M’Cheyne Bible Reading Plan
गृह युद्ध
12 रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए। 2 जब तिनले यो सुने अझ नबातका छोरो यारोबाम मिश्रमा नै थिए। तिनी राजा सुलेमानबाट भागेका थिए र मिश्रमा बसेका थिए। तिनी र सारा इस्राएली समूह रहबाम कहाँ गए अनि भने, राजा सुलेमान मरेपछि उनलाई उनका पूर्खाहरू सित गाडीयो। त्यसपछि उनका छोरा रहबाम नयाँ राजा भए। 3 इस्राएलका सबै मानिसहरू शकेम गए।
तिनीहरू रहबामलाई राजा बनाउन गएका थिए। रहबाम पनि राजा हुनका लागि शकेम गए। मानिसहरूले रहबामलाई भने, 4 “तिम्रा पिताले हामीलाई कठोर परिश्रम गर्न वाध्य गराए। अब यसलाई हाम्रो लगि सजिलो बनाऊ। तिम्रा पिताले हामी माथि लगाएको कठोर कार्य रोक। तब हामी तिम्रो सेवा गर्नेछौं।”
5 रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए।
6 केही बूढापाका मानिसहरू थिए जसले सुलेमानलाई जिउँदो रहदा निर्णय लिनुमा सघाएका थिए। यसैकारण राजा रहबामले ती मानिसहरूलाई उनले के गर्नुपर्छ भनी सोधे। उनले भने, “ती मानिसहरूलाई म के उत्तर दिनेछु यस बारेमा तिमीहरू के सोच्छौ?”
7 ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग ईमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”
8 तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए। 9 रहबामले भने, “मानिसहरूले भने, ‘तिम्रा पिताले हामीलाइ दिएको काम भन्दा सजिलो काम देऊ।’ यी मानिसहरूलाई के उत्तर दिनु हो यस बारे के भन्छौ? तिनीहरूलाई मैले के बताउनु पर्ने हो?”
10 राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ। 11 मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।’”
12 रहबामले मानिसहरूलाई बताएका थिए, “म कहाँ तेस्रो दिनमा आऊ।” यसकारण तीन दिनपछि इस्राएलका मानिसहरू रहबाम भए कहाँ फर्केर आए। 13 त्यस समयमा राजा रहबामले तिनीहरूसँग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्। 14 उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।” 15 यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।
16 इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः
“के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौं।
के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं।
यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं।
दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!”
यसकारण इस्राएलका मानिसहरू घर फर्किए। 17 तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यूहदाका शहरहरूमा बसेका थिए।
18 अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसँग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढ्न हतारिए अनि भागेर यरूशलेम गए। 19 यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।
20 इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुशरण गरिरह्यो।
21 रहबाम यरूशलेम फर्किए। उनले यहूदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरूद्ध लडाँइ गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे। 22 तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो, 23 “यहूदाका राजा, सुलेमानका छोरा रहबाम अनि यहूदा तथा बिन्यामीनका मानिसहरूसँग पनि कुरा गर। 24 उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।’” यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।
25 शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पनूएल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।
26-27 यारोबामले आफैं विचार गरे, “यदि मानिसहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गइरहे पनि तिनीहरू दाऊदको परिवारद्वारा शासित हुनेछन्। यहूदाका राजा रहबामलाई मानिसहरूले फेरि अनुशरण गर्नेछन्। तब तिनीहरूले मलाई मार्नेछन्।” 28 यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।” 29 राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे। 30 तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बेतेल र दान शहरहरूमा यात्रा गरे।
31 यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। (तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने। यद्यपि तिनीहरू लेवीहरू थिएनन्।) 32 अनि राजा यारोबामले आठौं महिनाको पन्ध्रौं दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाईने जस्तैं थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तैं नै थियो। तर यो चाड आठौं महिनाको पन्ध्रौं दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौं दिनमा पर्दैनथ्यो। त्यस समयमा राजा बेतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बेतेलका अग्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए। 33 यसकारण यारोबामले इस्राएलीहरूको चाड मनाउन आफ्नै समय ठीक गरे। यो आठौं महिनाको पन्ध्रौं दिन थियो। त्यस समयमा उनी बेदीमा बलिहरू चढाउने गर्दथे अनि धूप बाल्दथे जो उनले बनाएका थिए। यो बेतेल शहरमा थियो।
सबैभन्दा महत्वपूर्ण ख्रीष्ट नै हुनुहुन्छ
3 अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी-घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।
2 दुष्ट्याइँ काम गर्नेहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्। 3 तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन। 4 म आफैंमा भर पर्न सक्छु, तर म पर्दिन। यदि कसैले भन्छ कि ऊ आफैंमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु। 5 म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ। 6 म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे।
7 एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। 8 त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। 9 अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो 10 म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। 11 अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु।
लक्ष्यमा पुग्ने प्रयास
12 परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो। 13 दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। 14 लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु।
15 हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ। 16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन।
17 दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। 18 धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। 19 तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। 20 तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। 21 उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।
पूजाहारीहरूको कोठा
42 तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो। 2 भवनको 100 हात लामो अनि 50 हात चौंडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आँगनबाट प्रवेश गर्थे। 3 भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो। 4 त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौंडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो। 5-6 माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो। कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो। 7 त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो। 8 बाहरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामा थिए। 9 यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो। 10 बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।
11 यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लम्वाई, चौंडाइ त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो। 12 दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।
13 त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन्। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महा-पवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महा-पवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि। 14 पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्नुपर्छ। किनकि त्यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने ऊ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”
आँगनको बाहिरी भाग
15 त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो। 16 त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो। 17 त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो। 18 उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो। 19 त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो। 20 उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौंडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।
1 हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ,
जसले मानिसहरूलाई दण्ड दिन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
2 तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।
अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
3 हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्?
कहिले सम्म परमप्रभु?
4 कहिलेसम्म ती दुष्टकर्मीहरूले
भयङ्कर कामहरू गर्नेछन्?
5 हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।
तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
6 ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे।
तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
7 अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्।
तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।
8 तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ?
हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ?
तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ।
तिमीहरूले बुझ्नै पर्छ।
9 परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,
निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ।
परमेश्वरले आँखा बनाउनु भयो,
निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।
ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।
परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।
12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।
परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ,
जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ।
जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन,
त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न,
उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न।
15 न्याय फर्केर निर्मलतासित आउने छ।
अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्।
कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्।
17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए,
मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
18 म जान्दछु कि म पतन हुन लागेको थिएँ,
तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
19 म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ
तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
20 परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्।
ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि,
कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
21 त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।
तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
23 परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ।
परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे।
परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।
© 2004, 2010 Bible League International