Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 20

हिजकियाह बीरामी मरणासनमा

20 त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आफ्नो परिवारको सदस्यहरूलाई अन्तिम निर्देशन देऊ किनभने तिमी मर्नेछौ, तिमी बाँच्ने छैनौ।’”

हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थना गरे अनि भने, “परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाईंको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभएको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।

यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो, “फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ। अनि म तिम्रो जीवनमा 15 बर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।’”

तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।”

यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।

हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”

यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।”

10 हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।”

11 तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलोको छाँया दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।

हिजकियाह अनि बाबेलको मानिसहरू

12 त्यस समयमा बलदानका छोरा बरोदक बलदान बाबेलका राजा थिए। उनले पत्रहरू र एउटा उपहार हिजकियाहका लागि पठाए। बरोदक बलदानले यस्तो यसकारण गरे किनभने उनले सुनेका थिए हिजकियाह बिरामी भएका छन्। 13 हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।

14 तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?”

हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”

15 यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?”

हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईंन।”

16 तब यशैयाहले हिजकियाहलाई भने, “परमप्रभुबाट यो सन्देश सुन। 17 समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ। 18 बाबलीहरूले तिम्रो छोराहरूलाई लग्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुंसक हुनेछन्।”

19 तब हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुको यो सन्देश राम्रो छ।” (हिजकियाहले यस्तो पनि भने, “त्यो राम्रो हो यदि मेरो जीवन कालमा साँच्चो शान्ति हुनेछ।”)

20 सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कूलोहरू बनाउने काम छन् सबको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 21 हिजकियाहको मृत्युभयो अनि उनलाई उनका पिता-पुर्खाहरूसँगै गाडियो। अनि हिजकियाहको छोरा मनश्शे उनीपछि नयाँ राजा भए।

हिब्रू 2

हाम्रो उद्धार व्यवस्थाभन्दा ठूलो हो

यसकारण सिकाइएका कुराहरू अनुशरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं। स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँच्चो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुशरण गरेनन् तिनीहरूले उचित दण्ड पाए। हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँच्चो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे। परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

मानिसहरूलाई बचाउन ख्रीष्ट मानिस जस्तै बन्नुभयो

आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं। धर्मशास्त्रमा लेखिएको छ:

“तपाईं किन मानिसलाई सम्झनु हुन्छ?
    किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ?
ऊ यति महत्वपूर्ण छ?
छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो।
    तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो,
अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।”(A)

परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं। केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।

11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न। 12 त्यसैले उहाँ भन्नुहुन्छ,

“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु।
    तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”(B)

13 उहाँ यसो पनि भन्नुहुन्छ,

“म परमेश्वरमा भरोसा गर्छु।”(C)

अनि उहाँ भन्नुहुन्छ,

“म यहाँ छु, अनि मसित ती छोराछोरीहरू छन्, जो परमेश्वरले मलाई दिनुभएको छ।”(D)

14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ। 15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। 16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ। 17 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्। 18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

होशे 13

इस्राएल आफै नष्ट भयो

13 “एप्रैम आफैंले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ। इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे। अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।

“मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो। उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें। मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।

“यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु। म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”

परमेश्वरको क्रोधबाट कसैले इस्राएललाई बँचाउनु सक्तैन

“हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु। 10 कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउनु हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस्,’ भनी विन्ती गरेको थियौ। 11 म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।

12 “एफ्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ,
    उसको पाप अभिलेखमा राखिएको छ।
    ऊ दण्डित हुनेछ।
13 उसलाई प्रसव वेदना हुनेछ।
    ऊ एउटा अज्ञानी शिशु जस्तै हो
चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।

14 “के म उनीहरूलाई पातालको शक्तिदेखि बँचाऊँ?
    के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ?
हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ?
    हे चिहान तेरो शक्ति कहाँ छ?
    मेरो आखाँबाट अब दया लुकेकोछ।
15 इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ,
    तर पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ
अनि इस्राएलको कुवाहरू सुक्ने छन्।
    त्यसको पानीको मूल सुक्नेछ।
    त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।
16 सामारियाले दण्ड भोग्नेछ
    किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ।
इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ,
    उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ
    अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”

भजनसंग्रह 137-138

हामी बाबेल नदीहरूका किनारमा बसेर
    सियोनलाई सम्झेर रोयौं।
हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
    तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने,
    तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
तर कसरी विदेशमा हामीहरू
    परमप्रभुका गीतहरू गाउन सक्छौं?
हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,
    मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
यरूशलेम यदि मैले तिमीलाई भुलेको भए,
    तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन।
म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ।
    हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार,
    त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।”
हे बेबिलोन, तिमी नाश हुनेछौ!
    त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ,
    जुन दण्डको निम्ति तिमी योग्य थियौ।
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते,
    र तिनीहरूलाई ढुङ्गामा थेचारे।

दाऊदको भजन।

हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International