M’Cheyne Bible Reading Plan
शाऊलको परिवारलाई सजाय हुन्छ
21 दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन बर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।” 2 (गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।)
राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे। 3 दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”
4 गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।”
दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”
5 गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो। 6 दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।”
राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।” 7 तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए। 8 दाऊदले आरमोनी र मपीबोशेत[a] तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका बर्जितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए। 9 दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।
दाऊद र रिश्पा
10 रिस्पा, एयाइकी छोरीले भाङ्ग्रा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाङ्ग्रा चट्टामाथि फसल काटिने शुरू देखि लिएर बर्षाको शुरू नहुन्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्।
11 मानिसहरूले दाऊदलाई रिश्पाको यस्तो गति-विधीमाथि सबै जानकारी गराए। 12 तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, (जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गल्बिम झुण्डाएका थिए।) 13 दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए। 14 बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।
पलिश्तीहरूसँग युद्ध
15 पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए। 16 इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो। 17 तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए।
तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन्।”
18 पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।
19 फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाइ लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।
20 गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औंलाहरू थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो। 21 त्यो मानिसले इस्राएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। (जोनाथन चाहिं दाऊदका भाइ शिमीका छोरा थिए।)
22 यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।
1 पावल, प्रेरितबाट प्रणाम। प्रेरित[a] हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो। 2 मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा[b] भएका मण्डलीहरूलाई प्रणाम।
3 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन। 4 परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैंलाई हाम्रा पापहरूका निम्ति बलि दिए। 5 उनको सदा सर्वदा महिमा होस्। आमिन।
साँच्चो सुसमाचार एउटै मात्र छ
6 केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ। 7 वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। 8 हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। 9 हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।
10 अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सम्झन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।
पावलको अधिकार परमेश्वरबाट हो
11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन। 12 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैंले मलाई यो प्रकट गर्नु भएको हो।
13 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं। 14 म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।
15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। 16 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ। 17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।
18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे। 19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्। 20 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्। 21 तब म सिरिया र सिलिसिया गएँ।
22 यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्। 23 मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।” 24 यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
टायर यो एउटा परमेश्वर जस्तै सम्झन्छ
28 परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“‘तिमी धेरै घमण्डी छौ!
अनि तिमी भन्छौ, “म एउटा देवता हुँ!
म समुद्रको माझमा,
देवताहरूको आसनमाथि बस्छु।”
“‘तर तिमी एउटा मानिस मात्र हौ परमेश्वर होइनौ।
तिमी आफैंलाई एक देवता जत्तिकै सम्झन्छौ।
3 तिमी सोच्छौ कि तिमी दानियल भन्दा बुद्धिमान छौ!
तिमी सम्झन्छौ कि तिमीले सारा रहस्यहरू जानेकाछौ।
4 आफ्नो बुद्धि र ज्ञानबाट तिमीले सम्पत्ति कमायौं
अनि तिमीले आफ्नो भण्डारमा सुन-चाँदी राख्यौं।
5 आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा तिमीले सम्पत्ति बढायौं,
अनि त्यो सम्पत्तिले गर्दा तिमी घमण्डी भयौं।
6 “‘यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ,
टायर, तिमीले सोच्यौं तिमी देवता जस्तै हौ।
7 म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु।
तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्,
तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन्
अनि ती सुन्दर चीजहरूको विरूद्धमा चलाउनेछन्,
जुन तिमीले आफ्नो बुद्धिले कमायौं।
तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछ।
8 तिनीहरूले तिमीलाई तल चिहानमा पुर्याउनेछन्।
तिमी त्यो व्यापारी जस्तै हुनेछौ जो समुद्रमा मर्यो।
9 त्यो मानिसले तिमीलाई मार्नेछ।
के अहिले सम्म तिमी भन्छौ, “म देवता हुँ?”
