M’Cheyne Bible Reading Plan
दाऊद इस्राएलका राजा हुन्छन्
11 इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईकै मासु र रगत हौं। 2 अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नुभयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।’”
3 इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।
दाऊदले यरूशलेम कब्जा गरेका
4 दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा 5 जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।
6 दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
7 तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो। 8 दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे। 9 दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
तीन वीरहरू
10 यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।
11 यो सूची दाऊदका विशेष सैनिकहरूको होः
याशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।
12 अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए। 13 एलाजार पास-दम्मीममा दाऊदसँग थिए। पलिश्तीहरू युद्ध लड्न तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौंले भरिएको खेत थियो। इस्राएलीहरू पलिश्तीहरू देखि भागे। 14 तर ती तीन बीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।
15 एकपल्ट, दाऊद अद्दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई भेट्न ओडारसम्म पुगे।
16 अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए। 17 दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूवाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए। 18 तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए। 19 दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।
अन्य वीर सैनिकहरू
20 योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भालाद्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए। 21 अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।
22 यहोयादाका छोरा, बनायाह शक्तिशाली मानिस थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुइजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूईँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे। 23 अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसँग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए। 24 बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए। 25 बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।
तीस जना वीरहरू
26 पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः
योआबका भाइ असाहेल,
बेतलेहेम, दोदोका छोरा एल्हानान;
27 शम्मोत, हारोद,
हेलेस, पेलोनी,
28 ईरा, तकोईका ईक्केशका छोरा;
अनातोतका अबीएजेर,
29 सिब्बकै हुशाती;
ईलै, अहोही;
30 नतोपाका महरै;
नतोपाकै बानाका छोरा हेलेद,
31 बिन्यामीनको गिबाका रीबैका छोरा;
इतै, पिरातोनका, बनायाह,
32 गाशका खोल्चाहरूका
हुरै, अर्वातीका अबीएल,
33 बहरीमका अज्माबेत;
शाल्बोनका, एल्याहबा,
34 गीजोनी हाशेमका छोराहरू;
जोनाथन, हरारी शागेका छोरा;
35 अहीआम, हरारी साकारका छोरा;
एलीपाल, ऊरका छोरा,
36 मेकराहका हेपेर,
अहियाह, पेलोनी,
37 कार्मेली हेस्रो,
एज्बैका छोरा; नारै,
38 नातानका भाइ;
योएल, हग्रीका छोरा; मिभार,
39 अम्मोनी; सेलेक, बेरोतका;
नहरै, नहरैले सरूयाहका छोरा योआबको कवच बोकेका थिए।
40 येतेरी, ईरा,
सतत्री, गारेब,
41 अहलैका छोरा हित्ती,
उरियाह, जाबाद,
42 अदीन, रूबेनको कुल समूहका शीजाका छोरा; अदीना रूबेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।
43 हानान, माकाका छोरा;
मित्नी, योशापात,
44 उज्जीयाह, अश्तेराती;
होतामका छोराहरू शामा अनि यीएल, अरोएका
45 यदीएल, शिम्रीका छोरा
अनि तिनका भाइ तिजी योहा,
46 महाबी, एदीएल, यरीबै अनि योशब्याह,
एल्नामका छोराहरू,
यित्मा, मोआबी;
47 एलीएल; ओबेद अनि योबाका यासीएल।
दाऊदसँग भएका साहसी मानिसहरू
12 यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए। 2 यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुङ्गा हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए!
3 अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मावेतका छोराहरू थिए। बराका र येहू अनातोत शहरका थिए। 4 यिश्मायाह गिबोन शहरका थिए। यिश्मायाह तीन वीरहरू मध्य एक थिए अनि तिनी तीन वीरहरूका प्रधान पनि थिए। यिर्मयाह, यहजीएल, योहानान अनि योजाबाद- गदेरा ती मानिसहरूबाट; 5 एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी, 6 एल्काना, यिशियाह अज्रेल, योएजेर अनि याशोबाम, सबै कोरहका परिवार समूहका; 7 योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।
गादी मानिसहरू
8 गाद कुल समूहका एक भाग दाऊदसँग मरुभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।
9 एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए। 10 मिश्मन्ना अधिकारमा चौथा दर्जाका थिए। यिर्मयाह अधिकारमा पाँचौं दर्जाका थिए। 11 अत्तै अधिकारमा छैटौं दर्जाका थिए। एलीएल अधिकारमा सातौं दर्जाका थिए। 12 योहानान अधिकारमा आठौं दर्जाका थिए। एल्जाबाद अधिकारमा नवौं दर्जाका थिए। 13 यिर्मयाह अधिकारमा दशौं दर्जाका थिए। मकबन्नै अधिकारमा एघारौं दर्जाका थिए।
14 ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे। 15 गाद कुल समूहका मानिसहरू सैनिक थिए जो बर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो बर्षाको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेंसीहरूमा बस्ने सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे।
दाऊदसँग अन्य सैनिकहरू मिले
16 बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए। 17 दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
18 अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।
“दाऊद, हामी तपाईका हौं।
यिशैका छोरा, हामी तपाईसित छौं,
तपाईलाई शान्ति, शान्ति होस्!
ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे!
किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”
यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।
19 मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।” 20 यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लग शहर गएः अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीहू अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए। 21 तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।
22 धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।
अन्य मानिसहरू हेब्रोनमा दाऊदसँग मिले
23 यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः
24 यहूदाका कुल समूहबाट युद्धका निम्ति 6,800 मानिसहरू तयार थिए। तिनीहरूले ढाल र भालाहरू बोक्थे।
25 शिमोनका कुल समूहबाट 7,100 मानिसहरू थिए। तिनीहरू युद्धका निम्ति तयार साहासी सैनिकहरू थिए।
26 लेवीका कुल समूहबाट 4,600 मानिसहरू थिए। 27 यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित 3,700 मानिसहरू थिए।
28 सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनिक थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।
29 बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धेरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विश्वसनीय रहे।
30 एप्रैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोत्र अनुसार प्रसिद्ध मानिसहरू थिए।
31 मनश्शे कुल समूहका आधाबाट 18,000 मानिसहरू थिए। तिनीहरूलाई नाउँद्वारा आउनु अनि दाऊदलाई राजा बनाउन बोलाइयो।
32 इस्साकार कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्दथे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।
33 जबूलून कुल समूहमा 50,000 शिक्षित सैनिकहरू थिए। तिनीहरू सबै किसिमका हतियारहरू चलाउनमा सिपालू थिए। तिनीहरू दाऊद प्रति खुबै बफादार थिए।
34 नप्तली कुल समूहबाट 1,000 अधिकारीहरू थिए। तिनीहरूसित 37,000 मानिसहरू थिए। ती मानिसहरू ढाल अनि भालाहरू बोक्थे।
35 दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
36 आशेर कुल समूहबाट युद्धका निम्ति 40,000 शिक्षित सैनिकहरू तयार थिए।
37 यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए।
38 ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए। 39 ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए। 40 तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्साकार, जबूलून अनि नप्तालीका कुल समूहहरू बस्थे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेंडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।
13 ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन। 2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। 3 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।
4 सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुइजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ। 5 पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ,
“म तिमीलाई कहिल्यै छोड़दिनँ
म तिमीदेखि कहिल्यै भाग्दिनँ।”(A)
6 त्यसर्थ ढुक्कसित भनौ,
“प्रभु मेरा सहायक हुनुहुन्छ,
मलाई केही डर हुने छैन।
कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”(B)
7 आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। 8 येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।
9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। 19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न।
20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन। 23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।
25 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।
दर्शनमा सलह
7 परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरू बनाउँदै गरेको मैलेदेखें। 2 सलह ले देशको सारा घाँसहरू खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकूब बाँच्न सक्दैन। त्यो अत्यन्तै सानो छ।”
3 त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”
आगोमा दर्शन
4 मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो। 5 तब मैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकूब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”
6 त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”
साहुलको दर्शन
7 तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुल समातिरहनु भएको थियो। 8 परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?”
मैले भनें, “म एउटा साहुल देख्दैछु।”
त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन। 9 इसहाकको अग्ला ठाउँहरू नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरू उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”
अमस्यले आमोसलाई रोक्ने कोसिस
10 बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः “आमोसले तिमीहरूको बिरुद्ध षड्यन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरूलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसक्नु भएकोछ। 11 आमोसले भन्यो, ‘यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरूलाई तिनिहरूको देशबाट निर्वासित गरिनेछ।’”
12 अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहूदा तर्फ दक्षिण तर्फ दगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ। 13 तर यहाँ बेतेलमा ज्यादा उपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।”
14 तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ। 15 परमप्रभुले मलाई भेंडा़-बाख्राहरू चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरू इस्राएललाई अगमवाणी गर।’ 16 यसैकारण परमप्रभुको वचन सुन, तिमीहरू मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणी नगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’ 17 परमप्रभुले यसो भन्नुहुन्छ, ‘तिम्रो पत्नी यो शहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरू र छोरीहरू अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमि अपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।’”
येशूको जन्म
(मत्ती 1:18-25)
2 त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकरण गराउनु पर्थ्यो। 2 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो। 3 जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकरण गराउन गए।
4 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो। 5 यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्। 6 यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। 7 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।
येशूको बारेमा केही गोठालाहरूले सुने
8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। 9 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। 10 तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। 11 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ। 12 उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
13 त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए,
14 “स्वर्गमा परमेश्वरलाई महिमा,
अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ,
तिनीहरूमा शान्ति रहोस्।”
15 ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”
16 तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक डूँडमा सुतिरहेको थियो। 17 गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।
18 गोठालाहरूको कुरा सुनेर सबै छक्क परे। 19 मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्। 20 गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घट्नाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेंडा़हरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
21 जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।
येशूलाई मन्दिरमा समर्पण
22 मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे। 23 परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति ‘पवित्र मानिन्छ।’”[a] 24 अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए।
शिमियोनले येशूलाई देखे
25 शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। 26 परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो। 27 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए। 28 शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
29 “अब हे परमप्रभु, आफ्नो वचन अनुसार, तपाईंको दासलाई शान्तिसँग विदा दिनुहोस्।
30 किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।
31 जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।
32 तपाईंको पथ प्रदर्शनमा गैर-यहूदीहरूको लागी उनी नै प्रकाश हुन।
उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
33 उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे। 34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियमलाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनेछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ। 35 यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।”
हन्नाले येशूलाई देखिन्
36 हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन। 37 त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिइन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिइन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना गर्थिन्।
38 ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसँग उनको विषयमा बात गरिन्।
यूसुफ र मरियम घर फर्किए
39 यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए। 40 सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।
येशूको बाल्यकाल
41 निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। 42 जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। 43 जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। 44 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे 45 तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के।
46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। 47 ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। 48 जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”
49 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” 50 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।
51 तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्। 52 येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।
© 2004, 2010 Bible League International