M’Cheyne Bible Reading Plan
एलिया र बालका अगमवक्ताहरू
18 खडेरी परेको तेस्रो बर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेट गर। म साँच्चै पानी पठाउने छु।” 2 यस कारण एलिया आहाब सँग भेंट गर्न गए।
त्यस समयमा सामरियामा खाद्य थिएन। 3 यसकारण राजा आहाबले ओबद्यालाई आफ्नो समक्ष बोलाए। ओबद्या राजाको महलको दायित्वमा थिए। (ओबद्या परमप्रभुको साँचो भक्त थिए।) 4 एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए। 5 राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौं। हुनुसक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौं। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।” 6 प्रत्येक मानिसले देशको एउटा अंश छाने जहाँ तिनीहरू पानी खोज्न जाने छन्। तब दुइ जना मानिसहरूले सम्पूर्ण देश भ्रमण गरे। आहाब एउटा दिशातिर एक्लै हिंडे। ओबद्या अर्को दिशातिर एक्लै हिंडे। 7 ओबद्या भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबद्याले एलियालाई चिने जब उनले उनलाई देखे। ओबद्याले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया! के तिमी साँच्चै मालिक हौ?”
8 एलियाले उत्तर दिए, “हो म नै हुँ। जाऊ अनि आफ्नो मालिक राजालाई भन, म यहाँ छु।”
9 तब ओबद्याले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौ बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन! तिमी किन मलाई मार्न चाहन्छौ? 10 परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन्! उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए। 11 अहिले तपाईं चहानुहुन्छ म त्यहाँ जाऊँ अनि उसलाई तपाईं यहाँ हुनुहुन्छ भनी बताऊँ। 12 यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्! जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुशरण गरें। 13 तिमीले थाह पायौ मैले के गरें! ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्को ओढारमा राखें। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ। 14 अहिले तपाईं चाहानुहुन्छ म त्यहाँ गएर तपाईं यहाँ हुनुहुन्छ भनी भन्दा राजाले मलाई मार्नेछन्!”
15 एलियाले उत्तर दिए, “परमप्रभु सर्व-शक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”
16 यसकारण ओबद्या राजा आहाब कहाँ गए। उनले एलिया कहाँछन् भनी उनलाई बताए। राजा आहाब एलियालाई भेट्न गए।
17 जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा सङ्कट सृष्टि गरेको छ?”
18 तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा सङ्कट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो सङ्कट सृष्टि गरेको हुन्। तपाईंले सङ्कट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुशरण गर्नुभयो। 19 अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशेराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी इजेबेलले ती अगमवक्ताहरूको समर्थन गर्छिन्।”
20 यसकारण आहाबले सबै इस्राएलीहरू र अगमवक्ताहरूलाई कर्मेल डाँडामा बोलाए। 21 एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुशरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुशरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुशरण गर!”
मानिसहरूले केही बोलेनन्। 22 एलियाले भने, “म परमप्रभुको एक मात्र अगमवक्ता हुँ! यहाँ म एक्लै छु। तर यहाँ बालका 450 जना अगमवक्ताहरू छन्। 23 यसकारण दुइवटा साँढे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा साँढे लिऊन्। तिनीहरूले त्यसलाई मारून् र काटेर टुक्रा-टुक्रा पारून्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखून्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को साँढेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गर्दिन। 24 बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।”
सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।
25 तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”
26 यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!” तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।
27 दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्! अथवा हुन सक्छ उनी भ्रमण गर्दैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!” 28 अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन। 29 मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।
30 तब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भत्किएको थियो। यसकारण एलियाले ठीक पारे। 31 एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउँ दिनुभयोको थियो। 32 एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोग गरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौंडा र गहिरो थियो। 33 तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे। 34 तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।” 35 पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो।
36 यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो। 37 मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”
38 यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो। 39 सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”
40 तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्र। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।
पानी फेरि पर्छ
41 तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।” 42 यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे। 43 तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।”
सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो। 44 सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।”
एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”
45 केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे। 46 परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।
1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ।
परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।
थिस्सलोनिकीहरूको जीवन र विश्वास
2 प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। 3 तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। 5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित[a] अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। 6 अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो।
7 म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। 8 तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। 9 हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्। 10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।
इस्राएलको परिवार समूहहरूको निम्ति भूमि
48 1-7 “उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नप्ताली, मनश्शे, एप्रैम, रूबेन र यहूदा।
भूमिको विशेष भाग
8 “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौंडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ। 9 तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौंडा हुनेछ। 10 भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।
“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन्। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौंडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ। 11 यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्। 12 यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो।
13 “पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौंडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौंडाई क्रमशः 25,000 हात लामो अनि 10,000 हात चौंडा हुनेछ। 14 लेवीहरूले यो भूमिको कुनै पनि भाग बेच बिखन गर्न पाउनें छैनन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार पाउनें छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष भूमि हो। यो भूमिको सर्वोत्तम भाग हो।
शहर सम्पत्तिको लागि भाग
15 “भूमिको एक क्षेत्र 5,000 हात चौंडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको प्रयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ। 16 शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ। 17 शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ। 18 पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ। 19 शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्।
20 “यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।
21-22 “यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ। शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यहूदाको भूमिको बीचको भूमि पाउँछ।
23-27 “विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्। प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ, जुन पूर्वी सीमानाबाट महा-सागर सम्म गएको छ। उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन, शिमोन, इस्साकार, जबूलून अनि गाद।
28 “गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा-सागर सम्म पुग्छ। 29 अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँड्नेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो।
शहरको मूल-ढोका
30 “यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ।
“उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ। 31 त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका।
32 “पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यूसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका।
33 “दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जवूलूनको मूल-ढोका।
34 “पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका।
35 “चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”
1 हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर।
हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
2 तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्।
तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
3 परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो।
तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो,
अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढ्नुभयो।
4 परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता
अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै[a] बनाउनु भयो।
5 हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,
यसैले यो ध्वंश हुने छैन।
6 तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो।
पानीले पर्वतहरू छोपीए।
7 तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो।
परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
8 पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खाडीहरूमा झर्दै,
र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
9 तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो
ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।
10 हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो।
यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
11 नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो
अनि यहाँसम्म कि जंङ्गली गधाहरू पनि यहाँ पानी पिउन आउँछन्।
12 जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्।
तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
13 परमेश्वरले बर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ।
चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
14 परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो।
उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो।
जसलाई हामी हुर्काउने काम गछौं।
ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
15 परमेश्वरले हामीलाई दाखरस दिनुहुन्छ, जसले हामीलाई खुशी तुल्याउँछ,
तेल जसले हाम्रो छाला नरम पार्दछ,
अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।
16 लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्।
परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
17 चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्।
सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।
18 उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्।
विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।
19 परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो।
अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
20 तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई,
त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
21 सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन
जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
22 त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ
अनि विश्राम गर्दछन्।
23 तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन्
अनि साँझ सम्म काम गरि रहन्छन्।
24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
लिब्यातान समुद्रमा खेल्छ।
महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।
27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
म परमप्रभुसित खुशी छु।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।
दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।
मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
परमप्रभुको प्रशंसा गर!
© 2004, 2010 Bible League International