M’Cheyne Bible Reading Plan
योशियाह यहूदामा आफ्नो शासन शुरू गर्छन्
22 योशियाह आठ बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 33 बर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन। 2 योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।
योशियाह मन्दिरको मर्मत गर्ने आदेश दिन्छन्
3 योशियाह राजा भएको अठारह्रौं बर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने, 4 “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सँग्रह गरेका थिए। 5 पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न कर्मीहरूलाई दिएर प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिएर प्रयोग गर्नु पर्छ। 6 त्यो धन सिकर्मी, डकर्मी र ढुङ्गाकाट्नेहरूमा प्रयोग गर्नु पर्छ। अनि त्यो धन काठ किन्नु अनि ढुङ्गा काट्नुमा खर्च गर्नु पर्छ जो मन्दिरमा ठोक्न चाहिन्छ। 7 रूपियाँ गन्ती नगर्नु जो तिमी कर्मीहरूलाई दिन्छौ। ती कर्मीहरूलाई विश्वास गर्न सक्नु पर्छ।”
मन्दिरमा पाइएको विधिको पुस्तक
8 प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।
9 सचिव शापान राजा योशियाहकहाँ गए अनि उनलाई के भयो भने। शापनले भने, “तपाईका सेवकहरूले सबै धन सँग्रह गरेका छन् जो मन्दिरमा थियो। तिनीहरूले त्यो परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसरूलाई दिए।” 10 तब सचिव शापानले राजालाई भने, “अनि हिल्कियाह पूजाहारीले त्यो पुस्तक मलाई पनि दिए।” तब शापानले राजाका लागि पुस्तक पढे र सुनाए।
11 जब राजाले व्यवस्थाको पुस्तक का शब्दहरू सुने, उनले आफूलाई उदास र अशान्त देखाउन आफ्ना लुगाहरू च्याते। 12 तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए। 13 राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमा सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।”
योशियाह र अगमवादिनी हुल्दा
14 यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने गर्थिन्। तिनीहरू हुल्दासित कुरा गरे।
15 तब हुल्दाले तिनीहरूलाई भनिन, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः त्यो मानिसलाई भन जसले तिमीलाई मकहाँ पठाएका छ। 16 ‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि सङ्कट ल्याउँदैछु। यी सङ्कटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे। 17 यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’
18-19 “यहूदाका राजा योशियाहले तिमीलाई परमप्रभुबाट सल्लाह लिन भनी पठाए। योशियाहलाई यी कुरा भनः ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएका शब्दहरू तिमीले सुन्यौ। यस ठाउँ र यहाँ बस्ने मानिसहरूको विषयमा मैले भनेको तिमीले सुन्यौ तिम्रो हृदय कमलो थियो। तिमीले दुःख मान्यौ जब ती कुरा सुन्यौ मैले भनें यस ठाउँमा डरलाग्दो घटनाहरू हुनेछ (यरूशलेम) तिमीले आफ्नो दुःख देखाउन आफ्नो लुगा च्यात्यौ अनि तिमी रून थाल्यौ। यसैकारण मैले तिम्रो कुरा सुने।’ परमप्रभु यस्तो भन्नुहुन्छ। 20 ‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै सङ्कटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।’”
त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।
4 परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन। 2 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्। 3 हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो:
“म रिसाएँ र प्रतिज्ञा लिएँ की,
‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।’”(A)
परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो। 4 धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”(B) 5 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”
6 यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्। 7 यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गर्यौं।
“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
अतीतमा जस्तै हठधर्मी नबन।”(C)
8 हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्छौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो। 9 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ। 10 आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेष गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ। 11 समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।
12 परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुइधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ। 13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ
14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
सलहहरूले देशलाई उजाड पारे
1 पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो:
2 हे अगुवाहरू हो, यो वचन सुन!
हे यो देशका सबै बासिन्दाहरू हो!
तिमीहरू मेरो कुरामा ध्यानदेऊ।
के तिमीहरूको जीवनकालमा पहिला कहिल्यै,
यस्तो भएको थियो? अँहँ थिएन!
के तिमिहरूका पिता-पुर्खाहरूको समयमा कहिल्यै,
यस्तो घटना घटेको थियो? अँहँ थिएन!