त्यससमय उसले तिमीलाई आफ्नो अधिकारमा लिनेछ।
त्यस समय तिमीले सम्झनेछौं कि तिमी मानिस मात्र हौं, परमेश्वर होइनौ।
10 तिमी परदेशीहरूको हातमा बेखतनाको मानिस झैं मर्नेछौ।
यो हुने नै छ किनभने मैले यस्तो भनेकोछु।’”
परमप्रभु मेरो मालिकले यी सब भन्नुभयो।
11 परमप्रभु मेरो मालिकको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 12 “हे मानिसको छोरो, टायरको राजाको विषयमा दु:खपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“‘तिमी आदर्शवाद मानिस थियौं,
तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णत सुन्दर थियौ।
13 तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा,
तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो,
माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा,
गोमेद, आनिकस, जस्पर नीलम, हरितमणि अनि नीलमणि,
अनि हेरक रत्नमा सुन जडिएको थियो।
तिनीहरूलाई यो सुन्दरता दिएको थियो
जुन दिन तिम्रो सृजना गरिएको थियो,
तिनीहरू तिम्रो लागि तयार गरिए।
परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।
14 तिमी चुनिएका करूब स्वर्गदूत थियौं।
तिम्रो पखेंटा मेरो सिंहासन सम्म फैलिएको थियो
अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें।
तिमी त्यो रत्नको बीचमा हिँड्यौ जुन आगो जस्तै दन्किरहेको थियो।
15 तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ।
तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो।
16 तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो
तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं।
यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें,
मानौं तिमी अपवित्र चीज हौ।
मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ।
तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ
तिम्रो पखेंटा मेरो सिंहासनमा फैलिएको थियो,
तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।
17 तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं,
तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो,
यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ
अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्।
18 तिमीले धेरै नराम्रो काम गर्यौ,
तिमी अत्यन्तै कपटी व्यापारी थियौ।
यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौ,
यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए,
यसकारण तिमीलाई आगोले जलायो,
अनि तिमी जमीनमा खरानी भयौं।
अब प्रत्येकले तिम्रो लाज देख्नेछन्।
19 “‘अरू देशको सबै मानिसहरू,
तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए।
तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए।
तिम्र अन्त भयो।’”
सीदोनको बिरूद्धमा सन्देश
20 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन। 22 भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“‘सीदोन म तिम्रो विरूद्धमा छु।
तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्,
म सीदोनलाई दण्ड दिन्छु,
त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।
त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु।
अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।
23 म सीदोनमा रोग अनि मृत्यु पठाउँछु,
अनि मेरा मानिसहरू शहर भित्र मर्ने छन्।
शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउँनेछ।
त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हुँ।’”
देशहरू इस्राएलको हाँसो उडाउन बन्द गर्ने छन्
24 “‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।’”
25 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ। 26 तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउँनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”
प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति आसापको भजन।
1 मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।
हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
2 मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ,
तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
3 मैले परमेश्वरको बारेमा सोचें,
अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
4 तपाईंले मलाई सुत्न दिनु भएन,
म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
5 मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।
धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
6 रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें।
मैले आफैंलाई बुझ्ने कोशिश गरें।
7 म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?
के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न?
8 के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?
के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ?
9 करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो?
उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”
10 तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः
‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’”
11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।
परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु,
जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें।
म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्,
तपाईं बाहेक कोही पनि महान् छैन।
14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।
तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।
15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो
तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो।
गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
17 बाक्लो बादलहरूले पानी बर्षाए।
मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा
बिजुली चम्केको देखें।
18 त्यहाँ बिजुलीको गडगडाहट थियो,
तब बिजुलीको चमक्ले संसार नै उज्यालो पार्यो,
अनि पृथ्वी थर-थर काँप्न थाल्यो।
19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो,
तपाईंले गहन समुद्र पार गर्नुभयो,
तर तपाईंले कुनै छाप छोड्नु भएन।
20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ,
मोशा र हारूनलाई खटाउनु भयो।
© 2004, 2010 Bible League International