Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 7

एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।’”

तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।”

एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”

कोरीहरू अरामी शिबिर खालि पाउँछन्

शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं? सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”

यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन। परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”

अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।

कोरीहरू शत्रु शिबिरमा

जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए। ती कोरीहरूले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शुभ-सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पर्खिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।”

कोरीहरूले शुभ-समाचार भन्दछन्

10 यसर्थ ती कोरीहरू आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहरूले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।”

11 तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाएर र सबैलाई सूचना दिए। 12 रातीको समय थियो तर राजा ओछ्यानबाट उठे। राजाले आफ्ना अधिकारीहरूलाई भने, “अरामी सैनिकहरू हामीसित के गर्दैछन्, म तिमीहरूलाई बताउनेछु। तिनीहरू जान्दछन् हामी भोकै छौं। खेतमा लुक्नको निम्ति तिनीहरूले शिबिर छोडे। तिनीहरू सोच्दैछन्। ‘जब इस्राएलीहरू शहरबाहिर आँउछन्, तिनीहरूलाई जिउँदै पक्रिने छौं। अनि त्यसपछि हामी शहरमा पस्ने छौं।’”

13 राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडै नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउँन ती मानिसहरूलाई पठाऔ।”

14 यसर्थ मानिसरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निती गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।”

15 मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।

16 तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौं किन्न सक्ने थियो।

17 राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए। 18 एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।” 19 तर अधिकारीले परमेश्वरका जनलाई उत्तर दिएका थिए, “परमप्रभुले आकाशमा झ्यालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।” 20 अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।

1 तिमोथी 4

झूटा शिक्षकहरू बारे सावधान

पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्। यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ। ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्। पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।

ख्रीष्ट येशूको असल सेवक बन

यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुशरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ। मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। 10 त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।

11 यिनै कुराहरूका आदेश र शिक्षा देऊ। 12 तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।

13 म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। 14 तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। 15 यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। 16 आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।

दानियल 11

11 “मादिका राजा दाराको शासनकालको पहिलो बर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ।

“अब म तिमीलाई साँच्चो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति प्रयोग गर्नेछन्। यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ। शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नातीहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।

“दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।

“फेरि केही बर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।

“तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ। उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही बर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन। फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ।

10 “फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ। 11 त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ। 12 त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन। 13 त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा संख्यामा सैनिक भेला पार्नेछ। अनि केही बर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।

14 “त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरूद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्। 15 तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्।

16 “शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्। 17 फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ।

18 “यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापूहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ।

19 “यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।

20 “उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।

21 “यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ। 22 उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्। 23 त्यसपछि धेरै देशहरूले त्यो क्रुर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।

24 “जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।

25 “त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ। 26 तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्। 27 ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ।

28 “ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।

29 “फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन। 30 पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुशरण गर्न रोके। 31 तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।

32 “तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन।

33 “ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए। 34 जब तिनीहरू लडनेछन्, तिनीहरूले अलिकति सहायता पाउँनेछन् अनि झूटा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्। 35 के ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।

राजा जसले आफूलाई महिमा गर्छ

36 “फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।

37 “आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैंलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्। 38 त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपाहार चढाएर मान गर्नेछ।

39 “ऊ अनि उसका विदेशी देवताहरूले आफ्नो किल्लाहरू बलियो पार्नेछ। तिनको निगाहमा भएकाहरूलाई तिनले सम्मान दिएर र साधारण मानिसहरूलाई जागिर दिएर तिनीहरूलाई मानले परिपूर्ण पार्नेछ।

40 “आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ। 41 फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्। 42 फेरि उसले धेरै देशहरूलाई आफ्नो शक्ति देखाउने छ र मिश्रले पनि यसको शक्ति थाहा पाउनेछ, यो अलग हुन सक्तैन। 43 उसले मिश्रको सुन, चाँदिको भण्डार अनि त्यसको सबै सम्पत्ति खोस्ने छ। लिब्नी अनि कूशी पनि यसको अधीनमा हुनेछन्। 44 तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अघि बढ्ने छ। 45 उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।

भजनसंग्रह 119:25-48

दालथ्

25 म चाँडै मर्नेछु, हे परमप्रभु!
    तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
26 मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ।
अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो।
    अब, तपाईंका नियमहरू सिकाउनु होस्।
27 हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्।
    तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
28 म दुःखीत र थकित छु।
    आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
29 हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्।
    तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।
30 हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु।
    मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
31 म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु।
    मलाई असन्तुष्ट नबनाउनु होस्।
32 म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु।
    परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।

हेथ्

33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
    अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु।
34 मलाई बुझ्न सहायता गर्नु होस्
    अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
    म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु।
36 मलाई धनाढ्य हुनुको सट्टामा
    तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
    तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
    ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
    त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
    तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

वाव्

41 हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्,
    अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्।
42 जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु।
    म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
43 हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ।
    म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
44 हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु।
45 यसकारण म स्वतन्त्र हुने छु।
    किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।
46 म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु,
    अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
47 म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु।
    परमप्रभु म ती आज्ञाहरू मन पराउँछु।
48 हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु।
    म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International