M’Cheyne Bible Reading Plan
नाबोतको दाखबारी
21 राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो। 2 उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”
3 नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोकुन् म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।”
4 यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।
5 आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”
6 आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”
7 ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”
8 तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे। 9 पत्र यस्तो लेखिएको थियो।
“घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ। 10 केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।”
11 यसकारण बूढा-प्रधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तैं गरे। 12 अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे। 13 तब दुइ जना बेइमान मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबेतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे। 14 तिनीहरूले ईजेबेललाई एउटा खबर पठाए। खबर थियोः “नाबोत ढुङ्गाले हानेर मारियो।”
15 जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “यिज्रेलीबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेच्न इन्कार गरेका थिए उ मर्यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।” 16 जब आहाबले भनेको नाबोत मर्यो। सुन्यो ऊ नाबोतको दाखबरीम गयो जुन दाखबारी यिज्रेलीबाट पाएको थियो अनि त्यसको मालिक बनियो।
17 त्यस समयमा परमप्रभुले एलियासँग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।) 18 “इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ। 19 आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।’”
20 यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्यौ।”
एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो। 21 यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू। 22 म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।’ 23 अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।’ 24 अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, ‘तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।’”
25 तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्। 26 आहाबले बेकामे मूर्तिहरू पूजेर नराम्रो पाप गरे। यो आम्मोरीहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिनीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।
27 जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।
28 परमप्रभुले अगमवक्ता जो तिस्बीबाट आएका थिए एलियालाई भन्नुभयो, 29 “के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैंलाई मेरो अघि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदिन। उसको छोरा राजा नहुन्जेलसम्म म पर्खिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।”
परमेश्वरलाई प्रसन्न पार्ने जीवन
4 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। 2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। 3 परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। 4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। 5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। 6 यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। 7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। 8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
9 ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। 10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।
11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। 12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।
प्रभु आउनु हुँदैछ
13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। 16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको[a] स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। 17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं। 18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।
सुनको मूर्ति र तातो भट्टी
3 राजा नबूकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौंडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे। 2 तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।
3 ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए। 4 त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ। 5 जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ। 6 यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”
7 यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।
8 यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले। 9 तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ। 10 महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ। 11 अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। 12 यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।”
13 यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए। 14 नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ? 15 अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”
16 शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं। 17 यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ। 18 तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”
19 यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। 20 त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।
21 सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए। 22 रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। 23 ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।
24 त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?”
तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”
25 तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”
26 त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।”
त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए। 27 प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि जलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।
28 त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन् जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो। 29 अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।” 30 त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए।
पाँचौं भाग
(भजनसंग्रह 107–150)
1 परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
उहाँको प्रेम सधैँ रहन्छ।
2 यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो,
प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
3 परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो।
उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो।
4 तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए।
तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए।
तर तिनीहरूले कुनै शहर भेट्टाएनन्।
5 तिनीहरू भोका र प्यासा थिए
अनि कमजोर हुँदै गइरहेका थिए।
6 त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो।
7 परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो,
जहाँ तिमीहरू बस्न पाउँथे।
8 उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ।
9 परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो।
परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।
10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए।
11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए।
तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
12 परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा
उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो।
तिनीहरू ठेस लागेर लडे
अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
13 ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो।
यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे
अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो।
14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो,
परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।
17 कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।
उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे।
18 ती मानिसहरूले खान पनि रूचाउँदैनन्
अनि तिनीहरू प्रायः मर्छन्।
19 तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे
र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो।
20 परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए।
यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
21 परमप्रभुको अनन्त प्रेम
अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको
आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
22 उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर
अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर।
खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
23 कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे।
तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
24 ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे।
तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।
25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
छालहरू उच्च भन्दा उच्च हुँदै गए।
26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
अनि गहिरो समुद्रमा झारिदिए।
तूफान एकदम भयङ्कर थियो ती मानिसहरूको साहस हराएर गयो।
27 तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए,
माझीको रूपमा तिनीहरूको कुशलता बेकार भयो।
28 तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो।
29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
अनि छालहरूलाई शान्त पार्नुभयो।
30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
32 महासभामा परमेश्वरको प्रशंसा गर।
बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।
33 परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्त्तन गर्नुभयो।
परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
34 परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो।
किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए।
35 परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो।
परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
36 परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो।
अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
37 ती मानिसहरूले त्यस धर्तीमा बिऊ छरे,
र तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे।
अनि तिनीहरूले असल बाली पाउन सके।
38 परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो।
तिनीहरूका सन्तानहरू बढे।
तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
39 घोर विपत्ति र सङ्कटहरूले गर्दा
तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
40 परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो।
उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिँड्ने बनाउनु भयो जहाँ कुनै बाटो छैन।
41 त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो।
अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए।
42 असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन्
तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।
43 यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ।
परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।
© 2004, 2010 Bible League International