईको स्तुति गर्छौं।”
36 परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।

तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”

37 त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए। 38 दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।

39 दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए। 40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे। 41 हेमान यदूतून अनि अन्य सबै लेवीहरूले स्तुति गान गाउँदै भने, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।” 42 गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।

43 समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।

याकूब 3

हामीले भनेका कुराको नियन्त्रण

मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।

हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।

एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ। जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।

मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। 10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। 11 के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अँहँ। 12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।

साँच्चो ज्ञान

13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। 14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। 15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। 16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। 17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। 18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

ओबदिया

एदोम दण्डित हुनेछ

यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छः

हामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ।
    देशहरूमा एउटा राजदूत पठाइएको थियो।
उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौं।”

परमप्रभु एदोमसँग कुरा गर्नुहुन्छ

“एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु।
    मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।
    तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ।
    तिम्रो घर पहाको अग्लाईमा छ
र तिमी आफ्नो मनमा भन्छौ कि
    ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”

एदोमलाई तल झारिनेछ

परमेश्वर परमप्रभु भन्नुहुन्छ:
“यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ,
    अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि,
    म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।
तिमी साँच्चै नै सर्वनाश हुनेछौ!
    हेर यदि कुनै चोर तिमी कहाँ आए,
जब राती डाकु आए,
    तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ।
यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि
    उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।
तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।
    मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्,
    अनि सबै भेट्उनेछन्।
तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन्
    र सिमानाबाट तिमीलाई तान्छन्।
तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्।
    तर तिनीहरूले तिमीलाई धोका दिन्छन्,
    र तिमीलाई पराजय गर्छन्।
ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन्
    तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्।
र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”

परमप्रभु भन्नुहुन्छ, “त्यस दिन
    एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु
    अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु।
त्यस समय तेमान,
    तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्।
    अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।
10 तिमी लाजले पूरिने छौ।
    अनि तिमी सधैँको निम्ति नष्ट हुनेछौ।
    किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।
11 त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ।
    अपरिचितले याकूबको भण्डार लिएर गयो।
विदेशीहरू इस्राएल शहरको दैलोबाट पस्यो,
    ती विदेशीले चिट्ठा राखेर निश्चय गरे कि,
तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने।
    त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।
12 तिमी आफ्नो भाइको विपत्तिमा, प्रति हाँस्यौ।
    तिमी त्यससमय खुशी थियौ।
जब मानिसहरूले यहूदालाई नष्ट पारे।
    उनिहरूको विपत्तिको समयमा,
तिमीले तिनीहरूको खिल्ली उडायौ।
    तिमीले त्यसो गर्नु हुँदैन थियो।
13 तिमी मेरो शहरको दैलोबाट भित्र पसेर
    अनि उनीहरूको समस्यामा हाँस्यौ।
तिमीले त्यसो गर्नु हुँदैन थियो।
    उसको त्यस्तो विपत्ति उनीहरूको धनको भण्डार लियौ,
    तिमीले त्यस्तो गर्नु हुँदैन थियो।
14 तिमी दोबाटोहरूमा उसको जीवन बचाउँने चेष्टा गर्दै,
भगुवालाई रोक्न उभिनु हुँदैन थियो,
    तिमीले उसको बाँचेकाहरूलाई दुःखको दिनमा
    उसको हातमा सुम्पिनु हुँदैन थियो।
15 सबै देशहरूमा
    चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ।
तिमीले अन्य मानिसहरूसँग नराम्रो काम गरेकाछौ।
    त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ।
    सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।
16 किनकि जसरी तिमीले पवित्र पहाडमा
    दाखरस पिएर खुशी मनायौ,
त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन्
    अनि उनीहरू सबै लोप भएर जानेछन्।
17 तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्।
    र सियोन पवित्र हुनेछ।
याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ
    जुन त्यसको थियो।
18 याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ।
    यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ।
तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ।
    यहूदाका मानिसहरूले
    एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्।
एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।”
    किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।
19 तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन्
    र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्।
यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन्
    र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।
20 इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि,
सपाराद सम्म आफ्नो बनाउनेछन्।
    यहूदाका मानिसहरूलाई यरूशलेम छोड्नु
र सपारादमा बस्न विवश पारिएको थियो।
    तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्।
21 विजयीहरू सियोन पर्वतमा हुनेछन्।
    ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन्,
    र राज्य परमप्रभुको हुनेछ।

लूका 5

पत्रुस, याकूब र यूहन्ना येशूको पछि लागे

(मत्ती 4:18-22; मर्कूस 1:16-20)

येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।

जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”

शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।

8-9 थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।” 10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए।

येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”

11 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।

येशूद्वारा एकजना बिमारी निको

(मत्ती 8:1-4; मर्कूस 1:40-45)

12 जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”

13 येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढ़ले छोड्यो। 14 येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफैं गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफू निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”

15 तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे। 16 येशू प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो।

येशूद्वारा पक्षाघात रोगी निको

(मत्ती 9:1-8; मर्कूस 2:1-12)

17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। 18 एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। 19 तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले। 20 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”

21 तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”

22 तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? 23 कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ 24 तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”

25 सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो। 26 सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”

लेवी येशूलाई पछ्याउँछन्

(मत्ती 9:9-13; मर्कूस 2:13-17)

27 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” 28 लेवी जुरूक्क उठ्‌यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।

29 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, 30 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”

31 येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। 32 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”

येशूद्वारा उपवास सम्बन्धीको प्रश्नमा उत्तर

(मत्ती 9:14-17; मर्कूस 2:18-22)

33 तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैँ खान्छन् र पिउँछन्।”

34 येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन। 35 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”

36 येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासँग मिल्दैन। 37 कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ। 38 मानिसहरूले सधैँ नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्। 39 कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, ‘पुरानो दाखरस नै असलछ।’”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International