M’Cheyne Bible Reading Plan
बेन-हदद र आहाब लडाईंमा जान्छन्
20 बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्रमण गरे अनि त्यसको विरोधमा लडाईं गरे। 2 राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए। 3 संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।’”
4 इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”
5 तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै सुन, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ। 6 भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।’”
7 यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद सङ्कट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”
8 तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”
9 यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।”
राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए। 10 तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”
11 राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”
12 राजा बेन-हदद अरू शासकहरूसँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।
13 त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।’”
14 आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?”
अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।’”
तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?”
अगमवक्ताले उत्तर दिए, “तपाईंले।”
15 यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।
16 राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो। 17 तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए। 18 यसकारण बेन-हददले भने, “तिनीहरू लडाईँ गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्र।”
19 राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुशरण गरिरहेका थिए। 20 तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे। 21 राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।
22 तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउँदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”
बेन-हदद फेरि आक्रामण गर्छन्
23 राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू त पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरूसँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं। 24 तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्। 25 अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।
26 यसकारण बेन-हददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।
27 इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।
28 परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।’”
29 सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे। 30 बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके। 31 उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”
32 तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।’”
आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”
33 बेन-हददका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाइ हुन्।”
आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।
34 बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।”
आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।
एउटा अगमवक्ता आहाबको विरूद्धमा बोल्छन्
35 एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्। 36 यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।
37 पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!”
त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो। 38 यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले। 39 जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’ 40 तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।”
इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”
41 तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए। 42 तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैले भनेथें त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!’”
43 तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।
3 1-2 हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं। 3 हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्। 4 जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो। 5 त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यार्थ भयो।
6 तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। 7 यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। 8 तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।
9 तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। 10 हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।
11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। 12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। 13 तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।
नबूकदनेस्सरको सपना
2 आफ्नो शासनकालको दोस्रो बर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्। 2 राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।
3 त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?”
4 त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन्! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”
5 यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिम्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु। 6 तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू र आदर प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”
7 ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।”
8 राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ। 9 जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।”
10 कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन। 11 राजाले केही कुरा सोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन्। तर देवताहरू मानिसहरूसित बस्दैनन्।”
12 जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई नष्ट गरिनु पर्ने आदेश दिए। 13 यसकारण राजा नबूदकनेस्सरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।
14 अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे। 15 दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?”
उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे। 16 जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।
17 त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए। 18 दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन् अनि यो रहस्य बुझ्नमा सहायता गरून् जसबाट बाबेलको दोस्रो बुद्धिमानी पुरूषहरूसँग दानियल र उसका साथीहरू नमारिउन्।
19 रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि दानियलले स्वर्गका परमेश्वरको स्तुति गरे। 20 दानियलले भने,
“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर!
शक्ति र ज्ञान उहाँमा हुन्छ।
21 उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ,
उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ।
उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ।
उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ,
र उहाँले नै खोस्नुहुन्छ।
उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन्,
उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ,
अनि मानिसहरू ज्ञानी हुन्छन्।
22 उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ।
उहाँले जान्नु हुन्छ अन्धकारमा के छ?
अनि ज्योति उहाँसँगै छ।
23 हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु,
अनि तपाईंको गुणगान गाउँछु।
तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो।
जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो।
तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”
दानियलले सपनाको अर्थ खोलिदिन्छन्
24 त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मार्नु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।”
25 अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”
26 राजाले दानियललाई (बेलतसजर) जवाफमा प्रश्न गरे, “के तिमीले साँच्चै मेरो सपनाको अर्थ र त्यसको व्याख्या गर्न सक्छौ?”
