M’Cheyne Bible Reading Plan
रूबेनका सन्तानहरू
5 1-3 इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो। परिवारिक इतिहासमा रूबेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए। तर यूसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोराले पाउँथे।
रूबेनका छोराहरू हनोक, पल्लू, हेस्रोन अनि कर्मी थिए।
4 यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए। 5 शिमीका छोरा मीका थिए। मीकाका छोरा रायाह थिए। रायाहका छोरा बाल थिए। 6 बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए।
7 योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह, 8 अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे। 9 बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरुभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरू थिए। 10 जब शाऊल राजा थिए। त्यो बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।
गादका सन्तानहरू
11 गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे। 12 बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए। 13 तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए। 14 ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए। 15 अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।
16 गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका स-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै खर्कहरूमा बस्थे।
17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।
युद्धमा निपुण केही सैनिकहरू
18 मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए। 19 तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे। 20 मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित सहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हगारीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हगारीहरूसित थिए। 21 तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेंडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे। 22 धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।
23 मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।
24 मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए। 25 तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरूद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।
26 इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अश्शूरका राजा थिए। तिनलाई तिग्लत-पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।
लेवीका सन्तानहरू
6 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
2 कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
3 अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।
हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। 4 एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए। 5 अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए। 6 उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए। 7 मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए। 8 अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए। 9 अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए। 10 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमानद्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।) 11 अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए। 12 अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए। 13 शुल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए। 14 अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।
15 यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेस्सरलाई प्रयोग गर्नुभयो।
लेवीका अन्य सन्तानहरू
16 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
17 गेर्शोमका छोराहरूको नाउँ: लिब्नी र शिमी थिए।
18 कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
19 मरारीका छोराहरूः महली अनि मूशी थिए।
यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।
20 यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए। 21 योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।
22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए। 23 एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए। 24 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।
25 एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए। 26 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए। 27 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए। 28 शमूएलका जेठा छोरा योएल र कान्छा अब्याह हुन्।
29 यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए। 30 शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।
मन्दिरका सँगीतकारहरू
31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने। 32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउन्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुशरण गर्दै सेवा गरे।
33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले सँगीतद्वारा सेवा गरे।
कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए। 34 शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए। 35 तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए। 36 योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए। 37 सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। 38 कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।
39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए। 40 शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए। 41 मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए। 42 अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए। 43 शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।
44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए। 45 मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए। 46 हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए। 47 शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
48 हेमान अनि आसापका दाज्यू-भाइहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो। 49 तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुशरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।
हारूनका सन्तानहरू
50 यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए। 51 बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए। 52 मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए। 53 सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
लेवी परिवारहरूका निम्ति घरहरू
54 यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो। 55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो। 56 तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो। 57 हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो, 58 हीलेन, दबीर, 59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। 60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।
61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।
62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।
63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।
64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए। 65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।
66 एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए। 67 तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए। 68 योकमाम, बेथहोरोन, 69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए। 70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसँगै खेतहरू पनि पाए।
अन्य लेवी परिवारहरूले घरहरू प्राप्त गरे
71 गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसँगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।
72-73 गेर्शोम परिवारहरूले केदेश, दाबरत, रामोत अनि अनेम शहरहरू पनि इस्साकारका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरू नजिकका खेतहरू पनि यी शहरहरूसितै पाए।
74-75 गेर्शोम कुलहरूले माशाल, अब्दोन, हूकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।
