M’Cheyne Bible Reading Plan
येहू सामरियाका प्रमुखहरूलाई लेख्छन्
10 आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने, 2-3 “यो पत्र पाउने बित्तिकै तिम्रा पिताहरूका छोराहरूमध्ये विशिष्ट अनि योग्य मानिसको छनौट गर। तिमीसँग रथहरू र घोडाहरू छन्। अनि तिमी दरिह्रिलो शहरमा बसिरहेका छौ। तिमीसँग हतियार पनि छ। छनौट गरेको छोरालाई पिताको सिंहासनमा राख। तब तिम्रो पिताको परिवारका लागि लडाइँ गर।”
4 तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुइ जना राजा (योराम र अहज्याह) ले येहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।”
5 जुन मानिसले आहाबले घरको हेरचाह गर्यो, शहरका बूढा-पाका अनि मानिसहरूको रेख-देख गर्यो जसले आहाबका नानीहरूको हेरचाह गरेका थिए, त्यसले येहूलाई सन्देश पठायो, “हामी तपाईको सेवकहरू हौं। हामी तपाईले भनेको जे पनि गर्नेछौं। हामी कुनै मानिसलाई राजा बनाउने छैनौं। तपाई जे उचित सम्झनु हुन्छ, गर्नुहोस्।”
सामरियाका अगुवाहरूले आहाबका नानीहरूलाई मार्छन्
6 तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।”
आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे। 7 जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए। 8 दूत येहूकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।”
तब येहूले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुइ थुप्रो बनाएर राख।”
9 येहू बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारें। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यौ। 10 तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”
11 यस प्रकार येहूले यिज्रेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहूले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन।
येहू अहज्याहका आफन्तहरूलाई मार्छन्
12 येहूले यिज्रेल छोडे अनि सामारिया गए। बाटोमा येहू भेंडा गोठालाहरू भएको ठाउँमा रोकिए जहाँ गोठालाहरूले आफ्ना भेंडाहरूको ऊन काट्ने गर्दथे। 13 येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?”
उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”
14 तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।”
येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।
येहू यहोनादाबसित भेट गर्छन्
15 त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र हौ?”
यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।”
येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।”
तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।
16 येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।”
यसकारण यहोनादाब येहूको रथमा चढे। 17 येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।
येहू बालका उपासकहरूलाई बोलाउँछन्
18 त्यसपछि येहूले सबै मानिसहरूलाई जम्मा गरे। येहूले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहूले बालको सेवा मनग्गे गर्नेछ। 19 अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरू यस सभामा नछुटुन्। म बाललाई साह्रै ठूलो बलि चढाउँनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।”
तर येहू तिनीहरूसँग छल गर्दै थिए। येहू बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे। 20 येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे। 21 तब येहूले सबै इस्राएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो।
22 येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।
23 त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।” 24 बालका उपासकहरू बालको मन्दिरमित्र बलिहरू र होमबलि चढाउन पसे।
तर बाहिर येहूका 80 जना मानिसहरू पर्खिरहेका थिए। येहूले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भाग्ने मौका न देऊ। यदि कोही मानिसले एक जना मानिसलाई भाग्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”
25 येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।”
यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए। 26 तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए। 27 तब तिनीले बालका स्मारक ढुङ्गाहरू फोरेर धूलोपीठो बनाए। तिनीले बालको मन्दिरलाई पनि फोरेर धूलोपीटो बनाए। तिनीहरूले बालको मन्दिरलाई आरामकोठा बनाए। मानिसहरू अझै पनि त्यस ठाउँलाई शौचालयको रूपमा प्रयोग गर्छन्।
28 यसप्रकार येहूले इस्राएलमा बालको पूजालाई अन्त गरिदिए। 29 तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।
इस्राएलमा येहूको शासन
30 परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”
31 तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।
हजाएल इस्राएललाई पराजित गर्छन्
32 त्यस समयमा परमप्रभुले इस्राएललाई टुक्रायाउन शुरू गर्नु भएको थियो। अरामका राजा हजाएलले इस्राएलीहरूलाई इस्राएलको प्रत्येक सीमानामा परास्त गरेका थिए। 33 हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।
येहूको मृत्यु
34 सबै अरू महान कार्यहरू जो येहूले गरेका थिए, इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 35 येहू मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए। 36 येहूले सामरियामा 28 बर्ष शासन गरे।
1 ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
2 मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।
उत्साह अनि धन्यवाद
3 दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु। 4 म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ। 5 म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ। 6 त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। 7 परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
8 यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
9 परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। 10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो 12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म[a] उहाँ सामर्थ हुनु हुन्छ।
13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
15 तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस ले पनि मलाई छोडे। 16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्। 17 अँहँ, जब उनी रोममा आए मलाई नभेटुन्जेल उनले मलाई निरन्तर खोजिरहे। 18 म प्रार्थना गर्छु त्यस दिन[b] प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।
2 “तब तिमीले आफ्ना दाज्यू-भाइहरूलाई भन्नेछौ, ‘तिमीहरू मेरो मानिसहरू हौ।’ अनि आफ्ना दिदी बहिनीहरूलाई पनि भन्नेछौ ‘उहाँले ममाथि धेरै दया गर्नु भयो।’”
2 “तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन, वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन। 3 यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरुभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु। 4 म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्। 5 तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरू[a] कहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’
6 “यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्। 7 तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असल थियो। अहिलेको जीवन भन्दा असल थियो।’
8 “त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले। 9 यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ। 10 अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन। 11 म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु। 12 दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन्।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।
13 “तिनले बालको देवताहरूको सेवा गर्छिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भुल्थिन। परमप्रभुले यसो भन्नुभयो।
14 “यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु। 15 त्यहाँ तिनलाई दाखबारीहरू दिनेछु। म तिनलाई आशाको द्वार जस्तै आकोरको बेंसी दिनेछु। तब मलाई तिनले त्यस्तै जवाफ दिनेछन् जस्तो मिश्रबाट आउँदा दिएका थिए।” 16 परमप्रभु भन्नुहुन्छ।
“त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ। 17 म तिनको मुखबाट बाल नाउँलाई खोस्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन्।
18 “त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिँड्ने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्। 19 अनि म (परमेश्वर) तिमीलाई सधैँको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु। 20 म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँच्चो अर्थमा परमप्रभुलाई जान्नेछौ। 21 अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।” परमप्रभु भन्नुहुन्छ:
“म आकाशलाई भन्नेछु,
अनि उसले धर्तीलाई पानी दिनेछ।
22 पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ,
अनि यिज्रेलको आवश्यकताहरू पूरा गरिदिनेछ।
23 म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु।
अनि लो-रूहामालाई म दया देखाउने छु।
अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’
अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।’”
मेम्
97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
नुन्
105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
106 तपाईंको नियमहरू असल छन्।
म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्!
108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
अनि तपाईंका नियमहरू सिकाउनु होस्।
109 मेरो प्राण अनवरत विपदमा परेको छ
तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
111 हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु।
यसले मलाई खुशी पार्दछ।
112 म मेरो जीवनको अन्त सम्म नै,
सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
समेख्
113 हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु,
जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
114 मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
115 हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्,
अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
116 हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
117 परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु।
म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
118 हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
119 परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो।
यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु।
120 हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।
© 2004, 2010 Bible League International