Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 4

एक जना अगमवक्ताकी विधवा एलीशासित मद्दत माग्छिन्

अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”

एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”

आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”

तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ। त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”

यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी। उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”

तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।

तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

शुनैममा एक जना आइमाईले एलीशालाई एउटा कोठा दिन्छे

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्। 10 एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”

11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे। 12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।”

सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो। 13 एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?’”

आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”

14 एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?”

गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।”

15 तब एलीशाले भने, “उनलाई बोलाऊ।”

यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई। 16 एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।”

आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”

शुनैममा आइमाईको छोरा हुन्छ

17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई।

18 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो। 19 बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!”

बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”

20 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।

आइमाई एलीशालाई भेट्न जान्छे

21 आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई। 22 उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”

23 आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।”

उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीक-ठाक हुनेछ।”

24 तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुन्जेल सम्म ढीलो नगर।”

25 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।

परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा! 26 उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?’”

गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”

27 तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”

28 तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।’”

29 तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”

30 तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।”

यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।

31 गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”

शुनैमेली आइमाईको छोरा फेरि जिउँदो हुन्छ

32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो। 33 एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे। 34 एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।

35 त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।

36 एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!”

गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”

37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।

एलीशा अनि विषालु सेरूवा

38 एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सेरूवा बनाऊ।”

39 एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्‌यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द-मुल हो चिनेन्।

40 त्यसपछि तिनीहरूले केही सेरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सेरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।

41 तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सेरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।”

अनि सेरूवामा कुनै विष थिएन।

एलीशाले अगमवक्ताहरूको दललाई खुवाउँछन्

42 बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”

43 एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?”

तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।’”

44 तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।

1 तिमोथी 1

ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ।

तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।

झूटो शिक्षाहरूको विरूद्ध चेतावनी

जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ। तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नदेऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ। यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ। कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे। त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।

हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ। हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्। 10 जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँच्चो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन। 11 यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।

परमेश्वरलाई उहाँको कृपाको निम्ति धन्यवाद

12 हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो। 13 अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन। 14 तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।

15 म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महा-पापी हुँ। 16 तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो। 17 जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।

18 तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड। 19 विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुशरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो। 20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुइलाई शैतानको हातमा सुम्पिदिएँ।

दानियल 8

एउटा भेंडा़ अनि एउटा बोकोको विषयमा दानियलको दर्शन

बेलसजर राजाको शासनकालको तेस्रो बर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो। मैले यो दर्शनमा देखें कि म शूशन शहरमा थिएँ। शूशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ। मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो। मैले भेंडो़लाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सींङ्गौरी खेल्दै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुट्टाउन सक्तैन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो।

मैले उत्तर, पश्चिम अनि दक्षिणमा चीजहरूमा त्यो भेंडा़का सिँगहरू ठोकिँदै गरेको देखें। अनि अरू पशु यसको छेउमा उभिन सकेनन्। अनि कसैले तिनीहरूलाई यसको शक्तिबाट बचाउन सकेनन्। यसले आफ्नो क्षमता आफूले चाहे जस्तै देखायो।

अनि बोको दुइवटा सींङ भएको भेंडा़कहाँ आयो। (यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ।) अनि बोको एकदमै रिसाएर भेडोतिर कुद्‌यो। मैले बोकालाई भेंडा़तिर कुद्‌दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सींङ भाँचिदियो। बोकोसित भेंडो़को सामना गर्ने शक्ति थिएन। बोकोले भेंडो़लाई भूईंमा लडायो अनि त्यसलाई कुल्चियो। भेंडा़लाई बचाउने त्यहाँ कोही थिएन।

यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सींङ्ग भाँचियो अनि फेरि त्यो ठूलो सींङको ठाँउमा चारवटा सींङ उम्रिए। ती चारैवटा सींङ अलगै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए।

फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो। 10 त्यो सानो सींङ बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो। 11 सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो। 12 अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेंटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भूईमा फ्याँकिदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो।

13 फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनें। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिले सम्म यी कुराहरू भई रहनेछन्? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमूदायलाई सुम्पिन्छ?”

14 अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।”

दानियललाई दर्शन उल्था गरियो

15 जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें। 16 त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनें। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”

17 त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”

18 ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए। 19 गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।

20 “तिमीले देखेको दुइ सींङे साँढे भेंडा़ मादी देश र फारस देशका राजाहरू हुन्। 21 त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सींङ चाहिँ प्रथम राजा हो। 22 त्यो भाँचिएको सींङको सट्टामा उम्रेका चार सींङहरू चाँहि चार राज्यहरू हुन्, जुन त्यस जातिबाट खडा हुनेछन्। तर तुलनामा त्यसको जतिकै पराक्रम हुनेछैन।

23 “ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ। 24 त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंश ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंश ल्याउने छ।

25 “त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ।

26 “साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नैपर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”

27 त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेंर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन।

भजनसंग्रह 116

116 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
    त्यो मलाई मन पर्दछ।
जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
    त्यो मलाई मन पर्छ।
म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।
    चिहान मेरो वरिपरि थियो
    म भयभीत र चिन्तित थिएँ।
तब मैले परमेश्वरको नाउँको पुकारा गरें।
    मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ।
    हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।
    म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
हे मेरो प्राण, विश्राम गर!
    परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो।
    तपाईंले मेरो आँसुहरू थामिदिनु भयो।
    तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
जीवितहरूको देशमा पनि
    म परमप्रभुको सेवा अनवरत गर्नेछु।

10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो,
    “म सर्वनाश भएँ!”
11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ,
    मैले भने, “सबै मानिसहरू झूटा छन्!”

12 म परमप्रभुलाई के दिन सक्छु र?
    ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
13 उहाँले मलाई बचाउनु भयो,
    यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु।
    अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
14 परमप्रभुलाई प्रतिज्ञा गरेको कुराहरू म उहाँलाई दिनेछु।
    म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।

15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।
    परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
16 हे परमप्रभु, म तपाईंको दास हुँ।
    म तपाईंकी एकजना सेविकाको बालक हुँ।
    परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो।
17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउँने छु।
    म परमप्रभुको नाउँ पुकार्नेछु।
18 आफूले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
    अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु,
    र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु।

परमप्रभुको प्रशंसा गर!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International