M’Cheyne Bible Reading Plan
सुलेमानलाई बुद्धिको चाहना
3 सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए। 2 मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यसकारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए। 3 सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।
4 राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए। 5 सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”
6 सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। 7 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। 8 म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। 9 यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”
10 सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो। 11 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्। 12 यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन। 13 तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन। 14 म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुशरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”
15 सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।
16 एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए। 17 एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई। 18 तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं। 19 एक रात यो आइमाई आफ्नो नानीसँग सुतेकी थिई, नानी मरेछ। 20 राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी। 21 बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”
22 तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!”
तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।
23 तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।” 24 तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए। 25 अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”
26 अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”
27 तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”
28 इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।
1 परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन्!
2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्।
ख्रीष्टमा हुनेहरूलाई आत्मिक आशिष
3 उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। 4 ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। 5 अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। 6 उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
7 हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। 8 परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। 9 आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। 10 ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।
11 परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। 12 ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। 13 तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। 14 पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।
पावलको प्रार्थना
15-16 त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। 17 म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।
18 म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।
19 अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ। 20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो। 21 परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ। 22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो। 23 मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।
इस्राएल भेंडा़हरूको एउटा बगाल जस्तै छ
34 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति केही कुरा भन। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूको आफ्नै पेट मात्र भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमीहरू किन आफ्ना भेंडाहरूको पेट भर्दैनौ? 3 तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेंडा़ मार्छौ, तर तिमीले दुब्लो भेंडा़लाई खान दिँदैनौ। 4 तिमीहरूले कमजोरी र दुब्लो भेंडा़हरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेंडा़लाई पट्टी बाँधिदिएनौ। कति भेंडा़हरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेंडा़को खोजीमा गएनौ। अँहँ, तिमी निष्ठुर अनि कठोर भयौ।
5 “‘अनि अब भेंडा़हरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेंडा़हरू तितर-बितर भए। 6 मेरा सबै भेंडा़हरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेंडा़हरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।’”
7 यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ। 8 “म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेंडा़हरूलाई समाते। हो, मेरो भेंडा़हरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेंडा़हरूलाई मार्यो अनि आफैं खायो। त्यसले मेरो भेंडा़हरूको पेट भरिदिएन।”
9 यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन! 10 परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेंडा़हरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेंडा़हरू बँचाउनेछु। तब मेरा भेंडा़हरू उनीहरूको भोजन बन्नेछैनन्।”
11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफैं उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु। 12 यदि कुनै गोठाला आफ्नो भेंडा़सँग त्यस समयमा छ, जब उसको भेंडा़ टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म आफ्नो भेंडा़लाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए। 13 म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु। 14 म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्। 15 हो, म आफ्नो भेंडा़लाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो।
16 “म हराएको भेंडा़को खोजी गर्नेछु। म ती भेंडा़हरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेंडा़हरूलाई मलम पट्टी लगाई दिन्छु जसलाई चोट लागेकोछ। म कमजोर भेंडा़लाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु, जसको तिनीहरू भागिदारछन्।”
17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेंडा़, म प्रत्येक भेंडा़लाई न्याय गर्छु। म भेंडा़ अनि बाख्राको बीचमा न्याय गर्नेछु। 18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेंडा़ले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ? 19 मेरो भेंडा़ले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”
20 यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेंडा़हरूको बीचमा न्याय गर्नेछु! 21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेंडा़हरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ। 22 यसकारण म आफ्नो भेंडा़हरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेंडा़ अनि अर्को बीचमा न्याय गर्नेछु। 23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफैं खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ। 24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
25 “म आफ्नो भेंडा़हरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेंडा़हरू मरुभूमिमा सुरक्षित रहनेछ अनि जङ्गलमा सुत्नेछ। 26 म भेंडा़हरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा बर्षा गराउँछु। त्यो आशीर्वाद सहित बर्षा हुनेछ। 27 खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेंडा़हरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन्। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ। 28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैनन्। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन्। कसैले उनीहरूलाई आतंकित पार्ने छैन। 29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन्। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्। 30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमप्रभु परमेश्वर हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
31 “तिमी मेरो भेंडा़ हौ, मेरो खर्कका भेंडा़, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
आसापले रचेको एउटा स्तुतिगान।
1 हे परमेश्वर, चुपचाप नबस्नुहोस्!
तपाईंको कानहरू नथुन्नु होस्,
कृपया केही त भन्नु होस्, परमेश्वर।
2 परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन्
अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।
3 तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्।
तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
4 ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वष्त गरीदिउँ।
तब कसैले पनि ‘इस्राएलको’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
5 परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन्
तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई,
जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
6-7 ती शत्रुहरू हामीसँग लड्नलाई एकजुट भएका छन्,
प्रदोम, इश्माएली मानिसहरू, मोआब
अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू,
एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह।
ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
8 असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे।
तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
9 परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्,
सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
10 तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो।
अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
11 परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्।
ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्।
जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
12 हे परमेश्वर, ती मानिसहरूले हामीलाई
तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
13 तिनीहरूलाई हावाले उडाएर लैजाने मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस्,
हावाले पराललाई छिन्न-भिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
14 जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्।
डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।
15 हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्।
हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
16 परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने थाहा होस्।
त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
17 हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्।
तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।
18 तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्।
तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन्,
तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्।
सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।
प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।
1 हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
2 हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु।
म एकदमै उत्तेजित छु।
मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
3 हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,
चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए।
तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन्
अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।
4 तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्।
तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।
5 मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हर्षका गीतहरू लिएर आउँछन्,
तिनीहरू धेरै खुशी छन्।
6 तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए,
जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
शरद ऋतुको बर्षाले ताल बनिन्छ।
7 ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए
जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।
8 हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।
9 हे परमेश्वर, हाम्रो रक्षक[a] को रक्षा गर्नुहोस्,
तपाईंका अभिषिक्त राजा[b] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
© 2004, 2010 Bible League International