Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 16

16 तब परमप्रभुले हनानीका छोरा येहू सित बोल्नु भयो। परमप्रभु राजा बाशाको विरोधमा बोल्दै हुनुहुन्थ्यो। “बाशा, मैले तिमीलाई धूलोबाट माथि उठाएँ अनि मैले तिमीलाई मेरो इस्राएलका मानिसहरूको राजकुमार बनाएँ। तर तिमीले यारोबामको बाटो पहिल्यायौ। तिमीले मेरा इस्राएली मानिसहरूलाई पाप गर्न लगायौ। तिमीहरूले आफ्नो पापद्वारा मलाई रीस उठायौ। यसकारण नै म तिमी, बाशा र तिम्रो परिवारलाई नष्ट पार्नेछु। म तिमी सित त्यस्तैं व्यवहार गर्नेछु जस्तो मैले नबानतका छोरा यारोबामको परिवार सित गरेको थिएँ। तिम्रो परिवारका मानिसहरू शहरका बाटोहरूमा मर्नेछन्। अनि कुकुरहरूले तिनीहरूको लाश खानेछन्। तिम्रो परिवारका केही मानिसहरू चऊरमा मर्नेछन् अनि तिनीहरूको लाशलाई चराहरूले खानेछन्।”

बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण इस्राएलका राजाहरूको इतिहासको पुस्ताकमा लेखिएको छ। बाशा मरे अनि उनलाई तिर्सामा गाडियो। उनका छोरा एला उनीपछि नयाँ राजा भए।

यसकारण परमप्रभुले हनानीका छोरो येहू अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरूद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै नराम्रो काम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्‌यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु साह्रै नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।

इस्राएलका राजा एला

आसा यहूदाका राजा भएको छब्बीसौं बर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ बर्ष शासन गरे।

राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्‌यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो। 10 जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयको सत्ताइसौं बर्षमा यस्तो घट्ना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए।

इस्राएलका राजा जिम्री

11 जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे। 12 यसकारण जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येहू मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो। 13 बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए।

14 अरू कामहरू, जे एलाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

15 आसा यहूदाका राजा भएको सत्ताइसौं बर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए। 16 शिविरमा मानिसहरूले सुने, जिम्रीले राजाको विरोधमा गोप्य षड्‌यन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओम्रीलाई इस्राएलको राजा बनाए। ओम्री सेनाका सेनापति थिए। 17 यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोडे अनि तिर्सामाथि आक्रामण गरे। 18 जब जिम्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए। 19 यसकारण जिम्री मरे किनभने उनले पाप गरेका थिए। जिम्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए।

20 जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

ओम्री इस्राएलका राजा

21 इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुशरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुशरण गरे। 22 तर ओम्रीका अनुशरण कर्त्ताहरू गीनतको छोरो तिब्नीका अनुशरण कर्त्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए।

23 आसा यहूदाको राजा भएको समयको एकतीसौं बर्षमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 बर्ष शासन गरे। 12 बर्षहरू मध्ये छः बर्ष उनले तिर्सा शहरमा शासन गरे। 24 तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।

25 ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए। 26 उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे।

27 ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 28 ओम्री मरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए।

इस्राएलका राजा आहाब

29 आसा यहूदाका राजा भएको समयमा अठतीसौं बर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 बर्ष इस्राएलमा शासन गरे। 30 आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए। 31 आहाबका लागि त्यही पापको काम गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे। 32 आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए। 33 आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।

34 आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी नूनको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।

कलस्सी 3

ख्रीष्टमा तिम्रो नयाँ जीवन

जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ। स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ। ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो। यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।[a] अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ।

तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। 10 अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ। 11 यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमारा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।

एक-अर्कामा तिमीहरूको नँया जीवन

12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन। 13 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। 14 यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो। 15 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा[b] बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।

16 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। 17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

अरूसित तिम्रो नयाँ जीवन

18 पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।

19 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।

20 बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।

21 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्।

22 सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरू प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ। 23 काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन। 24 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ। 25 याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

इजकिएल 46

शासक अनि उत्सवहरू

46 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ। शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सङ्घारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन। देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन।

“शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेंडा़ दिनुपर्छ। उसले एक एपा अन्नबलि भेंडा़सँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेंडा़सँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।

“औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छ वटा थुमा अनि एउटा भेंडा़ अनि खोटरहित एउटा भेंडा़ भेटी दिन्छ। शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे, भेंडा़सँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ।

“शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।

“जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ। 10 जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।

11 “उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेंडा़सँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।

12 “जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमा[a] जस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।

प्रत्येक दिनको भेटीहरू

13 “तिमीले एक बर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ। 14 तिमीले प्रत्येक बिहान भेंडा़सँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाईं भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ। 15 यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”

शासकका निम्ति उत्तराधिकारीको नियमहरू

16 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो। 17 तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ। 18 अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”

विशेष भान्सा-घर

19 त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें। 20 त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन्। कारण तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”

21 त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो। 22 चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौंडाको थियो। चारै कुनाको नाप बराबर थियो। 23 भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए। 24 त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”

भजनसंग्रह 102

पीडित मानिसको भजन। ऊ पीडित भएर, परमप्रभुलाई दुःख पोख्छ।

हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।
    सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्।
जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्।
    जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु,
    मलाई झट्टै जवाफ दिनुहोस्।
मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ।
    मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
मेरो शक्ति क्षीण हुँदै गईसक्यो
    म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु।
    मैले खान समेत भूली सकेको छु।
आफ्नो उदासीनताको कारणले गर्दा,
    मेरो ओजन घटिरहेछ।
म मरुभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।
    भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।
म सुत्न सक्दिनँ।
    म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।
    तिनीहरूले मलाई खिसी गरे अनि सरापे।
मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।
    मेरो आँसु मेरो पिउने बस्तु हो।
10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,
    परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो।

11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।
    म सुख्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
    तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
    तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,
    तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्।
    परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
    मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख
    अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।
    परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।
    उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।
    तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
22 जातिहरू परस्परमा भेला हुनेछन्।
    राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।

23 मेरो बलले मलाई नै असफल तुल्यायो।
    मेरो जीवन छोटो भएर घट्‌यो।
24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।
    परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
25 धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।
    तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।
    तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्,
अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ।
    तिनीहरू सबै परिवर्तन हुनेछन्।
27 तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न।
    तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ।
28 हामी आज तपाईंका दासहरू हौं।
हाम्रा नानीहरू यहाँ छन्।
    अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International