M’Cheyne Bible Reading Plan
एलीशा एक जना नयाँ अगमवक्ता येहूलाई अभिषेक गर्न भन्दछन्
9 एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ। 2 जब तिमी त्यहाँ पुग्छौ, निम्शीका नाती, यहोशापातका छोरा येहूलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माझबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ। 3 तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ र भन, ‘परमप्रभु यसो भन्नुहुन्छ; तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्क।”
4 यसकारण यो युवक, अगमवक्ता, रामोत गिलाद गयो। 5 जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।”
येहूले भने, “हामी सबै यहाँ छौं। हामी मध्ये कसको लागि सन्देश छ?”
युवकले भन्यो, “सेनापति, संन्देश तपाईका लागि हो।”
6 येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु। 7 तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु। 8 यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो। 9 म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु। 10 यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।’”
तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।
सेवकहरू येहूलाई राजा घोषित गर्छन्
11 येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”
येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो थाहा छ बौलाह मानिस सधैँ केही कुराहरूको विषयमा हतारिन्छ?”
12 अधीकारीहरूले भने, “होइन! हामीलाई साँच्चो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।’”
13 तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सींडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
येहू यिज्रेल जान्छन्
14 यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए।
त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए। 15 राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाईँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए।
यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंड्न नदिनु।”
16 योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योरामसँग भेट गर्न यिज्रेल आएका थिए।
17 एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।”
योरामले भने, “तिनीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।”
18 यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?’”
येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”
रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”
19 तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।’”
येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”
20 रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”
21 योरामले भने, “मेरो रथ तयार गर!”
यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।
22 योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”
येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका काम गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”
23 योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”
24 तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।
25 येहूले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिज्रेलबाट नाबोतको खेतमा फ्याँकिदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घट्ना हुनेछ। 26 परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फ्याँकिदेऊ।”
27 यहूदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैंचाको घर भएर भाग्ने चेष्टा गरे, तर येहू उनको पछि लागे। यहूले भने, “अहज्याहलाई पनि मार।”
अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गूर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिद्दो सम्म पुगे, र तिनी त्यहाँ मरे। 28 अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यरूशलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे।
29 अहज्याह योराम इस्राएलको राजा भएको एघारौं बर्षमा यहूदाका राजा भएका थिए।
ईजेबेलको डरलाग्दो मृत्यु
30 येहू यिज्रेल गए अनि ईजेबेलले खबर सुनीन्। उनले आफ्नो श्रृंगार गरिन, अनि कपाल बाटिन्। त्यसपछि तिनी झ्यालमा उभिन् र बाहिर हेरिन्। 31 येहूले शहरमा प्रवेश गरे। ईजेबेलले भनी, “नमस्कार जिम्री! ऊ जस्तै नै तिमीले आफ्नो मालिकको हत्या गर्यौ।”
32 येहूले माथि झ्यालमा हेरे। उनले भने, “माथितिर को छ? कोहो?”
दुइ अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे। 33 येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।”
तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे। 34 येहू घरभित्र पसे खान पीन र मद्यापान गरे। तब उनले भने, “अब यस श्रापित आइमाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”
35 मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए। 36 यसकारण मानिसहरू फर्किए अनि येहूलाई बताए। तब येहूले भने, “परमप्रभुले आफ्नो सेवक तिश्बी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भनेः ‘कुकुरहरूले ईजेबेलको लाश यिज्रेलको इलाकामा खाने छन्। 37 ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।’”
6 ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन। 2 केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू हुन्छन् तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।
झूटो शिक्षा र साँच्चो धन
मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ। 3 कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन। 4 झूटा शिक्षा दिने मानिस अहङ्कारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगड़ा गर्छ। यसले इर्ष्यां, झगड़ा, अपमान अनि कुशंका ल्याउँछ। 5 यसले दुषित मन हुने मानिसहरूबाट तर्कवितर्क पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू सम्झन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।
6 निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने। 7 जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं। 8 यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं। 9 तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ। 10 पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।
याद गर्नु पर्ने केही कुराहरू
11 तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। 12 आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। 13 परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः 14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। 15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। 16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।
17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ। 18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। 19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।
20 तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन। 21 कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।
परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।
होशेद्वारा परमप्रभु परमेश्वरको वचन
1 परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यहूदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।
2 परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ। किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
यिज्रेलको जन्म
3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई। 4 परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु। 5 त्यस समय यिज्रेलको बेंसीमा म इस्राएलको धनु भाँचिदिनेछु।”
लो-रूहामको जन्म
6 तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किनभने म अब इस्राएल जातिप्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु। 7 बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै प्रयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।
लो-अम्मीको जन्म
8 गोमेरले लो-रूहामलाई दूध छोडाएकी मात्र थिई फेरि गर्भवती भएर एउटा अर्को छोरा जन्माई। 9 तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”
परमप्रभु परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ कि त्यहाँ धेरै इस्राएलीहरू हुनेछन्
10 “भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’
11 “तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”
योद्
73 हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो।
मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
74 हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्।
तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।
75 हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्।
अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
76 अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्।
तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
77 हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्।
म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
78 मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे,
र मेरो बारेमा झूटो बोले।
ती मानिसहरू लज्जित होऊन् परमप्रभु,
म तपाईंको व्यवस्था सिक्छु, पढछु।
79 भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन।
यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्।
80 परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ,
ताकि म लज्जित हुने छैन।
काफ्
81 म मर्न आँटेको छु।
तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु।
तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु।
तर मेरो आँखाहरू शिथिल भइरहेछन्,
परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ?
83 म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
तपाईंको नियमहरू भुल्ने छैन।
84 म कहिले सम्म बाँच्ने छु?
हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
85 कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे।
86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्!
87 ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके।
तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
88 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस्
अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।
लामेद्
89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्।
तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो,
अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
किनभने तिनीहरूले मलाई बाँच्न दिए।
94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
95 दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे।
तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
96 तपाईंको नियमहरू बाहेक
प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
© 2004, 2010 Bible League International