3 तिमीहरूका छोरा-छोरीहरूलाईयो कुरा बताऊ,
अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउँने छन्।
तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।
4 जे कुरो काट्ने सलहहरूले छोडेका थिए,
सबै बगाले सलहहरूले खाए।
अनि जेकुरा बगाले सलहहरूले छोडेका थिए,
ती सबै उफ्रने सलहहरूले खाए।
जे उफ्रने सलहहरूले छोडेका थिए,
ती सबै विनासकारी झुसुले सलहहरूले खाए।
सलहहरू आइपुग्न थाले
5 हे मतवालाहरू! जाग अनि रोऊ!
तिमीहरू सबै दाखरस पिउनेहरू हो!
जोडसित रोऊ किनभने तिमीहरूको मिठो दाखरस अब छैन।
अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।
6 एउटा ठूलो अनी शक्तीशाली जातिले
मेरो देशलाई आक्रमण गरेका छन्।[a]
तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्।
तिनहरूका दाह्राहरू सिंहीनीका जस्तै छन्।
7 ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए।
दाखको बारी ओइलायो त्यसपछि मर्यौ।
ती मनिसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए।
बोटको बोक्रा समेत उप्काई नाङ्गो पारेर फालिदिए।
मानिसहरू रून्छन्
8 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।
जसले लोग्नेको निम्ति भाङ्ग्रा लगाएकीछे,
जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
9 पूजाहारीहरू परमप्रभुका सेवकहरू रोऊ।
किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।
10 खेत उजाड पारीएकोछ।
यहाँ सम्म कि खेत पनि रुँदैछ।
किनभने अन्नहरू सबै नष्ट भयो
नयाँ दाखरस सुख्खा भयो
अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
11 हे किसानहरू! निरास हौ।
हे दाखवरीका किसानहरू अच्काली विलाप गर!
गहुँ र जौंको निम्ति विलाप गर
किनकि खेतको फसलहरू नष्ट भएकोछ।
12 दाखको बोट सुकाइयो
अनि नेभाराको बोट ओइलाएकोछ।
अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो।
बारिका सबै रुखहरू सुकेका छन्।
मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
13 हे पूजाहरीहरू! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर।
हे वेदीका सेवकहरू हो! विलाप गर।
हे मेरा परमेशवरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लाएर सुत।
किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
सलहहरूद्वारा डरलाग्दो विनाश
14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरूलाई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहरूलाई भेला गराऊ। उनीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।
15 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ। 16 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र हर्ष हराएर गयो। 17 हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो।
18 हाम्रा पशुहरू भोकले कराइरहेकाछन्। हाम्रा गाई-गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरूले घाँस खान पाउँदैनन्। भेंडा़हरू पनि मरिरहेका छन्। 19 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरू आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरू आगोको ज्वालाले जलाई दिए। 20 वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,
क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
2 तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।
तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।
3 तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।
त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
4 हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,
क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस,
तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
5 ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे।
तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए।
तिनीहरूले मेरो बाटोमा पासो थापे।
6 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
7 हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ।
तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।
तपाईं मेरो मुकुट सरह हुनुहुन्छ,
जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
8 हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।
तिनीहरूले चाहेका कुराहरू नपाऊन्।
तिमीहरूका योजनाहरू सफल नहोस्।
9 परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्।
ती मानिसहरूले दुष्ट योजना बनाँउछन्।
तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,
मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्,
तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस्
ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
11 परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्।
नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई,
निष्पक्ष रूपले न्याय गर्नुहुनेछ
परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।
सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
दाऊदको स्तुति-गान।
1 हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें।
मेरो प्रार्थना सुनि दिनुहोस्।
चाँडो आएर मलाई साथ दिनुहोस्।
2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्,
यो जलिरहेको धूपको उपहार जस्तो होस्
यो साँझको बेलाको बलिदान जस्तो होस्।
3 हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्।
म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्।
4 मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्,
दुष्ट मानिसहरूले अनुचित काम गर्छन्,
मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्।
मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस,
जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
5 यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि,
म त्यसलाई दया सम्झने थिएँ।
तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्।
तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो।
म ती कुराहरू स्वीकार गरौंला।
तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु।
6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस्
तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।
7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए।
यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।
8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें
म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।
9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे।
मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।
10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन्
ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।
© 2004, 2010 Bible League International