M’Cheyne Bible Reading Plan
25 यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं बर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए। 2 नबूकदनेसरको सेनाहरूले सिदियाह यहूदाका राजाको एघाह्रौं बर्ष नहुन्जेलसम्म यरूशलेमको चारैतिर बसे। 3 शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।
4 नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे। 5 बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे।
6 बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे। 7 तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।
यरूशलेमलाई नष्ट पारिन्छ
8 नबूकदनेस्सर आफू बाबेलको राजा भएको उन्नाइसौं बर्षको पाँचौ महीनाको सातौं दिन यरूशलेम आए। नबूजरदान नबूकदनेस्सरको प्रमुख सैनिकहरूका अधिकारी थिए। 9 नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।
10 तब नबूजरदानसँगै भएको बाबेली सेनाहरूले यरूशलेमको वरिपरिको पर्खाहरू लडाए। 11 नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पक्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे। 12 नबूजरदानले साधारण मानिसहरूमा अत्यन्त दरिद्रलाई मात्र त्यहाँ बस्न दिए। उनले तिनीहरूलाई बस्न दिए जसले गर्दा तिनीहरू दाख र अन्य बालीको हेरचाह गर्न सकून्।
13 बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा-टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे। 14 बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीहरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो। 15 नबूजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे। 16-17 यसकारण नबूजरदानले लगेः 2 वटा काँसाका खाँबाहरू। (प्रत्येक खाँबो 18 हात अग्लो थियो। खाँबोमाथिका गजूरहरू तीन हात फिट अग्लो थिए। तिनीहरू काँसाको बनाइएका थिए अनि जालो र दारिमको आकृति जस्ता थिए। दुवै खाँबाहरू एकै प्रकारको आकृत्तिका थिए।) ठूलो काँसाको खँड्कुलो, गाडीहरू जसलाई परमप्रभुको मन्दिरका लागि सुलेमानले बनाएका थिए। यी चीजहरूको काँसा जोख्दा साह्रै नै गह्रौं थियो।
बन्दी बनाइएका यहूदाका मानिसहरू
18 मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।
19 अनि शहरबाट नबूजरदानले एउटा अधिकारीलाई लगे जो सैनिकहरूको मुखिया थिए। पाँच जना राजाका सल्लाहकार जो अझै शहरमा नै थिए, एकजना अध्यक्ष जसले साधारण मानिसहरूलाई युद्धको निम्ति जम्मा गर्थे अनि 60 जना साधारण मानिसहरू जो अझै शहरमा थिए।
20-21 तब नबूजरदानले यी सबै मानिसहरूलाई हमातको इलाकामा रिब्लामा बाबेलका राजाकहाँ लगे। बाबेलका राजाले तिनीहरूलाई रिब्लामा मारे। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए।
गदल्याह यहूदाका राज्यपाल
22 नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए।
23 सेनाका सेनापतिहरू नतन्याहका छोरा ईश्माएल, कारेहका छोरा योहानान, नतोपातका तन्हमेतका छोरा सरायाह अनि माकाईका छोरा याजन्याह थिए। यी सेनापतिहरू तथा उनका मानिसहरूले थाह पाए, बाबेलका राजाले गदल्यालाई राज्यपाल बनाए। यसर्थ तिनीहरू गदल्याहसँग भेट गर्न मिस्पा गए। 24 गदल्याहले यी अधिकारीहरू तथा उनका मानिसहरूलाई शपथ दिए। गदल्याहले तिनीहरूलाई भने, “बाबेल का अधिकारीहरू सित डरमान्नु पर्दैन। यहाँ बस अनि बाबेलका राजाको सेवा गर। तब तिमीहरूका लागि सबै कुरो ठीक हुनेछ।”
25 एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौं महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्पामा गदल्याह सँगै सबै यहूदीहरू तथा बाबेलीहरूलाई मारे। 26 तब सेनाका अधिकारीहरू अनि सबै मानिसहरू मिश्र भागे। कम्ती महत्वपूर्ण देखि बढी महत्वपूर्ण भएका प्रत्येक मानिसहरू भागे किनभने तिनीहरू बाबेलीहरूसित डराएका थिए।
27 पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घट्ना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्रा महीना सैंतीसौं बर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको बर्षमा भएको घट्ना हो। 28 एबील-मरोदक यहोयाकीनप्रति दयालु थिए। उनले बाबेलमा उनीसँग बस्ने अरू राजाहरू भन्दा यहोयाकीनलाई धेरै महत्वपूर्ण पद दिए। 29 एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए। 30 यस प्रकार राजा एबील-मरोदकले यहोयाकीनलाई रहल जीवनमा प्रत्येक दिन भोजन प्रदान गरे।
पूजाहारी मल्कीसेदेक
7 मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाईँ जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए। 2 अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए।
मल्कीसेदेक, शालेमका राजाको नाउँको दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ, “धार्मिकताको राजा” र अर्को अर्थ हुन्छ “शान्तिको राजा।” 3 मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।
4 यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए। 5 अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्। 6 मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए। 7 अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्।
8 ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ। 9 लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए। 10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।
11 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो? 12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लिनु पर्छ। 13 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्। 14 यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।
येशू मल्कीसेदेक जस्तै एक पूजाहारी हुनुहुन्छ
15 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढ़ता स्पष्ट हुन्छ। 16 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो। 17 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”(A)
18 अघिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो। 19 मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।