76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।
77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।
78-79 मरारी परिवारहरूले मरुभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे। यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।
80-81 अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेश्बोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरूसँगै नजिकका खेतहरू पनि पाए।
ख्रीष्टको बलिदानले हामीलाई पूर्ण बनाउँछ
10 व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँच्चो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढ़ाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढ़ाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन। 2 व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन। 3 यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ। 4 किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
5 तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो,
“तपाईं बलि र भेटीहरू चाहनुहुन्न,
तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
6 बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न।
पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
7 तब मैले भने, ‘परमेश्वर म यहाँ छु,
व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ।
तपाईले चाहेको काम गर्न म आएको छु।’”(A)
8 उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहान्छ। 9 त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ। 10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
11 प्रत्येक दिन, पूजाहारीहरू खड़ा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्। 12 तर ख्रीष्टले पापको निम्ति सँघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो। 13 अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ। 14 एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
15 पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ,
16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु।
म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु।
म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।”(B)
17 तब उहाँ भन्नुहुन्छ:
“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,
र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”(C)
18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
परमेश्वरको नजिक आऊ
19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। 20 अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो। 21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। 22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। 23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
विश्वासमा दृढ हौ र एकअर्कालाई सघाऊ
24 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। 25 हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन[a] अझै नजिक-नजिक आउँदै छ।
ख्रीष्टबाट मुख नफर्काऊ
26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन। 27 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ। 28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो। 29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो। 30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”(D) परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”(E) 31 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
आफूसित भएको उत्साह र आनन्द नगुमाऊ
32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। 33 कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। 34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। 36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। 37 चाँडै नै,
“जो आउनु हुँदैछ आउनुँ नै हुनेछ।
उहाँले विलम्ब गर्नु हुनेछैन।
38 जो अहिले मसित धर्मी छ,
उसको विश्वासको कारणले जीवन पाउने छ।
तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने,
म उसित प्रसन्न रहनेछैनँ।”(F)
39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।
आनन्दप्रिय स्त्रीहरू
4 हे सामरियाको डाँडामा बस्ने गाईहरूहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरूलाई कुल्चियौ। तिमीहरूले आफ्ना पतिहरूलाई भन्छौ, “हामीहरूलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”
2 परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरूले तिमीहरूलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्। 3 तिमीहरू सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरू सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,”
परमप्रभु भन्नुहुन्छ। 4 “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरूले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरूको फसलको एक दशांश चढाऊ। 5 धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरू यसो गर्न मनपराउँछौ।”
6 “मनै हुँ जसले तिमीहरूलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरूलाई कुनै खानेकुरा दिइन। तिमीहरूका सबै शहरहरूमा अन्न थिएन तर तिमीहरू फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।
7 “मैले बर्षा रोकिदिएँ अनि यो फसल पाक्नु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिएँ तर अर्कोमा दिइनँ। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो। 8 यसकारण दुइ या तीन शहरका मानिसहरू पानीको निम्ति अर्को शहर तिर डुलिहिँडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरू सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
9 “मैले तिम्रो फसलहरू ज्यादै गर्मी र किराहरूद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरू मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरू सबै नष्ट पारिदियो। तर पनि तिमीहरू सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।
10 “मैले तिमीहरूका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरूका युवाहरूलाई तलवारले काटेर मारें। मैले तिमीहरूका घोडाहरू लगें। मैले तिमीहरूको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरू भन्नुहुन्छ।
11 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरूलाई नष्ट पारें। तिमीहरू आगोबाट निक्लेको धुवाँसित बल्दैगरेको दाऊरा जस्तै छौ। तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।
12 “यसकारण, इस्राएल! म तिमीहरूलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरू परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।”
13 परमेश्वर नै एकजना हुनुहुन्छ
जसले पहाड र बतास सृजना गर्नहुन्छ।
उहाँले मानिसहरूलाई आफ्नो बिचार भन्नुहुन्छ।
बिहानलाई अँध्यारोमा परिवर्तन गर्नुहुने उहाँनै हुनुहुन्छ।
अनि पृथ्वीका पहाडहरूमाथि चढ्नु हुन्छ।
उहाँको नाउँ यहोवा हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर।
1 परमप्रभुको प्रशंसा गर!
माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
परमप्रभुको प्रशंसा गर।
2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
5 परमप्रभुको प्रशंसा गर!
किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
8 परमेश्वरले आगो र हिउँ,
असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!
1 परमप्रभुको प्रशंसा गर।
परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ!
महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्।
सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै,
परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो।
उहाँले तिनीहरूलाई बचाउनु भयो!
5 हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ।
सुत्न गइसके पश्चात् पनि खुसी होऊ।
6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून्
अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
8 परमेश्वरका मानिसहरूले ती राजा,
र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।
9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्
परमेश्वरले गर्नु भएको आज्ञा जस्तै,
परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।
परमप्रभुको प्रशंसा गर!
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
3 नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!
6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।
परमप्रभुको प्रशंसा गर!
© 2004, 2010 Bible League International