Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 11

सुलेमान अनि उनकी धेरै पत्नीहरू

11 राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी आइमाईहरूलाई धेरै माया गर्दथे। तिनीहरूमा फिरऊनकी छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए। बितेको समयमा इस्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमीले गर्यौ भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुशरण गर्न वाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेममा परे। सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे। जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुशरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुशरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए। सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे। यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुशरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।

सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो। तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।

सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो। 10 परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुशरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्। 11 यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्ग बनाउन मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु। 12 तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु। 13 तैपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।”

सुलेमानका शत्रुहरू

14 त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए। 15 यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाड़न गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे। 16 योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए। 17 तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए। 18 तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।

19 फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यावस्था गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्। 20 यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गनूबत राखे। रानी तहपनेसले गनूबतलाई आफ्ना नानीहरूसँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।

21 मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”

22 तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?”

हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुहोस्।”

23 परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए। 24 दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए। 25 रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुन्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।

26 नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।

27 यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए। 28 यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले यारोबाम एकदमै परिश्रमी भएको थाहा पाउनुभयो। यस कराण सुलेमानले यारोबामलाई यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाल बनाए। 29 एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।

30 अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे। 31 तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु। 32 अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ। 33 म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुशरण गर्न छोडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँच्चो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिँडेन जसरी उसका पिता दाऊद हिंडेका थिए। 34 यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे। 35 तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु। 36 म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यसकारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोअघि सधैँ रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ। 37 तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ। 38 यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सुम्पनेछु। 39 म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।’”

सुलेमानको मृत्यु

40 सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुन्जेलसम्म बसें।

41 सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्। 42 सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस बर्षसम्म शासन गरे। 43 सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

फिलिप्पी 2

एकतामा रहौ र एक-अर्कोलाई ध्यान देऊ

मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ? यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मेल मिलापसँग एउटै लक्ष्य लिएर बाँच। जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।

निस्वार्थ बन्न ख्रीष्टबाट सिक

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो।
    उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो।
    तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।
परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो,
    र मानव हुन जन्मनु भयो।
अनि सेवक हुनु भयो।
    जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो।
    अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।
ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो,
यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो।
    परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
10 उहाँले यसो गर्नुभयो,
    ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्।
11 “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्।
    जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ।

परमेश्वरले चाहे जस्तै मानिस बन

12 मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। 13 परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

14 कुनै गनगन वा बहस नगरी सबै काम गर। 15 तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। 16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।

17 तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। 18 त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।

तिमोथी र इपाफ्रोडाइटसको खबर

19 तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। 20 तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। 21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। 22 तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। 23 म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। 24 म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।

25 इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। 26 म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। 27 हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन। 28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। 29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। 30 ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।

इजकिएल 41

मन्दिरको पवित्र स्थान

41 त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो। प्रवेश-द्वारको दश हात चौंडा थियो। त्यसको बाहिरी छेउ चारैतिर पाँच हात थियो। त्यस मानिसले बाहिरी पवित्र स्थान नाप्यो। यो चालिस हात लामो अनि बीस हात चौंडा थियो।

मन्दिरको महा-पवित्र स्थान

तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौंडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो। त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौंडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”

मन्दिरका चारैतिर अरू कोठाहरू

त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौंडा मन्दिरको चारै तिर थियो। छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन। मन्दिरको चारैतिरको जोडिएको कोठाहरू, तल्लो तला भन्दा ज्यादा फराकिलो थियो। यस्तो हुनुको करण तल्लो तलाको भन्दा मन्दिरको अन्य प्रत्येक तला सानो थियो। त्यसैले अघिल्लो कोठाहरूको सतह तल्लो कोठाहरूको भन्दा फराकिलो थियो। सब भन्दा तल्लो तलामा जाने सिँढी बीचको तलाबाट गएको थियो।

मैले यो पनि देखें कि मन्दिरको चारैतिर जगहरू बसालिएका थिए। छेउको कोठाहरूको जग पुरा एक टाँगो अर्थात् छ हात लामो थियो। छेउको कोठाको बाहिरी पर्खाल पाँच हात बाक्लो थियो। त्यहाँ मन्दिरको छेउको कोठाहरूको बीचमा एउटा खुल्ला क्षेत्र थियो। 10 अनि पूजाहारीको कोठाहरूको बीच खुल्ला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो। 11 छेउको कोठाहरूको दैलो आधार उठाएको आधारमा खोलिन्थ्यो एउटा दैलो उत्तर पट्टि फर्केको थियो अनि अर्को दक्षिणपट्टि फर्केको थियो। उठाएका आधारमाथि सबै छेउहरू पाँच हात चौंडा थियो।

12 पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौंडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो। 13 त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भित्तासँगको चोक पनि एक सय हात लामो थियो। 14 मन्दिरको पूर्व अनि चोकहरूको चौंडा सय हात थियो।

15 त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भित्ताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।

महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो। 16 सबै झ्यालहरू अनि ढोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भूइँदेखि झ्यालहरू सम्म थियो। भित्ताको भाग देखि 17 ढोकामाथि सम्म थिए।

भित्री कोठादेखि बाहिरसम्म काठमा चौखट लगाएको थियो। मन्दिरकोबाटोको भित्री कोठा तथा बाहिरी कोठामा करूब स्वर्गदूत र खजूरको चित्र खोपिएको थियो। 18 दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए। 19 दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो। 20 बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजूरको बोटको चित्र खोपिएको थियो।

21 पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो। 22 त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।”

23 बाहिर पवित्र स्थान अनि महा-पवित्र स्थानको दुइपाटे द्वार थियो। 24 एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो। 25 बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजूरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो। 26 अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।

भजनसंग्रह 92-93

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
    सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
    अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
    तपाईंको लागि बजाउनु असल कुरा हो।
हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
    हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
    तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
    हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्।
    तर तिनीहरू सधैँको निम्ति नष्ट हुनेछन्।
    तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।

हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
    सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो।
म दरिलो सींङहरू भएको साँढे जस्तै हुनेछु।
    तपाईंले खास कामको लागि मलाई रोज्नुभयो,
    तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें।
तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्।
    मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।

12 असल मानिसहरू लेबानेनमा
    परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
    हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
    तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
    उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।

परमप्रभु राजा हुनुहुन्छ।
    उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
    परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
    जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
    तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
    तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International