Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 8

मन्दिरमा करारको सन्दूक

त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे। यसकारण सबै इस्राएलका मानिसहरू बर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहरू सुलेमानसित भेला हुन्थे।

इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए। तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए। राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेंडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन। तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा-पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पखेंटाको तल स्थापित गरियो। करूब स्वर्गदूतहरूका पखेंटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए। यी थाम्ने खाम्बाहरू धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहरूको छेऊ देख्न सकथ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहरूलाई देख्न सक्दैन थिए। खाम्बाहरू आज पनि त्यहाँ छन्। पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो

10 पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो। 11 पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो। 12 तब सुलेमानले भनेः

“परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो,
    तर उहाँले कालो बादलमा बस्न मन पराउनुभयो।
13 मैले तिम्रो लागि अचम्मको मन्दिर बनाएँ,
    एउटा ठाउँ, जहाँ तिमी सधैँ बस्ने छौ।”

14 इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे। 15 तब राजा सुलेमानले भने,

“परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो। 16 ‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’

17 “मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए। 18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ। 19 तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’

20 “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छु। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें। 21 मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”

22 तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर। 23 उनले भनेः

“परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुशरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ। 24 तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो। 25 अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सधैँनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’ 26 अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।

27 “तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ? 28 तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसँग प्रार्थना गरिरहेको छु। 29 विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्। 30 परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थना सुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।

31 “यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु। 32 तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।

33 “कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्। 34 कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।

35 “कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्। 36 यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।

37 “धर्ती साह्रै नै सुख्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्। 38 जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ। 39 तपाईंले आफ्नो वासस्थान स्वर्गबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रके छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्। 40 यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिन्जेलस बाँच्ने छन् त्यतिन्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस्न दिनु हुनेछ।

41-42 “अरू ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्। तिनीहरू टाढा-टाढाबाट यस मन्दिरमा प्रार्थना गर्न आउने छन्। 43 स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। कृपया अरू ठाऊँका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊँका मानिसहरूले जान्नेछन्, मैंले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।

44 “कहिले-काहिँ तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढ्ने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्। 45 त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।

46 “तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्रोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्। 47 त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’ 48 तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुँदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए। 49 तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्। 50 तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्। 51 सम्झना रहोस, तिनीहरू तपाईंकै जाति हुन्। सम्झना रहोस, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।

52 “हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसँग बिन्ती गर्छन्। 53 तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”

54 सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए। 55 तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः

56 “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ! 57 म प्रार्थनागर्छु, परमेश्वर सधैँ हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोड्नुहुनेछैन। 58 म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुशरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो। 59 म आशा गर्छु, हाम्रा परमप्रभुले सधैँ नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ। 60 (जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ। 61 सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सधैँ नै उहाँको विधि-विधान र आदेशहरू अनुशरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”

62 तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए। 63 सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेंडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।

64 त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आँगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।

65 यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए। 66 अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।

एफिसी 5

तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। 11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। 12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। 13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। 14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः

“जाग, हे निदाएकाहरू हो!
    मृत्युबाट उठ,
अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

पति र पत्नीहरू

21 एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।

22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। 23 जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। 24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।

25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो।

28 अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। 29 अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। 30 किनकि हामी उहाँको शरीरका अङ्ग हौं। 31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।”(A) 32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। 33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।

इजकिएल 38

गोगको विरूद्धमा समाचार

38 परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि तूबल राष्ट्रहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विरूद्धमा मेरो लागि केही भन। उसलाई भन कि स्वामी परमप्रभु भन्नुहुन्छ, ‘गोग तिमी मेशेक अनि तूबल राष्ट्रको सर्वाधिक महत्वपूर्ण प्रमुख हौं। तर म तिम्रो विरूद्धमा छु। म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्। फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ। त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्।

“‘तयार हौ, तिमी आफूलाई तयार पार अनि त्यो जो सेनाले तिमीहरूसँग एकता तिनीहरूलाई पनि गराइएकोछ। तिमीले निगरानी राख्नु पर्छ अनि तयार रहनु पर्छ। लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम बर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्। तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउँनेछौ। तिमी तुफान जस्तै आउँनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउँछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिम्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउँनेछन्।’”

10 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “त्यस समय तिम्रो मनमा एउटा विचार आउनेछ। तिमीले एउटा नराम्रो योजना बनाउन शुरू गर्नेछौ। 11 तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्‌छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन। 12 म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरूद्धमा लड्छु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरूद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जम्मा भएका छन्। अब तिनीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’

13 “शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?’”

