M’Cheyne Bible Reading Plan
मीकाया आहाबलाई चेताउनी दिन्छन्
22 दुइ बर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो। 2 तब, तेस्रो बर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।
3 यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।” 4 यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोतामा युद्ध गर्ने छौं?”
यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्। 5 तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।”
6 यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लड्नु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?”
अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।”
7 तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”
8 इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”
यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”
9 यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्कालै खोज्नु भनी अह्राए।
10 त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए। 11 अगमवक्ताहरू मध्ये एकजना सिदूकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदूकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोगगर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट पार्ने छौ।’” 12 सबै अरू अगमवक्ताहरू सिदकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाईँमा विजयी होऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।”
13 यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।”
14 तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”
15 तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, “मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?”
मीकायाले उत्तर दिए, “हो, तपाईं झट्टै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउँनु हुनेछ।”
16 तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँच्चो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भन्नुहुन्छ!”
17 यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेंडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।’”
18 तब इस्राएलका राजाले यहोशापातलाई भने, “सुन्नुहोस्, मैले तपाईंलाई भने कि यी अगमवक्ताले कहिले पनि मेरो विषयमा राम्रो कुराहरू भन्दैनन्। उसले मेरो निम्ति विपदको विषयमा मात्र अगमवाणी गर्छ।”
19 तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए। 20 परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे। 21 तब परमप्रभुका आत्मा आए र भने, ‘म उनलाई फसाउने छु।’ परमप्रभुले उत्तर दिनुभयो, ‘तिमीले राजा आहाबलाई कसरी फसाउँछौ?’ 22 र्स्वगदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झूटो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झूटो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फँसाऊ। तिमी सफल हुनेछौ।’”
23 मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तैं कुराहरू भए। परमप्रभुले तिम्रो सबै अगमवक्ताहरूलाई तिम्रो सामु झूटो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिम्रो अघि ठूलो सङ्कट आउँने छ।”
24 तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिर्काए अनि भने, “साँच्चै विश्वास गर्छौ परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसँग बोल्नलाई जानुभयो?”
25 मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”
26 तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्र अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ। 27 तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किन्जेल सम्म उनलाई त्यहीं राख।”
28 तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले मद्वारा बोल्नु भएको होइन। उसले यो पनि भने, ‘मानिसहरू तिमीहरू सबैले सुन!’”
29 तब इस्राएलका र यहोशापात यहूदाका राजा रामोत गिलादमा गए। 30 इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे।
31 त्यहाँ अरामको राजासित 32 वटा रथ र सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो। 32 यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले। 33 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्।
34 तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहार भयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”
35 डरलाग्दो लडाईँ भइरहेको थियो। इस्राएलका राजा आफ्नो रथमा नै रहे। उनी रथको एकतिर ढल्कि रहेका थिए। उसले अरामका सेनाहरूलाई हेरिरहेका थिए। उनको रगत तलतिर बगिरहेको थियो अनि रथको तल्लो भागलाई ढाकिरहेको थिए। त्यही दिन बेलुकी तिर राजाको मृत्यु भयो। 36 सूर्यअस्त भए पछि एउटा आवाजद्वारा इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।
37 यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे। 38 मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।
39 सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए। 40 आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।
यहूदाका राजा यहोशापात
41 आहाब इस्राएलका राजा भएको समयमा चौथो बर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए। 42 जब यहोशापात 35 बर्षका थिए ऊ राजा भएका थिए। उसले यरूशलेममा 25 बर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। 43 यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।
44 तर यहोशापातले अग्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए। 45 यहोशापातले इस्राएलका राजासँग शान्ति सम्झौता गरे। यहोशापात साह्रै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे यहूदाका राजाको इतिहासको पुस्तकमा लेखिएको छन्।
46 यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।
47 यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपालद्वारा शासन गरिएको थियो।
48 राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सुन ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो। 49 अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।
50 यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।
इस्राएलका राजा अहज्याह
51 अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं बर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ बर्ष शासन गरे। 52 अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तैं कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे। 53 अहज्याहले उनका पिता जस्तैं बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।
