M’Cheyne Bible Reading Plan
करारको सन्दूक फर्काई ल्याएको
13 दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे। 2 तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाइहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाइहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्। 3 करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।” 4 यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यसो गर्नु नै उचित हुनेछ।
5 यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए। 6 दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। (बालाहा, किर्यत-यारीमको अर्को नाउँ हो।) तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।
7 मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।
8 दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।
9 तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए। 10 परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे। 11 परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।
12 दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।” 13 यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे। 14 करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।
दाऊदको राज्य बिस्तार हुन्छ
14 हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए। 2 तब दाऊदले देखे कि परमप्रभुले साँच्चै नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यसो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो।
3 दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा-छोरीहरू भए। 4 यरूशलेममा जन्म भएका दाऊदका छोरा-छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान, 5 यिभार, एलीशूअ, एल्पेलेत, 6 नोगह, नेपेग, यापी, 7 एलीशामा, बेलीयादा अनि एलीपेलेत।
दाऊदले पलिश्तीहरूलाई पराजित गर्छन्
8 पलिश्ती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिश्ती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिश्ती मानिसहरूसित युद्ध गर्न निक्ले। 9 पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे। 10 दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गरौं? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?”
परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरू माथि बिजय गराउनेछु।”
11 तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो। 12 पलिश्ती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।
पलिश्ती मानिसहरू माथि अर्को विजय
13 पलिश्तीहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथी फेरि आक्रमण गरे। 14 दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक। 15 अनि त्यस समयमा तिमीले किम्बूको टुप्पोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिश्तीहरू माथि आक्रमण गर्नु नै पर्छ। तिमीले यसो अवश्यै गर्नु पर्छ। परमेश्वर आफैं तिमीहरूका अघि-अघि पलिश्तीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।” 16 दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनाहरूलाई मारे। 17 यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनुँ भयो।
1 परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन।
परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन!
विश्वास र ज्ञान
2 मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। 3 किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। 4 तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।
5 तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।
6 तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।
7-8 व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।
साँच्चो धन
9 यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। 10 यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ। 11 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।
परिक्षा परमेश्वरबाट आउँदैन
12 त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। 13 यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। 14 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। 15 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ।
16 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन। 17 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। 18 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।
सुन्नु अनि पालन गर्नु
19 मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर। 20 एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन। 21 यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।
22 परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। 23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। 24 यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। 25 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।
परमेश्वरको आराधना गर्ने साँच्चो तरिका
26 कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन। 27 पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।
पाकेको फलको दर्शन
8 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें। 2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?”
मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”
तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरू इस्रएलको अन्त आयो। म तिनीहरूको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ। 3 अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरू गाइन्छ।” मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरू प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरू लगिनेछन्।”
इस्राएलका व्यपारिहरू केवल पैसाको पछि लागिरहन मन पराउँछन्
4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।
तिमीहरूले यस देशको गरीबहरू नष्ट पार्न चाहन्छौ।
5 हे व्यापारिहरू हो! तिमीहरू भन्दछौ,
“औंसी कहिले बित्छ,
ता कि हामी गहुँ बेच्न सक्छौं।
कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने?
तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौं,
र हाम्रा ग्राहकहरूलाई धोका दिन सक्छौ।
6 तिमीले आफैंलाई भन्छौ,
‘हामीले गरीबलाई चाँदीले किन्छौं
अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं।
हामी सडेको गहुँ पनि बेच्छौं।’”
7 परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:
“म उसको कर्म कदापि भुल्ने छैन।
8 किनभने यी कार्यहरूको कारण सम्पूर्ण भूमि काम्नेछ।
यस देशमा बस्ने प्रत्तेक मानिस
मृत्यु भएको मानिसहरूको निम्ति रुनेछन्।
मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ।
भूमि यता उता फ्याँकिनेछ।”
9 परमप्रभुले भन्नुभयो,
“म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु
अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।
10 म तिमीहरूको चाडको दिनहरूलाई शोक मनाउने दिनहरूमा
र खुशीको सबै गीतहरूलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु।
म तिमीहरूलाई वस्त्रहरू शोक लगाएका बनाउनेछु
र टाउको खौराउनेछु।
म तिमीहरूले जन्माएको
एउटै मात्र छोरो मर्दा शोक गरे जस्तै पारिदिन्छु,
अनि यो तिक्त दिन हुनेछ।”
परमप्रभुको वचको एउटा डरलाग्दो अनिकाल आउँदैछ
11 परमप्रभु भन्नुहुन्छ,
“हेर, त्यो दिन नजिकै आउँदैछ,
जब म देशमा अनिकाल ल्याउँनेछु।
मानिसहरू रोटी र पानीको निम्ति
भोकाउने वा तिर्खाउने छैनन्।
तर मानिसहरू परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्।
12 तिनीहरू परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि
महासागर सम्म यता-उता जानेछन्,
अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरू
परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ,
तर तिनीहरूले पाउने छैनन्।
13 त्यस समय सुन्दर युवक र युवतीहरू
तिर्खाले मुर्छा पर्नेछन्।
14 तिनीहरूले सामरियाका मूर्तिहरूद्वारा शपथ खान्छन्,
तिनीहरूले भन्छन्, ‘दानको मुर्तिहरूद्वारा
अथवा बेर्शेबाको मुर्तिहरूद्वारा।’
तर यी मानिसहरू लड्नेछन्,
र कहिल्यै पनि उठ्ने छैनन्।”
यूहन्नाको प्रचार
(मत्ती 3:1-12; मर्कूस 1:1-8; यूहन्ना 1:19-28)
3 सिजर तिबेरियसको पन्ध्रौं वर्षमा:
पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए;
अनि हेरोद गालीलका शासक थिए;
तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए
अनि लुसानियास, अबलेनका शासक थिए।
2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए। 3 तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए। 4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः
“उजाड स्थानमा कराइरहेको आवाजः
‘परमप्रभुका निम्ति मार्ग तयार पार।
उहाँको पथहरू सोझो पार।
5 प्रत्येक खाल्डा पुरिनेछ,
अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ,
अप्ठेरा बाटोहरू समतल पारिनेछन,
अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
6 सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’”(A)
7 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो? 8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। 9 रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
10 मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
11 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
12 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।”
14 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”
यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झूटो नबोल। आफूले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
15 सबै मानिसहरू ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?”
