M’Cheyne Bible Reading Plan
दाऊदले आफ्ना सेनाको संख्या गन्ती गर्न चाहे
24 परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”
2 राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्राएलको दानदेखि बेर्शेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”
3 तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”
4 राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए। 5 तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)
6 तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे। 7 सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए। 8 यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए।
9 योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।
परमप्रभुले दाऊदलाई सजाय दिनुहुन्छ
10 जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।”
11 जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। 12 परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भनेः म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’”
13 गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः तपाईं र तपाईंको देशमा सात बर्ष सम्म अनिकाल लाग्नेछ। तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्। देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकुँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”
14 दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”
15 यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइन्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मरे। 16 स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखीत हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।
दाऊदले अरौनाका खला किन्छन्
17 दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेंडाले झैं पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”
18 त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।” 19 दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। 20 अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे। 21 अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?”
दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”
22 अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्। 23 राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।”
24 तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।”
यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। 25 त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।
परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।
4 म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ ऊ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ। 2 किनभने बालक छउन्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ। 3 हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं। 4 तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो। 5 परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।
6 तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “अब्बा, पिता।”
7 यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।
गलातीका ख्रीष्टियनहरू प्रति पावलको प्रेम
8 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्। 9 अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ? 10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौ। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती सबै व्यर्थ त भएनन्?
12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। 13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। 14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो। 15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। 16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु?
17 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हौ। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन। 18 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्। 19 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु। 20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।
हागार र साराको उदाहरण
21 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ? 22 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई। 23 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।
24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो। 25 हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्। 26 तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्। 27 धर्मशास्त्रमा यो लेखिएको छः
“खुशी होऊ, हे बाँझी नारी,
जसले कुनै बालकलाई जन्म दिनु सकिनौ,
हर्षले कराऊ, जोडले चिच्याऊ,
की प्रसव पीड़ा तिमीले कहिल्यै अनुभव गरिनौ।
त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्,
पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”(A)
28 अब्राहामको एउटा छोरो सामान्य रूपले जन्मेको थियो। अर्को छोरो परमेश्वरको प्रतीज्ञा अनुसार आत्माको शक्तिले जन्मेको थियो। 29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हौ। सामान्य रूपमा जन्मने छोराले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ। 30 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”(B) 31 यसैकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।
अश्शूर एउटा देवदारूको रूख जस्तै हो
31 देशबाट निकालिएको एघारौं बर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन:
“‘तिमी अति नौ महान छौ।
तिमीलाईं कोसित तुलना गर्न सकिन्छ?
3 अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो।
यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर।
जङ्गलमा छाँयादार अनि एकदमै अग्लो देवदारूको रूख थियो!
यसको टुप्पोले बादल छुन्थ्यो।
4 पानीको मूलले त्यसलाई पोषण गर्यो।
नदीको पानीले त्यसलाई अग्लो बनायो!
नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे।
जहाँ रूखहरू रोपिएका थियो।
अरू मैदानको रूखहरूकोलागि
यहींबाट पानीको नालाहरू जान्थे।
5 यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो।
अनि यसले धेरै हाँगा-बिगाहरू फैलाएको थियो।
त्यहाँ पानी प्रशस्त थियो
यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।
6 रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले
आफ्ना गुँड बनाएका थिए!
रूखको हाँगाहरूमुनि भूमिमा
सबै जीव जन्तुले बच्चा जन्माउथे।
सबै ठूला-ठूला राष्ट्रहरू
त्यो रूखको छाहारीमा बस्थे।
7 यसकारण रूख आफ्नो महानता
अनि लामो हाँगाहरूमा सुन्दर थियो।
किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।
8 परमेश्वरका बगैंचाको कुनै देवदारूको रूख पनि
त्यस्तो थिएन जस्तो यो रूख थियो।
सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो।
देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो।
परमेश्वरको बगैंचाको कुनै पनि रूख,
यति सुन्दर थिएन जति यो थियो।
9 मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ,
अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले
यो रूखको ईर्ष्या गर्थ्यो!’”
10 यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ: “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ। 11 यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ। 12 विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए। 13 अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।
14 “अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”
15 परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए। 16 मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे। 17 हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो।
18 “यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।
“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!
आसापको स्तुतिगान।
1 हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।
ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए
तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।
2 शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले
र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।
3 परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे।
ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।
4 हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।
हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।
5 हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ?
के तपाईंको बलिया भावनाहरू[a] आगो झैं अनवरत झल्दछ?
6 हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।
तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।
7 ती सम्प्रदायरूले याकूबलाई
र उसको देशलाई ध्वंश पारे।
8 हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।
चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्,
कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
9 हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्!
बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ।
तपाईंको असल नाउँ सुनाउनको लागि,
हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
10 अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्,
“तिम्रो परमेश्वर कहाँ छ?
के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?”
परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्,
यसकारण हामी त्यो हेर्न चाहन्छौं।
तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
11 कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्!
परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस्,
जसलाई मृत्युदण्ड दिइएकोछ।
12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति
हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्।
तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
13 हामी तपाईंका मानिसहरू हौं।
तपाईंको बथानका हामी भेंडाहरू हौं।
हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं,
परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।
© 2004, 2010 Bible League International