27 दानियलले राजालाई उत्तर दिए, “हे राजा नबूकदनेस्सर, कुनै पनि ज्योतिषीहरू बुद्धिमानी मानिस, मंत्र-तंत्र जान्नेहरू अनि कल्दीहरूले राजाको सपनाको गुप्त कुराहरू बताउँन सकेनन्। 28 तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओछ्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो होः 29 हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो। 30 परमेश्वरले यो रहस्य मलाई बताउँनु भयो। यो यसकारण भयो कि मेरोमा अरू मानिसहरू भन्दा ज्यादा बुद्धि छ। तर परमेश्वरले मलाई यो भेद यसकारण बताउनु भयो कि राजालाई उसको सपनाको अर्थ थाहा होस्। हे राजा यस्तो प्रकारले, तपाईंको मनमा जुन विचारहरू आउँदैछ त्यसलाई सम्झनु होस्।
31 “हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आकर्षक थियो। यसको रूप डरलाग्दो थियो। 32 त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए। 33 यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए। 34 जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो। 35 त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढ्दै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।
36 “सपना यही थियो। अब म राजालाई त्यसको अर्थ खोलिदिनेछु। 37 हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ। 38 तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।
39 “तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेस्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउँनेछ। 40 त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ!
41 “अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ। 42 अनि खुट्टाको औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन। 43 तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन्।
44 “ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
45 “यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँच्चो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”
46 यसपछि राजा नबूकदनेस्सरले दानियललाई निहुरिएर दण्डवत गरे। राजाले दानियलको प्रशंसा गरे। राजाले आज्ञा दिए कि दानियलको सम्मानमा भेटी स्वरूप सुगन्धित धूप प्रदान गरियोस्। 47 राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”
48 यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए। 49 दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
परमेश्वरको प्रेम अनन्त छ!
2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।
4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्य कामहरूबाट
मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्।
त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू
तपाईंका विरूद्ध उपस्थित भए।
8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।
परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!
परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।
तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।
12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।
तिनीहरूले उहाँप्रति गुण-गान गरे।
13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से।
तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
14 हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए
अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।
तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
16 मानिसहरू मोशादेखि डाह गर्न थाले।
तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो।
धर्ती चिरिएर दातानलाई निलिदियो।
त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
18 तब त्यस भीडको माझमा आगो लाग्यो,
र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर
तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित
घाँस खाने बाछोको मूर्ति साटे।
21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।
जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो,
तिनीहरूले उहाँको बारेमा भुलिदिए।
22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।
परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!
23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।
तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके।
परमेश्वर अत्यन्त रिसाउनु भयो,
तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे।
यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
24 तर ती मानिसहरूले कनान भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए।
तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न
परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
25 हाम्रा पिता-पुर्खाहरूले
परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!
26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे।
यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरुभूमिमा मर्नेछन्।
27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो
परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।
28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए।
परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरू[a] का नाउँमा चढाएका बलिहरू खाए।
29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयङ्कर रूपमा क्रोधित भए
अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।
30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे।
अनि त्यो हैंजा रोकियो।
31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो।
परमेश्वरले उसलाई सदा-सर्वदा सम्झनु हुने छ।
32 मरीबामा मानिसहरूले परमेश्वरलाई क्रोधित बनाए।
अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
33 ती मानिसहरूले मोशालाई दुःखीत गराए।
नसोचिकन मोशा बोले।
34 परमप्रभुले अन्य जातिहरूलाई नष्ट पार्न मानिसहरूलाई आज्ञा दिनु भयो।
तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
35 तिनीहरू अरू जातिहरूसँग मिसिए,
अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए।
उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।
37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे,
अनि त्यो भूतहरूलाई बलि चढाए।
38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे।
तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे
अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।
39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए।
उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन्,
अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो।
उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!
41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो।
शत्रुहरूले नै उनीहरूमा राज गरोस्-भनेर उहाँले छोडी दिनुभयो।
42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे
अनि तिनीहरूको जीवन कठिन पारिदिए।
43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बँचाइदिनु भयो।
तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे।
तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
44 तर जब-जब परमेश्वरका मानिसहरूमा सङ्कट आई पर्यो,
तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे,
अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
45 परमेश्वरले आफ्ना करार सधैँ याद गर्नुहुन्थ्यो
र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे
तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्।
परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो।
यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं।
यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।
परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ।
अनि सारा मानिसहरूले भने, “आमेन!”
परमप्रभुको प्रशंसा गर!
© 2004, 2010 Bible League International