M’Cheyne Bible Reading Plan
यारोबामको छोरा को मृत्यु
14 त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो। 2 यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्। 3 अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”
4 यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए। 5 तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?
यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्। 6 अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्। 7 फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ। 8 दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैँ नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुशरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें। 9 तर तिम्रा पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिम्रो आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायौ अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्राधित बनायौ, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ। 10 यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु। 11 शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।’”
12 तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ। 13 सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ। 14 परमेश्वरले इस्राएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोबामको परिवारलाई नष्ट पार्नेछ। यो घट्ना चाँडै नै हुनेछ। 15 तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे। 16 यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”
17 यारोबामकी पत्नी तिर्सा शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो। 18 सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।
19 राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 20 यारोबामले 22 बर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।
21 त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 बर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 बर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमाको नाउँ नामा थियो। उनी अम्मोनी स्त्री थिइन्।
22 यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईर्ष्यँलु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे। 23 मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए। 24 त्यस भूमिमा पुरूष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेद्नु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तैं नै नराम्रो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।
25 रहबामको शासनकालको पाँचौ बर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रामण गरे। 26 शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढुकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए। 27 यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए। 28 हरेक समय राजा परमप्रभुको मन्दिरमा जाँदा रक्षकहरू उनीसँग जाने गर्दथे। तिनीहरू ढाल बोक्नेगर्दथे। जब तिनीहरू काम पूरा गरिसक्थे, रक्षक कक्षको भित्तामा ढालहरू राख्नेगर्दथे।
29 राजा रहबामले जे कामहरू गरे त्यो सबै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लिखित छ। 30 रहबाम र यारोबाम सधैँ नै एका अर्कासँग युद्ध गरिरहन्थे।
31 रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरूसँगै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। (उनकी आमा नामा थिइन्। तिनी एक जना अम्मोनी थिइन्।) रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।
1 ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।
2 कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई।
तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।
3 जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन्, सधैँ धन्यवाद चढाउँछौ। 4 हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं। 5 तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरूले आशा गरेको कुरो तिमीहरूका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरू जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ। 6 संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ। 7 परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्। 8 पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।
9 तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौं। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:
परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस्, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। 10 तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ। 11 तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ।
