Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 1

अदोनियाह राजा हुन इच्छुक

राजा दाऊद साह्रै बूढा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी तातिएनन्। यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।” यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए। युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।

5-6 अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह साह्रै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजू अब्शालोम पछि भएको थियो, तर अदोनियाह साह्रै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको साह्रै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे। राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैंले किन यस्तो व्यवहार गर्दैछस्?”

अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए। तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।

एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेंडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए। 10 तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।

नातान र बतशेबा सुलेमानको पक्षमा

11 तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्। 12 तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन सङ्कटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु, 13 राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’ 14 तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।”

15 यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई। 16 बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?”

17 बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’ 18 अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्। 19 अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेंडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन। 20 हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्। 21 तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठहरिनेछौं।”

22 राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए। 23 चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए। 24 अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ? 25 किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेंडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’ 26 तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्। 27 मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”

28 तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।

29 तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु। 30 आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”

31 तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”

सुलेमानलाई नयाँ राजा चुनियो

32 तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए। 33 तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ। 34 त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’ 35 त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”

36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ। 37 मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढ्नेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”

38 यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए। 39 पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले हर्षित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।” 40 तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुइँ थर्किने गरी कराउँदै थिए।

41 त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”

42 जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ-समाचार ल्याएको हुनुपर्छ।”

43 तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ-समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए। 44 राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए। 45 तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो। 46-47 सुलेमान राज-सिंहासनमा बसेका छन्! राजाका अधिकारीहरू राजा दाऊदलाई अभिवादन पनि गर्दैछन्। तिनीहरू भन्दै छन्, ‘राजा दाऊद, तपाईं महान् राजा हुनु हुन्छः अब हामी प्रार्थना गर्छौ, तपाईंको परमेश्वरले सुलेमानलाई पनि महान् राजा बनाउनुहुनेछ। हामी आशा गर्छौ तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौ, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए! राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई ढोग गरे। 48 अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।’”

49 अदोनियाहका सबै अतिथिहरू तर्सिए अनि छिट्टै गए। 50 अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते। 51 तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सींग समाते र पवित्र पालमा बसेको छ अनि छोड्न पनि चाहँदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।’”

52 सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्यो भने उ मारिने छ।” 53 तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”

गलाती 5

अहिले हामी मुक्त छौ

ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन। सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न। फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ। यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ।

तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिँड्नमा तिमीहरूलाई कसले रोक्यो? यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो। होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।” 10 मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ।

11 मेरा दाज्यू-भाइहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन। 12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन्।

13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। 14 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”(A) 15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।

आत्मा र मानवता

16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। 18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।

19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ। 26 हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।

इजकिएल 32

फिराऊन एउटा सिंह या दैंत्य?

32 देशबाट निकालिएको बाह्रौं बर्षको बाह्रौं महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दु:खको गीत गाऊ। उनलाई भन:

“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ,
घमण्डसँग देशहरूमा घुम्दै थियौ,
    तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ,
तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ,
    अनि आफ्नो खुट्टाले पानी छ्याप्दै,
नदीहरू माटै-माटो बनायौ।
    तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।’”

परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ:

“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु।
    अब म तिमीमाथि आफ्नो जाल फिँजाउँछु।
    त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।
त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु!
    म तिमीलाई खेतमा फ्याँकिदिन्छु।
तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु।
    म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान,
    अनि पेट भर्नका निम्ति बोलाउँछु।
म तिम्रो शरीरलाई पर्वतमाथि तितर-बितर पार्छु।
    म तिम्रो लाशले बेंसीहरू भरिदिन्छु।
म तिम्रो रगतले पहाड भिजाउँनेछु
    अनि भूमिमा सोसाउँछु।
    अनि खोला नालाहरू पनि त्यसैले भरिनेछन्।
म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु
    अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु।
    म सूर्यलाई बादलले ढाकिदिन्छु,
    अनि चन्द्रमा चम्किने छैन।
म सबै चम्किने ज्योतिहरूलाई,
आकाशमा तिमीमाथि कालो बनाई दिन्छु।
    म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।”
परमप्रभु मेरा मालिक भन्नुहुन्छ।

“अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा ल्याउनेछु जुन तिमी चिन्दैनौ, धैरे मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु। 10 म धेरै मानिसहरलाई तिम्रा विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्रो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु दिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।”

11 किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्रो विरूद्धमा युद्ध गर्नु आउँछ। 12 म ती सैनिकहरूको उपयोग गरेर तिम्रो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिइनेछ। 13 मिश्रका नदीहरूको किनारमा धेरै पशुहरूछन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मैला पार्नेछैनन्। 14 यस्तो प्रकारले म मिश्रको पानीलाई शान्त बनाइदिन्छु, म त्यसको नदीहरूलाई मन्द गति बगाउँनेछु, त्यो तेल जस्तै बग्ने छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो, 15 “म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ!

