M’Cheyne Bible Reading Plan
सुलेमानद्वारा मन्दिरको निर्माण
6 तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 बर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो बर्ष थियो। यो बर्षको दोस्रो महीना, जिबको[a] महिना थियो। 2 मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो। 3 मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौंडाईको बराबर थियो। 4 त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो। 5 तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो। 6 कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौंडा थिए। माझका कोठाहरू छः हात चौंडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए। 7 कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।
8 मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।
9 यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो। 10 सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो।
11 परमप्रभुले सुलेमानलाई भन्नुभयो, 12 “यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ। 13 अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”
14 यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। 15 मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूईंदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूईंमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए। 16 तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा-पवित्र स्थान भनिन्थ्यो। 17 महा-पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात लामो थियो। 18 तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।
19 सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो। 20 यो कोठा 20 हात लामो, 20 हात चौंडा अनि 20 हात अग्लो थियो। 21 सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा-पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए। 22 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा-पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।
23 कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पखेंटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा-पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए। 24-26 दुवै करूब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक करूब स्वर्गदूतका दुइवटा पखेंटा थिए। पखेंटा पाँच हात लामा थिए। एउटा पखेंटाको एक छेऊदेखि अर्को छेऊ 10 हात लामो थियो। अनि प्रत्येक करूब स्वर्गदूत 10 हात अग्लो थिए। 27 यी करूब स्वर्गदूतहरूलाई महा-पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेंटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेंटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेंटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो। 28 दुइ करूब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।
29 मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो। 30 दुवै कोठाको भुइंमा सुन जडिएको थियो।
31 कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा-पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो। 32 तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।
33 तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोग गरे। 34 तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए। 35 तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।
36 तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।
37 तिनीहरूले मन्दिरको निर्माण कार्य बर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो बर्ष बितेको थियो। 38 मन्दिर बर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं बर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात बर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।
अन्य जातीहरूमा पावलको काम
3 यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। 2 अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। 3 परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु। 4 अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। 5 अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। 6 गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।
7 परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। 8 परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ। 9 अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो।
10 उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्। 11 युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। 12 ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। 13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।
ख्रीष्टको प्रेम
14 यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। 15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। 16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। 17 तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। 18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। 19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।
20 परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। 21 मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।
इस्राएल भूमि फेरि निर्माण गरिने छ
36 “हे मानिसको छोरो, मेरो निम्ति इस्राएलको पर्वतहरूसित भन। इस्राएलको पर्वतहरू परमप्रभुको वचन सुन भन। 2 तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’
3 “यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।’”
4 यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्। 5 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”
6 “यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेंसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।’”
7 यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।
8 “तर इस्राएलको पर्वतहरू, तिमीले तिम्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउँनेछन्। 9 म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्। 10 तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्। 11 म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढ्नेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ। 12 हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।”
13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “हे इस्राएल देशका मानिसहरू तिमीहरूसित नराम्रो प्रकारले बोल्छन्। उनीहरू भन्छन्, तिमीले आफ्नो मानिसहरू नष्ट पार्यौ। तिनीहरू भन्छन् कि तिमीले तिनीहरूका नानीहरू टाढा लिएर गयौ। 14 अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो। 15 “म ती अरू राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।
परमप्रभु उहाँको आफ्नो नाउँ रक्षा गर्नुहुन्छ
16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए। 18 तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ। 19 मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिएँ जुन उनीहरूले गरेका थिए। 20 उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’
21 “इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दु:ख अनुभव गरे। 22 यसकारण इस्राएलका घरानालाई भनें कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु। 23 म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।’” परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।
24 परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु। 25 त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”
26 परमेश्वरले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु। 27 म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ। 28 त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।” 29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रिनँको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरूद्ध अनिकाल ल्याउँने छैन। 30 म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ। 31 तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।”
32 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दैछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गामा लज्जित अनि व्याकुल हुनु पर्ने।”
33 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्। 34 उजाड भएको जमीन फेरि जोतिनेछ। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन। 35 उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।’”
36 परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूनःर्निर्माण गर्नेछु। मैले भूमिहरूमा रूखहरू रोपें जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भनें अनि मैले सबै गरें।”
37 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छु “म यो पनि चाहन्छु कि इस्राएलको घरानाकहाँ आओस् अनि यी कुराहरू तिनीहरूका निम्ति मागुन्। म तिनीहरूलाई असंख्य मानिसहरू बनाउँछु। तिनीहरू भेंडा़को बगालहरू जस्तै हुन्छन्। 38 यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेंडा़ अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”
दाऊदको प्रार्थना।
86 म दरिद्र र असहाय मानिस हुँ।
हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
2 हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
3 मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
4 हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
5 हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
6 परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
7 परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
8 हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
9 स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
© 2004, 2010 Bible League International