M’Cheyne Bible Reading Plan
सुलेमानको महल
7 राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 बर्ष लाग्यो। 2 उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो। 3 खाम्बाहरूको लहरमाथि देवदारूका दलमीहरू थिए। तिनीहरूले देवदारूको दलमीहरूको माथि छानाका लागि देवदारूको तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए। 4 त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए। 5 प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए।
6 सुलेमानले “खाम्बाहरूद्वार मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौंडा थियो। द्वार मण्डपको अघि खाम्बाहरूमा आधारित छानो थियो।
7 सुलेमानले एउटा सिंहासन कक्ष पनि बनाए जहाँ तिनी जनगणलाई न्याय दिने गर्दथे। उनले त्यसको नाउँ “न्यायको कक्ष” राखेका थिए। त्यो कोठा भुईंदेखि छानासम्म देवदारको काठ ठोकिएको थियो।
8 सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तैं बनाइएको थियो। उनले यस्तैं प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए।
9 यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। 10 जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए। 11 यी ढुङ्गाहरूको माथि अरू बहुमूल्य ढुङ्गाहरू अनि देवदारका बलाहरू थिए। 12 महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।
13 राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए। 14 हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।
15 हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्रा थिए अनि धातु 3 इञ्च[a] मोटो थियो। 16 हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे। 17 तब उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गलीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे। 18 त्यसपछि उनले दारीम जस्तैं देखिने दुइ लहर अलंकरण बनाए। तिनीहरूले खाम्बाहरूको माथि मुकुटलाई ढाक्नका लागि प्रत्येक खाम्बाको जाली माथि ती काँसाका दारीमलाई सजाए। 19 खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे। 20 मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए। 21 हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो। 22 तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।
23 तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खड्कुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौंडा अनि 5 हात गहिरो थियो। 24 खड्कुँलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो। 25 भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए। 26 भाँडोको मोटाइ एक बित्ता मोटो थियो। भाँडोको घेरो प्यालाको घेरो अथवा फूलका पत्रदल जस्तैं थियो। भाँडोमा 2,000 पाथी[b] आँट्थ्यो।
27 तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौंडा अनि 3 हात अग्ला थिए। 28 ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए। 29 ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुँदेर काँसालाई मार्तोलले पिटेर बनाएका थिए। 30 प्रत्येक ठेला-गाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ठूलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुवाहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए। 31 त्यहाँ बटुकाको मथिल्लो खुल्ला भागको वरिपरिको निम्ति एउटा आधार थियो, आधार एक हात अग्लो अनि व्यासको खोल्ने डेढ हातहरू थिए। 32 चौखटको तल चारवटा चक्काहरू थिए। चक्काहरू, डेढ हात व्यास भएका थिए। चक्काहरूको माझ धुराहरू ठेलागाडासँग जोडिएको थियो। 33 चक्काहरू रथका चक्काहरू जस्तैं थिए। चक्काको जम्मै जिनिस-धुरी, घेरो, डन्डीहरू तथा धुराहरू काँसाको बनाइएको थियो।
34 प्रत्येक ठेलागाडाको चार कुनामा चारवटा आधारहरू थिए। तिनीहरू सबै ठेलागाडासँग जोडिएका थिए। 35 प्रत्येक ठेला गाडाकोमाथि वरिपरि आधा हात अग्लो गोलो घेरा थियो। त्यसलाई एउटै बनाउनलाई त्यो त्यसका आधारहरूसित जोडिएको थियो। 36 ठेलागाडाको बगल अनि चौखटमा करूब स्वर्गदूतहरू, सिंह अनि ताड़को रूखहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलगाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए। 37 हीरामले एकै प्रकारका दशवटा ठेलागाडाहरू बनाए। प्रत्येक गाडा गलेको काँसाबाट अनि ढालेरे बनाएको थियो। यसकारण सबै गाडाहरू एउटै नाप अनि आकारमा बनाएको थियो।
38 हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौंडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो। 39 हीरामले मन्दिरको दक्षिणतिर पाँचवटा अनि उत्तरतिर अरू पाँचवटा ठेलागाडीहरू स्थापित गरेका थिए। 40-45 हीरामले भाँडाहरू, बेल्चा अनि स-साना बटुकाहरू बनाए। हीरामले सबै जिनिसहरू राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहरूको सूची यस्तो छः
2 खाम्बाहरू;
खाम्बाहरूको माथि बटुका जस्ता 2 मुकुटहरू;
वरिपरि ढाक्ने जालीहरू;
2 जालीका लागि 400 वटा दारीमहरू;
खाम्बाहरूको माथि दुइवटा बटुकाहरूलाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहरू थिए।
प्रत्येक ठेलागाडामा बटुका भएको 10 ठेलागाडाहरू;
तल बाह्रवटा साँढेहरू माथि ठूलो भाँडो;
भाँडाहरू, स-साना बेल्चाहरू, स साना बटुकाहरू;
अनि सबै भाँडा-कुँडाहरू परमप्रभुको मन्दिरकालागि।
हीरामले यी सबै सामानहरू राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहरू सबै पालिस लगाएको काँसाको बनाइएका थिए। 46-47 सुलेमानले यी चीजहरू बनाउनमा प्रयोगगरिएको काँसा कहिले पनि जोखेनन्। जोख्नु उचित थिएन। यस कारण काँसाको सम्पूर्ण ओजन थाह भएन। राजाले यी चीजहरू सुक्कोत र शरतानबीच यर्दन नदीको छेऊमा बनाउने आदेश दिएका थिए। तिनीहरूले यी जिनिसहरू काँसा गलाएर अनि भूईंमा बनाइएको साँचोमा ढालेर बनाए।
48-50 सुलेमानले धेरै सुनका सामानहरू मन्दिरका लागि बनाउने आदेश पनि दिए। सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहरू यी हुन्;
सुनको वेदी; सुनको टेबल,
परमेश्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।
सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए);
सुनका फूलहरू, दियोहरू अनि चिम्टाहरू;
शुद्ध सुनका कचौराहरू, बाती छिमल्ने कैंचीहरू, स-साना कचौराहरू, थालहरू अनि कोइला बोक्ने धूपौराहरू;
मुख्य कक्षका दैलाहरूका लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को दैलाहरूका लागि सुनका कब्जाहरू बनाए।
51 यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे। तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए। उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।
शरीरमा एकता
4 म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। 2 सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। 3 आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। 4 शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। 5 एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। 6 परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।