16 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। 17 उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।” 18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
यूहन्नाको काम कसरी समाप्त भयो
19 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए। 20 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
यूहन्नाद्वारा येशूको बप्तिस्मा
(मत्ती 3:13-17; मर्कूस 1:9-11)
21 जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। 22 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।”
यूसुफको पारिवारिक इतिहास
(मत्ती 1:1-17)
23 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस वर्ष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ।
यूसुफ एलीका पुत्र थिए।
24 एली मत्तातका पुत्र थिए।
मत्तात लेवीका पुत्र थिए।
लेवी मल्कीका पुत्र थिए।
मल्की यान्नाका पुत्र थिए।
यान्ना यूसुफका पुत्र थिए।
25 यूसुफ मत्ताथियसका पुत्र थिए।
मत्ताथियास आमोसका पुत्र थिए।
आमोस नहूमका पुत्र थिए।
नहूम इसलीका पुत्र थिए।
इसली नग्गैका पुत्र थिए।
26 नग्गै माथका पुत्र थिए।
माथ मत्ताथियासका पुत्र थिए।
मत्ताथियास सेमैनका पुत्र थिए।
सेमैन योसेखका पुत्र थिए।
योसेख योदाका पुत्र थिए।
27 योदा योआननका पुत्र थिए।
योआनन रेसाका पुत्र थिए।
रेसा यरूबाबेल का पुत्र थिए।
यरूबाबेल शालतिएलका पुत्र थिए।
शालतिएल नेरीका पुत्र थिए।
28 नेरी मल्कीका पुत्र थिए।
मल्की अद्दीका पुत्र थिए।
अद्दी कोसामका पुत्र थिए।
कोसाम एलमादमका पुत्र थिए।
एलमादम एरका पुत्र थिए।
29 एर् यहोशूका पुत्र थिए।
यहोशू एलिएजरका पुत्र थिए।
एलीएजर योरीमका पुत्र थिए।
योरीम मत्तातका पुत्र थिए।
मत्तात लेवीका पुत्र थिए।
30 लेवी शिमियोनका पुत्र थिए।
शिमियोन यहूदाका पुत्र थिए।
यहूदा यूसुफका पुत्र थिए।
यूसुफ योनानका पुत्र थिए।
योनान एल्याकीमका पुत्र थिए।
31 एल्याकीम मलेआका पुत्र थिए।
मलेआ भिन्नाका पुत्र थिए।
भिन्ना मत्ताथाका पुत्र थिए।
मत्ताथा नातानका पुत्र थिए।
नातान दाऊदका पुत्र थिए।
32 दाऊद यिशैका पुत्र थिए।
यिशै ओबेदका पुत्र थिए।
ओबेद बोअजका पुत्र थिए।
बोअज सल्मोनका पुत्र थिए।
सल्मोन नहशोनका पुत्र थिए।
33 नहशोम अम्मीनादबका पुत्र थिए।
अम्मीनादाब आरामका पुत्र थिए।
आराम हेस्रोनका पुत्र थिए।
हेस्रोन फारेसका पुत्र थिए।
फारेस यहूदाका पुत्र थिए।
34 यहूदा याकूबका पुत्र थिए।
याकूब इसहाकका पुत्र थिए।
इसहाक अब्राहामका पुत्र थिए।
अब्राहाम तेरहका पुत्र थिए।
तेरह नाहोरका पुत्र थिए।
35 नाहोर सरूगका पुत्र थिए।
सरूग रऊका पुत्र थिए।
रऊ पेलेगका पुत्र थिए।
पेलेग एबेरका पुत्र थिए।
एबेर शेलहका पुत्र थिए।
36 शेलह केनानक पुत्र थिए।
केनान अर्पक्षदक पुत्र थिए।
अर्पक्षदक शेमका पुत्र थिए।
शेम नूहका पुत्र थिए।
नूह लेमेखका पुत्र थिए।
37 लेमेख मतूशेलहका पुत्र थिए।
मतूशेलह हनोकका पुत्र थिए।
हनोक येरेदका पुत्र थिए।
येरेद महलालेलका पुत्र थिए।
महलालेल केनानका पुत्र थिए।
38 केनान एनोशका पुत्र थिए।
एनोश शेतका पुत्र थिए।
शेत आदमका पुत्र थिए।
आदम परमेश्वरका पुत्र थिए।
© 2004, 2010 Bible League International