प्रभुको आगमनको लागि तयार बस
5 अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। 2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। 3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। 5 तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। 6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। 7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। 8 तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।
9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। 10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। 11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।
अन्तिम निर्देशन र अभिवादन्
12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। 13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।
परस्परमा शान्तिपूर्वक बस। 14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। 15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।
16 सधैँ प्रसन्न बस। 17 प्रार्थना गर्न कहिल्यै नछोड। 18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। 20 भविष्यवाणीलाई महत्वहीन नठान। 21 हरेक कुरालाई जाँच र असल जति राख। 22 हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।
23 शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। 24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।
25 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि पनि प्रार्थना गर। 26 जब भेट गर्छौं सबै भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर। 27 प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ। 28 हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमा रहोस्। आमेन।
वृक्षको विषयमा नबूकदनेस्सरको सपना
4 सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेले यो पत्र पठाए।
अभिवादन्:
2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तपाईंहरूलाई भन्न म अति खुशी छु।
3 उहाँका चिन्हहरू महान छन्।
उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्।
उहाँको राज्य सदा-सर्वदा रहिरहने छ।
राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।
4 म, नबूकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ। 5 मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो। 6 यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें। 7 जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्। 8 तब अन्तमा दानियल मेरो अघि आए। (मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो।) यसकारण मैले आफ्नो सपना उसलाई बताएँ। 9 मैले भनें, “बेलतसजर (दानियल) तिमी सबै ज्ञानी मानिसहरू मध्ये सर्व-श्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें। 10 म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिब्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अग्लो रूख देखें, त्यो बृक्ष एकदमै अग्लो देखें। 11 यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो। 12 यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगामा चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।
13 “ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखें। 14 उसले ठूलो स्वरमा कराएर भन्यो, ‘रूखलाई काट! त्यसको हाँगाहरू काट। पातहरू झारिदेऊ। यसको फलहरू चारैतिर छरपस्ट पारिदेऊ। जङ्गली पशुहरू त्यसको छहारी मुनिबाट अनि चराहरू त्यसको हाँगाबाट भागोस्। 15 तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र खर्कमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्। 16 त्यस मानिसको मन बदलिएर पशुहरूको जस्तै होस्। सात काल त्यसमाथि त्यस्तैं बितोस्।’
17 “एकजना पवित्र स्वर्गदूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति नम्र मानिसलाई छान्नु हुन्छ।
18 “नबूकदनेस्सरले भने, मैले देखेको सपना यही हो। म राजा नबूकदनेस्सरले अब तिमी बेलतसजरले (दानियल), सपनाको अर्थ भन कारण मेरो राज्यको कुनै पनि बुद्धिमानी मानिसले यो सपनाको अर्थ व्याख्या गर्न सक्ने छैन। तर बेलतसजर (दानियल) तिमीले यो सपनाको अर्थ व्याख्या गर्न सक्छौ कारण तिमीमा देवताहरूको आत्मा रहेकोछ।”
19 त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”
यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खास यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्। 20-21 जुन रूख तपाईंले देख्नुभयो त्यो रूख ठूलो अनि शक्तिशाली भयो। रूखको टुप्पो आकाश सम्मै पुग्यो। त्यो रूख पृथ्वीको प्रत्येक कुनाबाट देखिन्थ्यो। त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगामा फलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो।
22 “हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।
23 “अब तपाईंले एकजना पवित्र स्वर्गबाट स्वर्गदूत तल झर्दै गरेको देख्नु भयो? त्यसले भन्यो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदेऊ, तर त्यसको ठुटा जरासँगै भूइँमानै छोडिदेऊ जुन तिमीले भूइँमा छोडेको थियौ त्यसलाई फलाम र काँसाको साङ्गलोले बाँध अनि खेतमा घाँसहरूको बीच छोडिदेऊ। आकाशको शीतले भिजोस र त्यसको भाग जङ्गलको पशुहरूसँग होस्। यो हालतमा सात साल बित्नेछ।’
24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ। 25 राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाढा पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोरूले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात बर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।
26 “जरा सहित ठुटोलाई भूइँमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वोच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ। 27 यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”
28 यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो। 29 बाह्र महिना पछि राजा आफ्नो महलको कौसीमा घुमिरहेका थिए। 30 जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”
31 राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ। 32 तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात बर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”
33 फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाँख जस्तो भयो अनि उनको नङ्ग्राहरू चीलका नङ्गा जस्तै लामा लामा भए।
34 तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिएँ मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।
परमेश्वरले सदा-सर्वदा शासन गर्नुहुन्छ!
उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।
35 यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन्
परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ
स्वर्गको शक्ति भन्दा ठूलो कोही पनि छैन।
उहाँले भन्नुहुन्छ, “स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन।
उहाँको सशक्त हातले जे गर्छ,
यसमाथि कुनै प्रश्न नै उठ्दैन्।”
36 त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ। 37 त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सधैँ न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहंकारीहरूलाई नम्रता प्रदान गर्ने क्षमता छ।
दाऊदको एउटा स्तुतिगीत।
1 हे परमेश्वर, म आत्मा र हृदय सहित
स्तुति-गीतहरू गाउँन तयार छु।
हे मेरो आत्मा, तँ उठ!
2 साङ्गीतहरू वीणाहरू उठ!
अनि अरूहरूलाई उठाऊ!
3 हे परमेश्वर, हामी तपाईंलाई
जातिहरू माझ गुण-गान गर्नेछौ।
4 परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ।
तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
5 हे परमेश्वर, आकाशभन्दा पनि माथि उठ्नुहोस्!
सारा संसारले तपाईंको महिमालाई देखोस्।
6 हे परमेश्वर, आफ्ना मित्रहरू बँचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस।
अनि तपाईंको महान् शक्ति बँचाउनलाई प्रयोग गर्नुहोस्।
7 परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः
“म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु!
म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु।
शेकेम तिनीहरूलाई दिनेछु।
म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु।
8 गिलाद र मनस्से मेरो हुनेछ।
एप्रैम मेरो शिरकवज हुनेछ,
यहूदा मेरो राजदण्ड हुनेछ।
9 मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ,
एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ,
म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”
10-11 तर तपाईंले हामीलाई त्यागेर जानु भयो!
तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो?
कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
12 हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्।
मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
13 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु!
मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला!
2 दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्।
तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।
3 मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्।
मानिसहरूले विनाकारण ममाथि आक्रमण गर्दछन्।
4 मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें।
यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु।
5 मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें।
तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें।
म तिनीहरूलाई प्रेम गर्छु
तर तिनीहरूले मलाई घृणा गर्छन्।
6 मेरो शत्रुलाई उसको कु-कार्यका लागि दण्ड दिनुहोस्।
उनीहरू गल्ती हुन् भनी प्रमाणित गर्ने मानिस खोज्नु होस्।
7 न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस्,
अनि उसलाई दोषी प्रमाण गरोस्।
मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्।
8 मेरो शत्रु चाँडै मरोस्।
अर्को कसैले उसको स्थान पाओस्।
9 मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन्,
र तिनका पत्नी विधवा होऊन्।
10 तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस्
र तिनीहरू भिखारी भई जाऊन्।
11 मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्।
परदेशीहरूले उसले गर्ने सबै कामहरू लैजाऊन्।
12 भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्।
भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्।
13 मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्।
अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
14 भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ।
अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्।
15 भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन।
अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
16 किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन।
त्यसले कसैलाई प्रेम गरेन,
त्यसले दीन-दुःखीको जीवन कठिन र असहाय बनाई दियो।
17 त्यस दुष्ट मानिसले अरूकोलागि
नराम्रो होस् भन्ने इच्छा गर्यो अनि सराप्यो।
त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन।
यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।
18 सराप नै उसले लाउने लुगाहरू होस्।
सराप नै त्यसको पिउने पानी बनियोस्।
त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै
सराप होस्।
19 सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्।
सराप नै उसको कम्मरमा बाँधिने पेटी होस्।
20 भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ।
भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू,
जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।
21 हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस्,
जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु।
तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।
22 म खाली गरीब, असहाय मानिस हुँ।
म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।
23 म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो,
दिनको अन्तिम प्रहारको लामो छाँयाँ जस्तो।
म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।
24 मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु।
मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।
25 दुष्ट मानिसहरूले मलाई अपमान गरे।
तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।
26 हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्!
तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बँचाउनु होस्!
27 तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो।
तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो।
28 ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ।
तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्।
तब, तपाईं को दास, म खुशी हुनेछु।
29 मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्!
तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
30 म परमप्रभुलाई धन्यवाद दिन्छु।
म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
31 परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ,
परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ,
जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।
© 2004, 2010 Bible League International