M’Cheyne Bible Reading Plan
मानिसहरू विधि-विधान सुन्दछन्
23 राजा योशियाहले यहूदा यरूशलेमका सबै अगुवाहरूलाई आउनु अनि उनीहरूसँग भेट गर्नु भनी बताए। 2 तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।
3 राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुशरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।
4 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीजहरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।
5 यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूटा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूटा पूजाहारीहरूलाई रोके।
6 योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।
7 तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।
8-9 योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवा सम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।) तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसँग अखमीरे रोटी खाए।
10 तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्। 11 बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।
12 बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुइवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।
13 बितेको समयमा राजा सुलेमानले यरूशलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अश्तोरोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कमोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए। 14 राजा योशियाहले सबै स्मृति-स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाँचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।
15 योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए। 16 योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए।
त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।
17 योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?”
त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेश्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेश्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।”
18 योशियाहले भने, “परमेश्वरको जनलाई एक्लै छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामरियाबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।
19 योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।
20 योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।
यहूदाका मानिसहरू निस्तार पर्व मनाउँछन्
21 तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
22 मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायकर्ताहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्। 23 तिनीहरू योशियाह राजा हुँदा अठाह्रौं बर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए।
24 योशियाहले धामी झाँक्री, जादूगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यरूशलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दा चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइऐको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे।
25 योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुशरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।
26 तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोड्नु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो। 27 परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोड्न बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”
28 सबै अरू कामहरू जो योशियाहले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
योशियाहको मृत्यु
29 योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे। 30 योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे।
तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।
यहोआहाज यहूदाका राजा हुन्छन्
31 यहोआहाज तेईस बर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्। 32 यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।
33 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।
34 फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेकोले एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे। 35 यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।
36 यहोयाकीम 25 बर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 बर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्। 37 यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।
5 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ। 2 प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्। 3 प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।
4 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ। 5 उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैंलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो:
“तिमी मेरा पुत्र हौ।
आजदेखि म तिम्रा पिता भएँ।”(A)
6 धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो,
“मल्कीसेदेक जस्तो,
तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।”(B)
7 जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। 8 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। 9 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो। 10 अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।
पतनको विरुद्ध चेतावनी
11 हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिक्ने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ। 12 वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन। 13 दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन। 14 तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।
परमप्रभुको आउने समय
2 सियोनमा तुरही फुक,
मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ।
ती सबै मानिसहरूलाई जो यो देशमा बस्छन्,
डरले थरथर कामुन्?
किनकी परमप्रभुको विषेश दिन आउँदैछ।
परमप्रभुको विशेष दिन नजिकै छ।
2 त्यो दिन अन्धकार उदासी दिन हुनेछ।
त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ।
तिमीहरू विशाल र शक्तिशाली मानिसहरू,
पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ।
तिनीहरू जस्ता धेरै संख्यामा मानिसहरू
पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन्
अनि न त भबिष्यमा यस्तो हुनेछ।
3 तिनीहरूकोअघाडी आगोले भष्म पार्छ।
तिनीहरूको पछाडी आगोको ज्वाला दन्कन्छ।
भूमी मानिसको सामुने अदनको बगैंचा झैं हुनेछ
अनि मनिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ।
त्यहाँ केही पनि रहने छैन।
4 सलहहरू घोडा जस्तै देखिन्छन्
अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्।
5 तिनीहरूलाई सुन!
तिनीहरूको ध्वनि युद्घको समयमा
रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ।
त्यो आवज भुस जलेर निस्केको
आगोको ज्वाला जस्तै छ।
एक हुल शक्तिशाली मानिसहरू
युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।
6 मानिसहरू तिनीहरूको अघि डरले थर-थर काम्छन्।
तिनीहरू को अनुहार डरले पहेंलो हुन्छ।[a]
7 तिनीहरू योद्धाहरू झैं दगुर्छन्।
तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्।
प्रत्येक मानिस सोझो अघाडी बढछन्।
तिनीहरू पंक्ति नबिगारी हिंडछन्।[b]
8 उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्।
प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्।
यदि कुनै सेनालाई चोट लागेर लडे पनि
अरू सेनाहरू अघि बढि रहन्छन्।
9 तिनीहरू कुदेर शहरमा पस्नेछन्
अनी चाँडै पर्खाल माथि कुद्नेछन्।
तिनीहरू घरमाथि चढ्छन्,
अनि झ्यालबाट चोरहरू जस्तै भित्र पस्छन्।
10 तिनीहरूको अगाडी पृथ्वी हल्लिन्छ, आकाश काम्छ।
सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ अनि तारा चम्कन छोड्छ।
11 परमप्रभुले आफ्नो सेनाहरूलाई ठुलो स्वरले बोलाउनु हुन्छ।
उहाँको छाउनी अत्यन्त विशाल छ।
ती जसले परमप्रभुको आज्ञा पालन गर्छन्
तिनीहरू धेरै संख्यामा छन्।
परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ।
यो कसले सहन सक्छ र?
