Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 2

परमप्रभुबाट एलियालाई बोलाउने योजना

जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।

एलियाले एलीशालाई भने, “कृपया यहीँ पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।”

तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।

बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”

एलीशाले भने, “हो म जान्दछु यो। तर यस बारे कुरा नगर।”

एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”

एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।”

एलीशाले भने, “हो, म जान्दछु तर यो विषयमा कुरा नगर।”

एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”

एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।

अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुशरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए। एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्‌याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।

जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?”

एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”[a]

10 एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”

परमेश्वरले एलियालाई स्वर्गमा लानुहुन्छ

11 एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।

12 एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”

एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते। 13 एलियाको खाष्टो भुइँमा झर्यो त्यसकारण एलिशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए। 14 एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।

अगमवक्ताहरूले एलियाको विषयमा सोध्छन्

15 जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए। 16 तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।”

तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”

17 अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारून्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।”

अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्। 18 यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।”

एलीशाले पानीलाई शुद्ध पार्छन्

19 शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाई यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुनेछ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उमार्दैन।”

20 एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।”

मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए। 21 तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।’”

22 पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए।

केही केटाहरू एलीशाको हाँसो उडाउँछन्

23 एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालु खुईले मान्छे! माथि चढ तँ तालु खुईले मान्छे!”

24 एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

25 एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए।

2 थिस्सलोनिकी 2

दुष्ट घट्ना घट्नेछ

दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं। यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्। कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो। परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।

मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ? अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ। पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ। त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। 10 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।

11 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्। 12 त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।

तिमीहरू मुक्तिको लागि छानिका हौ

13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ। 14 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ। 15 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।

16-17 हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैंले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो।

दानियल 6

दानियल अनि सिंहहरू

सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो। उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए। चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए। तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईर्ष्यँ गर्न र उनीहरूले दानियलसँग निहुँ खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।

यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।”

त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रान्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन। राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्। अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बद्ली हुन्छ न त मेट्टिन्छ।” यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे।

10 दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैँ जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।

11 उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए। 12 त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउँनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्यो भने त्यसलाई सिंहको खोरमा हालिने छ?”

राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”

13 यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”

14 जब राजाले यो खबर सुने तिनी अत्यन्तै दु:खी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुन्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे। 15 तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।”

16 तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैँ आराधना गर्छौ, तिमीलाई बचाउँन्।” 17 त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्।

18 तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।

19 बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। 20 राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?”

21 दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! 22 मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

23 त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

24 त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्याक कुरूक पारेर खाइहाले।

25 त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखे:

तिमीहरूलाई शान्ति होस्:

26 म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गरून्।

दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ:
    उहाँ सदा-सर्वदा जीउँनु हुन्छ,
उहाँको राज्य कहिलै अन्त हुनेछैन
    अनि उहाँले सधैँ राज्य गर्नुहुन्छ।
27 परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ,
    स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ।
अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ,
जसले दानियललाई सिंहको मुखबाट बचाउँनु भयो।

28 यस प्रकारले दाराले राज्यमा शासन गरून्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुन्जेल यिनै दानियलको उन्नति भइरह्यो।

भजनसंग्रह 112-113

परमप्रभुको प्रशंसा गर!

कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
    त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
    असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
    अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
    परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
    एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
    असल मानिसको सधैँ स्मरण गरिन्छ।
उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
    त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
    उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
    गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
    अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
    तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
    तर त्यसपछि तिनीहरू अल्पिने छन्।
    दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।

परमप्रभुको प्रशंसा गर!

परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
    परमप्रभुको नाउँको प्रशंसा गर।
परमप्रभुको नाउँ अहिले
    र सदा-सर्वदालाई धन्य बनी रहोस्।
परमप्रभुको नाउँको प्रशंसा
    पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
    उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
    परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
    उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
    परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
    परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
एउटी स्त्रीको नानीहरू नहुन सक्लान
    तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!

परमप्रभुको प्रशंसा गर!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International