16 “यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दु:खको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दु:खको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

मिश्र देश नष्ट पारिनेछ

17 देशबाट निकालिएको बाह्रौं बर्षमा त्यही महीनाको पन्ध्रौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 18 “हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रोऊ। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।

19 “मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।

20 “मिश्रलाई ती अरूहरू सबै मानिसहरूसँग जानुपर्छ जुन युद्धमा मारिएका थिए। शत्रुले ऊ अनि उसका मानिसहरूलाई टाडा तानेर लगे।

21 “बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।

22-23 “अश्शूर अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अश्शूरका ती सबै सैनिकहरू युद्धमा मरिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्। तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अश्शूरका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चारैतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।

24 “एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए। 25 तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यान लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भएभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाल्डाभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो।

26 “मेशेक, तूबल अनि त्यसको सम्पूर्ण सेनाहरू त्यहाँ छन्। तिनीहरूको चिहानहरू चारैतिर छन्। यी बेखतनाहरू सबै युद्धमा मारिएका थिए। जब यिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। 27 तर अब तिनीहरू धेरै अघि मारिएका शक्तिशाली मानिसहरूसित लडिरहेका छन्। तिनीहरू आफ्नो आफ्नो युद्धको हतियारहरूसितै गाडिएका छन। तिनीहरूको टाउको मुनि तिनीहरूका तरवारहरू राखिएको छन्। तर तिनीहरूको पापले तिनीहरूको हड्डी ढाकेको छ। किनभने जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई आतंकित पार्थे।

28 “मिश्र! तिमी पनि नष्ट हुनेछौ। तिमी ती बेखतनेहरूसँग पसारिने छौ। तिमी ती सैनिकहरूसँग सुत्दैछौ जो युद्धमा मारिएका छन्।

29 “एदोम पनि त्यहीं छ। त्यसको राजा अनि अरू शासकहरूसित त्यहाँ छ। ती शक्तिशाली सैनिकहरू पनि छन्। तिनीहरू अब अरूहरूसँग पसारिएका छन्, जो युद्धमा मरेका थिए। ती बेखतनेहरूसित पसारिएका छन्। तिनीहरू ती मानिसहरूसँग पातालमा गएका छन्।

30 “उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।

31 “फिराऊनले ती मानिसहरूलाई देख्नेछन्, जो मृत्यु स्थलमा पुगेका छन् अनि उसका आफ्ना मानिसहरूलाई शान्ति हुनेछ। हो, फिराऊन अनि उसका सेनाहरू युद्धमा मारिने छन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

32 “जति बेला फिराऊन जीवित थियो, उसले मानिसहरूलाई भयभीत गरायो। तर अब उसलाई सबै खतना नभएकाहरूसित सुताइनेछ। फिराऊन अनि उसको सेनाहरू ती सबै अरू सैनिकहरूसँग सुत्ने छन्, जो युद्धमा मरिसकेका छन्।” परमप्रभु मेरो मलिकले यसो भन्नुभयो।

भजनसंग्रह 80

प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।

हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
    तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
    हामी तपाईंलाई हेर्छौं।
इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
    आएर हामीलाई बचाउनु होस्।
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
    हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
    के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
    त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
    हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
हे सर्वशक्तिमान् परमेश्वर,
    हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।

बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नु भयो।
    तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो।
तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो,
    अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो।
    तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो।
    चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
10 यसले पर्वतहरू ढाकेर गयो।
    यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।
11 यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो।
    यसको लहराहरू युफ्रेटिस् नदी तर्फ फैलिएर गए।
12 हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ?
    अब बाटो हिँड्नेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।
13 जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ।
    जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।
14 हे, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्।
    स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याँङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।
15 हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्।
    तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।
16 तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्।
    तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।

17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
    तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
    उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,
    हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बँचाउनु होस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International