तब तिमीहरू खुशी हुन सक्छौ। 12 अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो। 13 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। 14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ।
जब हामी ख्रीष्टलाई हेर्दछौ, हामी उहाँमा परमेश्वर पाँउछौ
15 परमेश्वरलाई कसैले देख्न सक्दैन।
तर परमेश्वर हुबहु येशू हुनुहुन्छ।
सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।
16 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ।
स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू,
सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू,
यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।
17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो।
अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।
18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
अनि उहाँ प्रभु[a] हुनुहुन्छ,
जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।
19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
20 अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग
अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने।
क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ। 22 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। 23 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।
मण्डलीको लागि पावलको काम
24 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। 25 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। 26 यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। 27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ। 28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं। 29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।
बाहिरी मूल-ढोका
44 त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौं अनि बाहिरी मूल-ढोका बन्द थियो। 2 परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ। 3 मानिसहरूको शासक परमप्रभुसित भोजन गर्नेछन् यो द्वारमा बस्नेछन्। तिनी मूल-ढोकामा दलानको द्वारबाट प्रवेश गर्छन अनि त्यही बाटोबाट बाहिर जान्छन्।”
मन्दिरको पवित्रता
4 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें। 5 परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, धेरै सावधानीसित हेर। तिम्रो आँखा अनि कानको प्रयोग गर। यी चीजहरू तिर हेर। म तिमीलाई मन्दिरको विषयमा सबै नियम र विधिहरू बताउँछु। सावधानी पूर्वक मन्दिरको प्रवेशद्वार अनि पवित्र स्थानबाट सबै निस्कनेद्वारहरू हेर। 6 तब बागी इस्राएलका घरानालाई यो खबर देऊ उनीहरूलाई भन, परमप्रभु मेरो मालिक भन्नुहुन्छ, ‘हे इस्राएलको घराना हो, मैले तिमीहरूले गरेका भयंकर कुराहरू आवश्यकता भन्दा ज्यादा सहें। 7 तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायौ, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन्। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्यौ, भयंकर पाप काम गर्यौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्यौ। 8 तिमीले मेरा पवित्र चीजहरूको हेरचाह गरेनौ। अँहँ, तिमीहरूले विदेशीहरूलाई मेरो पवित्र स्थानको उत्तरदायी बनायौं।’”
9 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउँनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि मप्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ। 10 अतीतमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरूद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुशरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन्। 11 लेवीहरू मेरो पवित्र स्थानको सेवा गर्नका निम्ति छानिएका थिए। तिनीहरूले मन्दिरको मूल-ढोकाको चौकीदारी गरे। तिनीहरूले मन्दिरको सेवा गरे। तिनीहरूले बलिहरू तथा होमबलिहरूको पशुहरू मानिसहरूका निम्ति मारे। तिनीहरू मानिसहरूको सहायता गर्न अनि तिनीहरूको सेवाका निम्ति छानिएका थिए। 12 तर लेवीहरू मेरो विरूद्ध पाप गर्न मानिसहरूलाई सहायता गरे। तिनीहरूले मानिसहरूलाई आफ्नो मूर्तिहरू पूजा गर्न लगाए। यसकारण म तिनीहरू विरूद्ध प्रतिज्ञा गर्दैछु, ‘तिनीहरू आफ्नो पापका निम्ति दण्डदायी हुनेछन्।’” परमप्रभु मेरा मालिकले यो कुराहरू गर्नुभयो।
13 “यसकारण लेवीहरूले बलिहरू मकहाँ पूजाहारीहरूले जस्तो ल्याउदैनन्। तिनीहरू मेरो कुनै पवित्र चीजसँग अथवा महा-पवित्र वस्तुको छेउमा जाँदैनन्। तिनीहरूले तिनीहरूको लाज बोक्नु पर्छ किनभने तिनीहरूले डरलाग्दा कामहरू गरेकाछन्। 14 तर म तिनीहरूलाई मन्दिर हेरचाह गर्ने काम दिनेछु। तिनीहरूले मन्दिरको काम गर्नेछन् अनि ती सबै काम गर्नेछन् जुन यहाँ गरिन्छ।