20 महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन। 21 तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो,
“परमेश्वरले प्रतिज्ञा लिनुभयो,
उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन।
‘तिमी सदा-सदालाई पूजाहारी हुनेछौ।’”(B)
22 यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।
23 अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए। 24 तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोड्नु हुन्न। 25 यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैँ बाँच्नुहुन्छ।
26 यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ। 27 उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैंलाई सधैँको लागि एकै पल्ट बलीको रूपमा चढ़ाउनु भयो। 28 व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैँको लागि पूर्ण हुनुभयो।
परिचय
1 आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।
अरामको निम्ति दण्ड़
2 आमोसले भने,
“परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ।
परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ।
यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ।
यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”
3 तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको दाँदेले धुलोपारेको छ। 4 यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरू भष्म पार्नेछ।
5 “म दमीशकका बलिया ढोकाहरू पनि भाँचिदिनेछु र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरू पराजित हुनेछन्। अनि उनिहरूलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।
पलिश्तीहरूले सजाय पाउनेछन्
6 परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरूलाई उनीहरूले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किनभने उनीहरूले सम्पूर्ण देशको बासिन्दाहरूलाई कैद गरेर दासहरू बनाएर एदोमको हातमा सुम्पि दिए। 7 यसकारण म गाजा देशको पर्खालहरूमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरू जलाइ दिनेछ। 8 म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म, एक्रोन का मानिसहरूलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरू मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।
फनूशियालाई सजाय
9 परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरूलाई तिनीहरूले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किनभने तिनीहरूले देशका सम्पूर्ण मानिसहरूलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरूले तिनीहरूको दाजू-भाइहरूसँग गरेको सम्झौताको सम्झना पनि गरेनन्। 10 त्यस आगोले सोरको किल्लाहरू पनि ध्वंश पार्नेछ।”
एदोमको निम्ति सजाए
11 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरूलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किनकि एदोमले आफ्नो दाजू-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइनै रह्यो अनि केहि पनि सहानुभुति देखाएन। ऊ जङ्गली जनावरहरू सरह लगातार इस्राएललाई च्यातिरह्यो। 12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरू पनि ध्वंश पार्नेछ।”
अम्मोनियाको निम्ति सजाए
13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरूलाई तिनीहरूले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किनकि तिनीहरूले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरूलाई मारे। 14 यसकारण, अब म रब्बाको पर्खालमा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरू माथि आँधी बेरी जस्तै तिनीहरूको देशमा आइपर्नेछ। 15 त्यस समय तिमीहरू को राजा कैदमा पर्नेछ, राजा र भारदारहरू एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।
दाऊदको भजन।
1 परमप्रभुको प्रशंसा गर,
परमप्रभु मेरो चट्टान हुनुहुन्छ।
परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ।
उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।
परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ।
परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ।
परमप्रभु मेरो ढाल हुनुहुन्छ।
म उहाँमा भरोसा राख्दछु,
परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?
किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
4 मानिसको जीवन हावाको झोंका मात्र हो।
मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो।
5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्
पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।
तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्।
मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्।
मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
8 ती शत्रुहरू झूटाहरू हुन्।
तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।
9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक,
कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु।
म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।
परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।
ती शत्रुहरू झूटा छन्।
तिनीहरूले भनेका कुराहरू असत्य छन्।
12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।
हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्।
हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्।
त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।
14 हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्।
हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्,
र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्।
हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।
15 साँच्चो आशिष पाउनु कति असल कुरा हो।
यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,
ती मानिसहरू आशिषित हुन्छन्।
© 2004, 2010 Bible League International