14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउँनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्। 15 तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउँछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउँछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ। 16 तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने गर्जिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।’”

17 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “अतीतमा मैले तिम्रो विषयमा जे भनेको थिएँ त्यस समय मानिसहरूले याद गर्नेछन्। उनीहरूले याद गर्नेछन् मैले आफ्ना दासहरू इस्राएलको अगमवक्ताहरूको उपयोग गरें। उनीहरूले याद गर्नेछन् इस्राएलका अगमवक्ताहरूले मेरो निम्ति अतीतमा कुरा गरे अनि भने कि म तिमीलाई उनिहरू विरूद्ध युद्ध गर्न ल्याउँछु।”

18 परमप्रभु मेरो मालिकले भन्नुभयो, “त्यस समय गोग, इस्राएल देश विरूद्ध युद्ध गर्नु आउँनेछ। म आफ्नो क्रोध प्रकट गर्नेछु। 19 क्रोध अनि उत्तेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दैछु कि इस्राएलमा एउटा ठूलो भूइँचालो आउँछ। 20 त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जङ्गली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”

21 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्। 22 म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको बर्षा बर्षाउनेछु। 23 त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।

भजनसंग्रह 89

एज्री एथानबाट “मस्किल” भन्ने भजन।

89 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
    र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
    तपाईंको विश्वास आकाश झैं व्यापक छ।

परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
    मैले मेरो दास दाऊदसँग कसम खाएँ।
‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
    म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”

हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ।
जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।
    मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।
स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।
    कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा-सर्वदा मिल्नु हुन्छ।
    ती सबै स्वर्गदूतहरू उहाँका हुन्।
तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्,
    तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।
    हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं।
तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।
    तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,
    तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्र-तत्र पारिदिनु भयो।
11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,
    परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।
    ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
    तपाईंको शक्ति महान् छ,
    विजय तपाईंकै हो।
14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।
    प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
    तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
16 तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ।
    तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
17 तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ।
    तपाईंबाटै उनीहरूको शक्ति आउँछ।
18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
    इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
    अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
    मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
    अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
    अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
    दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
    र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
    म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
    उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
    तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।
27 अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु।
    ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।
28 मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु।
    तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।
29 उनका परिवारहरू अनवरत रहने छन्
    जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।
30 यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे,
    म तिनीहरूलाई दण्ड दिनेछु।
31 यदि छानिएका राजाका भावी सन्तानहरूले
    मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने,
32 तब म उनीहरूलाई कडा दण्ड दिनेछु।
    म तिनीहरूका दुष्ट-कर्मको सजाय कोर्राले दिनेछु।
33 तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन।
    म तिनीहरू प्रति सधैँ विश्वासी रहने छु।
34 म दाऊदसँग भएको करार तोड्ने छैन।
    म मेरो करार-वचन परिणत गर्नेछैन।
35 मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु
    अनि म दाऊद प्रति झूटो हुने छैन।
36 दाऊदका सन्तानहरू अनवरत रहनेछन्।
    तिनीहरू हुन्जेल उनिहरूको राज्य रहने छ।
37 जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्,
    त्यो करारमा भरोसा गर्न सकिन्छ।”

38 तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो।
    अनि उनलाई एक्लै छाडी दिनु भयो।
39 तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ।
    तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो।
40 तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो।
    उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो।
41 त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे।
    उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे।
42 तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो।
    तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो।
43 परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो।
    तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन।
44 तपाईंले उनलाई जित्न दिनु भएन।
    तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो।
45 तपाईंले उनको उमेर घटाई दिनु भयो
    तपाईंले उनलाई लज्जित पार्नुभयो।

46 हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो?
    के तपाईंले हामीलाई सधैँ उपेक्षा गर्नुहुन्छ?
    के तपाईंको क्रोध आगो जस्तो सधैँ बल्ने हो?
47 याद गर्नुहोस् मेरो जीवन कति छोटो छः
    तपाईंले हामीलाई छोटो जीवन बाँच्नलाई रच्नुभयो।
48 कोही पनि बाँच्ने छैन र कहिल्यै मर्दैन,
    कोही पनि चिहानबाट भाग्न पाउने छैन।

49 हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ?
    तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो।
50-51 हे स्वामी, कृपया याद गर्नुहोस्, मानिसहरूले कसरी तपाईंको दासलाई अपमान गरे।
हे परमप्रभु, मैले तपाईंका शत्रुहरूबाट ती सारा अपमानहरू सहनु पर्यो।
    ती मानिसहरूले तपाईंले रोजेको राजाको अपमान गरे।

52 परमप्रभुको सदा-सर्वदा प्रशंसा गर।
    आमेन! आमेन!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International