M’Cheyne Bible Reading Plan
योराम इस्राएलका राजा हुन्छन्
3 आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहूदाको राजा हुँदा अठाह्रौं बर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र बर्ष शासन गरे। 2 योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए। 3 तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।
मोआब इस्राएलबाट छुट्टिन्छ
4 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेंडा थिए। मेशाले एक लाख भेंडा र एक लाख भेंडाका ऊन इस्राएलका राजालाई दिए। 5 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।
6 तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे। 7 योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”
यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”
तीनजना राजाहरू एलीशासँग सल्लाह माग्छन्
8 यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”
योरामले जवाफ दिए, “हामी एदोमको मरुभूमिबाट जानुपर्छ।”
9 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन। 10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”
11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”
इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”[a]
12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”
यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।
13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”
इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”
14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँच्चो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईनँ। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ। 15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”
जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो। 16 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन। 17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्। 18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीहरूलाई जिताउनुहुनेछ। 19 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”
20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्न थाल्यो अनि बेंसी भरियो।
21 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाईँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाईँका लागि सीमानामा पर्खिने काम गरे। 22 मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो। 23 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाईँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”
24 मोआबी मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए। 25 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसँग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।
26 मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्। 27 तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।
हाम्रोलागि प्रार्थना गर
3 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्। 2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। 3 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। 4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। 5 हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।
कामगर्न वाध्यता
6 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। 7 तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। 8 अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। 9 यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। 10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”
11 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। 12 हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं। 13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।
14 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्। 15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ।
अन्तिम शब्द
16 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैँ हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहुन्।
17 म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।
18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमाथि होस्।
चारवटा जनावरहरूको विषयमा दानियलको सपना
7 बाबेलको राजा बेलसजरको शासन कालको पहिलो बर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू 2 दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो। 3 तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए।
4 “तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पखेंटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पखेंटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।
5 “तब मैले भालू जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करङ्गहरू थिए। त्यस भालूलाई आदेश दिइयो, ‘उठ् अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’
6 “त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पखेंटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो।
7 “यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए।
8 “अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।
चौथो जनावरको न्याय
9 “मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो
अनि त्यसमा प्राचीन राजा बस्नु भयो।
उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो,
अनि कपाल सेतो ऊन जस्तो थियो।
उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो
र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।
10 उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो।
हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए।
दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए।
तब न्यायधीश न्याय दिन बसे,
अनि किताबहरू खोले।
11 “मैले हेरिरहेको थिएँ कि त्यो सानो सींङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा फ्याँकिदियो। 12 अरू जनवारहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अझ बाँच्न दिइयो।
13 “मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।
14 “एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ, त्यो नष्ट हुनेछैन।
चौथो पशुको विषयमा व्याख्या गरिएको
15 “मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ। 16 त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो। 17 उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ। 18 तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा-सर्वदाका निम्ति त्यो कायम रहने छ।’
19 “त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो। 20 त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें। 21 मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो। 22 जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।
23 “उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ। 24 त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अघिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ। 25 त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बदल्ने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन बर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।
26 “‘तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ। 27 अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’
28 “बिवरण यहीं अन्त हुन्छ। म दानियल चाँहि मेरो विचारले गर्दा साह्रै डराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”
114 इस्राएल ले मिश्र त्यागेर गए।
याकूबले त्यो विदेशलाई त्यागेर गए।
2 यहूदा परमेश्वरको खास मानिस भए।
इस्राएल उसको राज्य हुन गयो।
3 लाल समुद्रले यो देखेर भाग्यो,
यर्दन नदी उल्टा बग्न थाल्यो।
4 पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।
5 लाल समुद्र, तिमी किन भागेर गयौं?
यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
6 हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?
7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
स्वामीको सामने थरहरी होऊ।
8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।
115 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
© 2004, 2010 Bible League International