15 “सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरूद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 16 “तिनीहरू मेरो पवित्रस्थानमा प्रवेश गर्नेछन्। तिनीहरू मेरो टेबलको छेउमा मेरो सेवा गर्न आउँनेछन्। तिनीहरूले ती चीजहरूको हेरचाह गर्नेछन् जुन मैले तिनीहरूलाई दिएँ। 17 जब तिनीहरू भित्री चोकको मूल-ढोकामा प्रवेश गर्नेछन् त्यतिबेला तिनीहरूले बहुमूल्य लुगा लगाउनेछन्। जब तिनीहरू चोकको मूल-ढोकाभित्र मन्दिरको सेवा गर्छन, त्यस बेला तिनीहरूले ऊनीको लुगा लगाउँछन्। 18 तिनीहरूले टाउकोमा सूतीको फेटा लगाउनेछन् अनि कम्मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले त्यस्तो लुगा लगाउँदैनन् जसबाट पसिना आउँछ। 19 तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।
20 “ती पूजाहारीहरूले आफ्नो शिरको केश खौराउँने छैनन् तर तिनीहरूले केश लामो हुन दिनेछन्। पूजाहारीहरूले आफ्नो शिरको केश छोट्याउँनु मात्र सक्छन्। 21 कुनै पनि पूजाहारीले त्यस समय दाखरस पिउन सक्नेछैनन् जति बेला तिनीहरू भित्री चोकमा जान्छन्। 22 पूजाहारीहरूले विधवा अथवा त्यागेकी स्त्रीसँग विवाह गर्न हुँदैन। तिनीहरूले इस्राएलको वंशका कन्याहरूसँग विवाह गर्नु पर्छ, अथवा त्यस्तो विधवासँग विवाह गर्न सक्छन् जसको पति पूजाहारी थियो।
23 “पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन शुद्ध अनि अशुद्ध छन्, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्। 24 पूजाहारीहरू न्यायलायमा न्यायाधीश हुन्छन्। तिनीहरूले मानिसहरूसँग न्याय गर्दा मेरो नियमहरू अनुशरण गर्छन। तिनीहरू मेरो विशेष व्यवस्थाको समयमा मेरो नियम विधि-विधानहरू पालन गर्नेछन्। तिनीहरूले मेरो विशेष विश्रामको दिनको सम्मान गर्नेछन् अनि त्यसलाई पवित्र राख्नेछन्। 25 तिनीहरू मानिसहरूको लाशहरूको छेउमा जानु हुदैन किनभने यसले तिनीहरूलाई अशुद्ध बनाउँछ। तर ती त्यस बेला आफूलाई अपवित्र गर्न सक्छन् यदि मर्ने मानिस बाबु-आमा, छोरा-छोरी, दाजू-भाइ अथवा अविवाहित दिदी-बहिनी हुन्छन्। 26 शुद्ध गरिए पछि पूजाहारीहरूले सात दिन सम्म प्रतिक्षा गर्नुपर्छ। 27 त्यसपछि यो पवित्र स्थानमा आउँन सक्छन्। तर जुन दिन त्यो भित्री चोकको पवित्र स्थानमा सेवा गर्नु जान्छन् उसले पापबलि आफ्नो निम्ति चढाउनु पर्छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
28 “लेवीहरूको आफ्नो जमीनको विषयमा तिनीहरूको पैतृक सम्पत्ति म नै हुँ। इस्राएलमा लेवीका परिवारलाई कुनै पनि सम्पत्ति दिनुहुँदैन। म नै तिनीहरूको अधिकारी हुनेछु। 29 तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानका निम्ति पाउनेछन्। जे जति इस्राएलका मानिसहरूले परमप्रभुलाई दिन्छ्न, त्यो तिनीहरूको हुनेछ। 30 प्रत्येक तयारी फसलको प्रथम भाग पूजाहारीहरूका निम्ति हुनेछ। तिमीले आफ्नो मुछेको पिठोको प्रथम भाग पनि पूजाहारीहरूलाई दिनु। यसले तिमीहरूको घरानामा आशीर्वाद बर्षाउँने छ। 31 पूजाहारीहरूले त्यो पंक्षी अथवा पशुहरूलाई खानु हुँदैन जसको स्वभाविक मृत्यु भएकोछ अथवा जङ्गली पशुहरूद्वारा टुक्रा-टुक्रा पारिएको हो।
1 परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
2 बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
3 परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ,
अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
4 उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ।
मानिसहरू यसलाई देख्छन् र डराउँछन्।
5 परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्,
सारा पृथ्वीका स्वामीको सामुन्ने।
6 हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन्।
7 मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्।
तर ती मानिसहरू लज्जित हुनेछन्।
तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
8 हे सियोन, सुन अनि खुशी बन!
हे यहूदाका शहरहरू, खुशी होऊ।
किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
9 सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
11 धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी होऊ।
उहाँको पवित्र नाउँको आदर गर।
एउटा प्रशंसाको गीत।
1 परमप्रभु प्रति नयाँ गीत गाऊ
किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
उहाँलाई फेरि विजय तुल्यायो।
2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
प्रशंसाको गीत गाउन प्रारम्भ गर!
5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
6 तुरही र कर्णालहरू बजाऊ,
अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
8 हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
9 परमप्रभुको सम्मुख गाऔं!
किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
© 2004, 2010 Bible League International