Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 2

राजा दाऊदको मृत्यु

दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने, “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्। यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।’”

दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो। तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।

“गिलादको बर्जिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

“अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन। अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”

10 तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो। 11 दाऊदले इस्राएलमा 40 बर्ष शासन चलाए। उनले हेब्रोनमा सात बर्ष अनि यरूशलेममा 33 बर्ष शासन गरे।

सुलेमानद्वारा राज्यको शासन-नियन्त्रण

12 अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।

13 तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?”

अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो। 14 मैले तपाईंलाई केही भन्नु छ।”

बतशेबाले, “भन भनिन्।”

15 अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो। 16 यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।”

बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?”

17 अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीशगसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”

18 तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”

19 यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।

20 बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका भन्छु। कृपया मलाई हुदैन नभन्नु।”

राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”

21 यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”

22 राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”

23 तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ। 24 परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।”

25 राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।

26 तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।” 27 सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोमा बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।

28 योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे। 29 कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।

30 बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!’”

तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।”

यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए। 31 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो। 32 योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ। 33 तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”

34 यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरुभूमिमा उनको घरको नजिकै नै गाडीयो। 35 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे। 36 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड। 37 यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”

38 यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे। 39 तर तीन बर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्। 40 यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकी शसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।

41 तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए। 42 यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस् अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु। 43 परमप्रभुको नाउँमा तैंले गरेको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्? 44 तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ। 45 तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सधैँ नै सुरक्षित राख्ननु हुनेछ।”

46 तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।

गलाती 6

एक अर्कोलाई सघाऊ

दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ। एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्।

जीवन खेत रोपे जस्तो हो

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ। राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। 10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।

पावल आफ्नो पत्र समाप्त गर्छन्

11 यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। 12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। 13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्।

14 म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। 15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। 16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।

17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।

18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।

इजकिएल 33

परमेश्वरले इजकिएललाई इस्राएलको निम्ति प्रहरी छान्नु भयो

33 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, “हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरूद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्। यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरही बजाएर मानिसहरूलाई सावधान गराउँछ। यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ। उसले तुरही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वंय दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो।

“‘तर हुनसक्छ त्यो प्रहारीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरही बजाएन। त्यस प्रहारीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छे। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहारी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’

“अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ। म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं अनि उसको जीवन बद्लि गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मवारी बनाउँनेछु। तर तिमीले त्यो दुष्ट मानिसलाई आफ्नो जीवन बद्लि गर्नको निम्ति अनि पाप बन्द गर्न भनेर चेताउनी दिएको भए अनि यदि त्यसले पाप बन्द गर्न अस्वीकार गरेको भए त्यो मानिस मर्नेथ्यो किनकि त्यसले पाप गर्यो। तर तिमीले तिम्रो जीवन बचायौ।”

परमेश्वर मानिसहरूलाई नष्टगर्न चाहनुहुन्न

10 “यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’

11 “तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिनँ, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’

12 “हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’

13 “म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।

14 “अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि ऊ मर्छ। तर उसले आफ्नो जीवन बद्लि गर्न सक्छ। उसले पाप गर्न छोड्न सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ। 15 उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन! 16 बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिनँ। किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!

17 “तर तिम्रा मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन्न।’

“तर तिनीहरू नै हुन् जो जीवित छैनन्! तिनीहरू नै हुन् जो बद्लिनु पर्छ! 18 यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ। 19 अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ। 20 तर तिमीहरू अझै पनि भन्छौ परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरीका अनुसार न्याय गर्नेछु।”

यरूशलेममाथि अधिकार गरियो

21 देशबाट-निकालिएको बाह्रौं बर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!”

22 अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो। 23 त्यस बेला परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौं, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’

25 “तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु? 26 तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्यकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँउदैनौं।’

27 “‘तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढीले मर्नेछन्। 28 त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन। 29 तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

30 “‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ त्यो सुनौं।” 31 यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

32 “‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ। 33 तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।’”

भजनसंग्रह 81-82

प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।

खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
    इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
संगीत प्रारम्भ गर।
    खैंजडीहरू बजाऊ।
    सुरमय वीणा बजाऊ।
जब हाम्रो विश्राम शुरू हुन्छ।
    पूर्णिमा लागेको बेला तुरही फुक,
    औंसी परेको बेला नरसिङ्ग फुक।
त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
    परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
    परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
    मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
    तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
    त्यहींबाट मैले जवाफ दिएँ,
    मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”

“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
    इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
कुनै पनि कृत्रिम देवताहरू नमान
    जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
    मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
    अनि म खुवाउने छु।

11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
    इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
    इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
    अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
    म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
    तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
    चट्टान[b] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”

आसापको एउटा भजन।

परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ।
    उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ?
    कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”

“गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर।
    ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर।
    दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचाऊ।

“तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्।
    तिनीहरू बुझ्दैनन्!
तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्,
    तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
म सर्वशक्तिमान परमेश्वर भन्दछु,
    “तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
तर तिमीहरू मर्नेछौ
    जसरी अन्य अगुवाहरू मर्दछन्।”

हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्।
    तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International