M’Cheyne Bible Reading Plan
सीनै पर्वतमाथि एलिया
19 राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए। 2 यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”
3 जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोडे। 4 त्यसपछि एलिया दिनभरि नै मरुभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।”
5 तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!” 6 एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते!
7 त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ।” 8 यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुन्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए। 9 त्यहाँ एलिया एउटा ओढारमा गए अनि रातभरि बसे। तब परमप्रभु एलियासँग बोल्नु भयो।
परमप्रभुले भन्नुभयो, “एलिया, तिमी किन यहाँ छौ?”
10 एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैँ मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।”
11 तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूईंचालो शुरू भयो तर त्यो भूईंचालोमा पनि परमप्रभु हुनुहुन्न थियो। 12 भूईंचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए।
13 जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”
14 एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैँ तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।”
15 परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरुभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर। 16 तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्। 17 हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्। 18 म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्बन गरेको छैनन्।”
एलीशा एक अगमवक्ता बनिन्छन्
19 यसकारण एलियाले त्यो ठाउँ छोडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए। 20 तत्कालै एलीशाले गोरूहरू छोडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुशरण गर्नेछु।”
एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिनँ।”[a]
21 तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोग दाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुशरण गर्न थाले। एलीशा एलियाका सहायका बने।
थिस्सलोनिकीमा पावलको काम
2 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन। 2 हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो। 3 हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन। 4 होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।
5 तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँच्चो हो। 6 हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।
7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्। 8 हामीले तिमीहरूलाई धेरैमाय गर्यौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाँड्न चाहेका छौं। 9 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ। 11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्यौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्। 12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ।
13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं। 14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदियामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदियामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं। 15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्। 16 तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपार्दै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।
तिनीहरूलाई फेरि भेट्ने पावलको इच्छा
17 हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ। 18 हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँच्चो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैँ बाधा पुर्यायो। 19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। 20 तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।
दानियललाई बाबेलमा लगियो
1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो बर्षमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे। 2 परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।
3 त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने। 4 ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे।
5 राजा नबूदकनेसरले आफ्नो भोजन र मदको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई तीन बर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए। 6 यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।
7 अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।
8 तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे।
9 परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो। 10 नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।”
11 त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे। 12 दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ। 13 त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफैं निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।”
14 उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। 15 दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे। 16 त्यसपछि त्यो कारिन्दाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे।
17 परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हरेक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।
18 त्यस अवधिको अन्तमा राजाको आदेश अनुसार नपुंसकहरूका अगुवाले तिनीहरूलाई राजा नबूकदनेस्सर अघि उपस्थित गराए। 19 राजाले सबै मानिसहरूको अन्तवार्ता लिए तर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए। 20 राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्। 21 दानियलले कोरेसको शासन कालको पहिलो बर्ष सम्म राजाको सेवा गरिरहे।
1 परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर।
सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
2 परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ।
3 परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ।
4 बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
सहायताको लागि सधैँ उहाँकोमा जाऊ।
5 याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
6 तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ।
तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
7 परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
8 परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर।
याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
9 परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो।
परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो,
यो सदा-सर्वदा रहिरहने छ।
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”
12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो।
जब अब्राहामका परिवारहरू स-साना थिए।
तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
13 तिनीहरू एक जातिदेखि अर्को जाति,
एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे।
14 तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन।
परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।
15 परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ।
मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।”
16 परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो।
मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
17 तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो।
यूसुफ एक कमारा सरह बेचियो।
18 तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे।
तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
19 उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहुन्जेल सम्म तिनी दास सरह नै भए।
परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।
20 यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिएँ।
राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिएँ।
21 उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए,
यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।
22 यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए।
यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।
23 तब इस्राएल मिश्र तर्फ आए,
याकूब हामको देशमा बसे।
24 याकूबको परिवार अत्यन्त बढेर गयो।
तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।
25 यसकारण मिश्रीहरूले याकूबको परिवारलाई हेला गर्न थाले।
तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।
26 यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो,
अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।
27 परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा
हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
28 परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो
तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
29 यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो,
अनि त्यहाँका सारा माछाहरू मरे।
30 तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो।
राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।
31 परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले।
तिनीहरू चारैतिर फैलिएर गए।
32 परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो।
बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो।
33 परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो।
परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।
34 परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले।
तिनीहरू अनगन्ति थिए।
35 सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए।
तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।
36 त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो।
परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो।
अनि त्यहाँबाट भल-भल पानी निस्क्यो।
मरुभूमिमा नदी बग्न थाल्यो।
42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।
यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।
परमप्रभुको प्रशंसा गर!
© 2004, 2010 Bible League International