परमप्रभुले मानिसलाई परिवर्तन होऊ भन्नुहुन्छ
12 परमप्रभु भन्नु हुन्छ:
“अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले
उपवास बसेर रूँदै र शोक गर्दै मतिर फर्क।
13 लुगा होइन, तिमीहरू को हृदय फटएर रोऊ।”[c]
परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ।
उहाँ दयालु अनि करूणामय हुनुहुन्छ।
उहाँ चाँडै रिसाउनु हुन्न।
उहाँ को प्रेम महान छ,
दण्ड दिने बिषयमा उहाँले
जो निर्णय लिनु भएको छ
त्यो उहाँले परिवर्तन गर्न सक्नु हुछ।
14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ।
यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ।
अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेशवरलाई
अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।
परमप्रभुलाई प्रार्थना गर
15 सियोनमा तुरहि फुक,
महा-पबित्र सभा बोलाऊ।
उपवासको विशेष समयलाई बोलाऊ।
16 मानिसलाई भेला गर।
त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ।
तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर।
त्यो दुधे-बालकलाई पनि लिएर आऊ,
नयाँ दुलहा-दुलहीलाई
सिधै तिनीहरूको कोठाबाट बोलाऊ।
17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू
मन्दिरको दलान वेदीको बिचमा रहुन्।
तिनीहरूले भनुन्, “हे परमप्रभु तपाईका मानिहरूलाई दया देखाउनुहोस्।
तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्।
तिनीहरूलाई राष्ट्रहरूको बिचमा हाँसोको पात्र नबनाउनु होस्।
तपाँईंले अन्य देशहरूलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्,
‘तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?’”
परमप्रभुले तिम्रो देश फिर्ता दिनुहुन्छ
18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।
उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो।
19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो।
उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू,
नयाँ दाखरस र तेल पठाउनेछु।
जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ।
म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
20 त्यहाँ आएका उत्तरवासीहरूलाई[d] तिमीहरूको देशबाट हटाइदिनेछु।
उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु,
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,
अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।
उनीहरूले यस्तो घृणित कर्म गरेका छन्,
उनीहरूसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ।
तिनीहरूले धेरै घिनलाग्दा कामहरू गरेका छन्।”
फेरि देशलाई नयाँ बनाईने छ
21 हे देश नडरा!
तँ खुशि भएर रमाइलो गर,
किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।
22 हे जङ्गलका पशुहरू! नडराऊ,
बनको उजाड खर्कमा हरियाली आउनेछ।
रूखहरूले फलदिन थाल्नेछन्।
नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ।
23 हे सियोनका मानिसहरू! खुशीहोऊ।
परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ।
किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ।
उहाँले तिमीहरूलाई अघिल्लो र पछिल्लो दुबै झरी,
पहिला झैं पठाई दिनुहुन्छ।
24 अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्।
अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्।
25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिरुद्धमा पठाएको थिएँ।
ती काट्ने सलहहरू, ती बगाले सलहहरू
अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए।
तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु।
तिमीहरू फेरि भरिभराऊ हुनेछौ।
26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु
तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ।
उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ।
अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्।
27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु।
अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ,
र म वाहेक अर्को कुनै परमेश्वर छैन।
मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।”
परमेश्वरले उहाँको आत्मा सबै मानिसलाई दिनुहुन्छ
28 “त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु।
तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्।
तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्।
तिनीहरूका जवानले दर्शन देख्नेछन्।[e]
29 त्यस समय म आफ्ना आत्मा मेरा दास
र दासीहरूमाथि खन्याउनेछु।
30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु।
त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरू हुनेछन्।
31 सूर्य अँध्यारोमा बद्लनेछ।
चन्द्रमाको रंग रगतमा बद्लनेछ।
अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ।
किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्।
यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ।
बाँचेहरूको बिचमा तिनीहरू हुनेछन्
जसलाई परमेश्वरले बोलाउनु हुनेछ।
यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको “मस्किल” भन्ने प्रार्थना।
142 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु।
म परमप्रभुलाई पुकार्दछु।
2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु।
म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।
म त्याग्न तयार छु।
तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ।
4 मैले वरिपरि हेरें,
अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ।
मेरो भाग्ने ठाउँ कतै छैन।
कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन।
5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।
हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,
मलाई तपाईंको अति खाँचो छ।
मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्,
तिनीहरू मभन्दा पनि बलिया छन्।
7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्,
ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ,
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्।
किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
© 2004, 2010 Bible League International