7 ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। 8 त्यसैले शास्त्रमा यस्तो भनिएको छ,
“उहाँ माथि आकाशमा जानुभयो,
आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो,
अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”(A)
9 “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। 10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। 11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। 12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।
14 तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। 15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। 16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।
बाँच्ने तरिका
17 म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्। 18 ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन। 19 लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैँ तम्सन्छन्। 20 तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन। 21 म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। 22 तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। 23 तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। 24 तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।
25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। 26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। 27 शैतानलाई जित्ने मौका नदेऊ। 28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।
29 बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। 30 पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। 31 तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। 32 आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।
सुकेका हाडहरूको दर्शन
37 परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो। 2 बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।
3 त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?”
मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”
4 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। 5 परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ। 6 म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।’”
7 यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले। 8 मेरो आँखा अघाडी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोप्न शुरू गर्यो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन।
9 तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।’”
10 उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहर जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो।
11 त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन्। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’ 12 यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। 13 मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। 14 म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।’” परमप्रभुले यसो भन्नु भएको भयो।
यहूदा अनि इस्राएल फेरि एक हुने
15 परमप्रभुको वचन फेरि मकहाँ आयो! उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ 17 त्यसपछि दुइवटै लौरोहरू एउटा ठाँउमा जोड। तिम्रो हातमा एउटा लौरो हुनेछ।
18 “तिम्रा मानिसहरूलाई यो स्पष्ट पार्नका निम्ति भन्छु कि यसको अर्थ के हो? 19 तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’
20 “तिनीहरूको आँखाको अघाडी लौरोहरू आफ्नो हातमा समात। तिमीहरूले लौरोहरूमा त्यो नामहरू लेखेका थियौं। 21 मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। 22 म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुइवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्। 23 तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैंलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।
24 “‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन् तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्। 25 तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ। 26 म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैँ रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु। 27 मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्। 28 तब अरू राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हुँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सधैँ इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।’”
कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान।
1 परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
2 परमप्रभुले इस्राएलका अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मनपराउनु हुन्छ।
3 परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
4 परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।
ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्।
ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।
5 परमेश्वरले सियोनमा जन्मेका
प्रत्येक मानिसलाई चिन्नु हुन्छ।
सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
6 परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।
तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।
7 परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्,
र सुखी छन्, तिनीहरू गाइरहेछन् र नाचिरहेछन्,
तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”
प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।
1 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
2 मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
3 मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
म चाँडै मर्ने छु।
4 मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
5 मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ।
तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो।
6 तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
7 परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
अनि मलाई सजाय दिनुभयो।
8 मेरो साथीहरूले मलाई छाडी गए।
सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।
9 मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु,
मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
अनि सजायले मलाई मार्दै छ।
17 दुःखाई र पीडाहरू सधैँ मसँग छन्,
म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
खाली अन्धकार मात्र मसँग रहेको छ।
© 2004, 2010 Bible League International