M’Cheyne Bible Reading Plan
शेबाले इस्राएलीहरूलाई दाऊदबाट छुट्टै अगुवाई गर्छन
20 त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,
“हामीसित दाऊदको भाग छैन।
यिशैको छोरामा हाम्रो कुनै अंश छैन।
इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”
2 यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।
3 दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिन्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्न। तिनीहरूले विधवाको जस्तै जीवन बिताए।
4 राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।”
5 आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।
दाऊदले अबीशैलाई शेबाको हत्या गर्न अह्राउँछन्
6 दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।”
7 यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे।
योआबले अमासालाई मार्छन्
8 जब गिबोनका ठूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेट्न आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेट्न गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए। 9 योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे। 10 अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो।
दाऊदका मानिसहरूले अझै शेबाको खोजी गर्छन्
तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्। 11 योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।”
12 अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो। 13 बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।
शेबा भागेर आबेल-बेतामाका लाग्छन्
14 बिक्रीको छोरा शेबा सबै इस्राएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे।
15 योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्।
16 तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”
17 त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?”
योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।”
तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।”
योआबले भने, “म सुन्दैछु।”
18 तब त्यस महिलाले भनिन्, “पहिले-पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’ 19 म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”
20 योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन। 21 तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।”
त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।”
22 तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए।
त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।
दाऊदका अधिकारीबर्ग
23 योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए। 24 अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए। 25 शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए। 26 अनि याइरी ईरा चाँहि दाऊदका मुख्य सल्लाहाकार थिए।
अन्तिम चेतावनी र शुभकामना
13 म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुइ अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्नु पर्छ।” 2 जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिनीहरूलाई मैले चेताउनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाढा छु, तिनीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु। 3 ख्रीष्ट मबाट बोल्दैछन् भन्ने प्रमाण चाहन्छौ भने मेरो प्रमाण छ कि ख्रीष्ट तिमीहरूलाई दण्ड दिन दुर्वल हुनुहुन्छ। वास्तवमा उहाँ तिमीहरूको बीचमा बलियो हुनुहुन्छ 4 यो साँच्चो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घड़ी उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँच्चो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।
5 तिमी आफैंलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न। 6 तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौं। 7 परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठूलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफैं असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर। 8 सत्यको विरूद्ध हामी केही गर्न सक्दैनौं। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौं। 9 तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खुशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ। 10 तिमीहरूसित नहुँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कड़ासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनुभयो।
11 दाज्यू-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
12 एक अर्काको अभिवादन पवित्र चुम्बनले गर। परमेश्वरका सबै पवित्र जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सधैँ होस्।
टायर समुद्रहरूमाथि व्यापारको महान केन्द्र
27 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! टायर शहरको विषयमा यो दु:खको गीत गाऊ। 3 टायरको विषयमा यसो भन:
“‘टायर, तिमी समुद्रको द्वार हौं।
तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ,
समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ।
तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।
4 भूमध्य सागर तिम्रो शहरको चारैतिर सीमाना बनाउँछ!
तिम्रो निर्माताहरूले तिमीलाई पूर्णत सुन्दर बनाए।
तिमी त्यो जहाजहरू जस्तै छौ जुन तिमीबाट यहाँ आउँछ।
5 तिम्रा निर्माताहरूले तिम्रो सबै काठपातहरू बनाउनका निम्ति
सेनीर पर्वतबाट केदार काठको प्रयोग गरे।
तिनीहरूले तिम्रो मस्तूल बनाउनको निम्ति
लबानोनबाट देवदार काठको प्रयोग गरे।
6 तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको
बज्राँठका तक्ताहरूबाट बनाए।
तिम्रो जहाजका कोठाहरू बनाउन
तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे।
तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे।
7 तिम्रो जहाजको पालका निम्ति तिनीहरूले
मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे।
तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो।
तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।
8 सीदोन अनि अर्वादको निवासीहरू तिम्रो लागि नाविक भए।
बुद्धिमान मानिस टायर तिम्रो जहाजको चालक भयो।
9 गबालका बूढा-प्रधानहरू
अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी
टाल-टुल गर्नुको निम्ति जहाजमा थिए।
समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।
10 “‘फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए। 11 अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए।
12 “‘तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो। 13 याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसाका भाँडा दिन्थे। 14 तोगर्मा राष्ट्रका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे। 15 रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे। 16 एदोमले तिमीसँग व्यापार गर्थे किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा, नीलमणि, बैजनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।
17 “‘यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए। 18 दमीश्कस एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धैरे प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यपार गर्यो। 19 जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो। 20 ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो। 21 केदारका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेंडा़ अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए। 22 शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे। 23 हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे। 24 तिनीहरूले सर्वोत्तम लुगाहरू, बुट्टा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैंचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्यौ। 25 तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो।
“‘टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ,
तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।
26 तिम्रो नाविकहरूले, तिमीलाई विशाल,
अनि शक्तिशाली समुद्र पारि लिएर गयो,
तर शक्तिशाली पूर्वी बतासले,
तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो।
27 अनि तिम्रो सबै सम्पत्ति समुद्रमा डुब्नेछ।
तिम्रो सम्पत्ति, तिम्रो व्यापार, किन्ने अनि बेच्ने चीजहरू,
अनि तिम्रो नाविकहरू र तिम्रो मानिसहरू,
जो तिम्रो जहाजको पिँध टाल-टुल गर्छन्,
तिम्रो मल्लाह, तिम्रो शहरको सबै सैनिक,
अनि तिम्रो नाविक सबै समुद्रमा डुब्नेछन्।
यो त्यही दिन हुनेछ जुन दिन तिमी नष्ट हुनेछौ!
28 “‘तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ,
जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ!
29 जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन्
अनि समुद्रको किनारमा उभिनेछन।
30 ऊ तिम्रो विषयमा धेरै दु:खी हुन्छ! ऊ धुरू-धुरू रूनेछ।
उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ।
ऊ खरानीमा लडीबडी गर्नेछ।
31 उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ।
उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछ,
ऊ चिच्याउँछ र आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।
32 “‘तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूनेछन्:
“‘कोही टायर जस्तो छैन!
समुद्रको बीचमा टायर नष्ट गरिदियो।
33 तिम्रो व्यापारीहरू समुद्र पारि गए!
तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति,
अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ,
तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!
34 तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयौ।
तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!
35 समुद्र किनारमा बस्ने सबै मानिसहरू
तिम्रा निम्ति शोक-ग्रस्त छन्।
तिनीहरूको राजा भयानक रूपसँग डराउँछन्
तिनीहरूको अनुहारमा आ घात देखिँदैछ।
36 अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्।
घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्,
किनकि तिम्रो अन्त्य आएकोछ।
तिमी भविष्यमा रहनेछैनौं।’”
प्रमुख संगीतकारलाई: “नष्ट नहोस्” भन्ने रागमा। दाऊदको भजन।
1 हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौं।
हामी तपाईंको प्रशंसा गर्छौ, तपाईं छेउमा हुनुहुन्छ,
अनि मानिसहरूले तपाईंले गर्नु भएको अचम्मका कुराहरूका बारेमा भन्दछन्।
2 परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु,
म निष्पक्ष न्याय गर्नेछु।
3 यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन्,
र धराशायी हुन तयार छ,
तर म यसलाई स्थिर पार्छु।”
4 “कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।
तिनीहरू स्वयंलाई शक्तिशाली र महत्वपूर्ण सोच्दछन्।
5 तर म ती मानिसहरूलाई भन्छु,
‘शेखी नगर! यति साह्रो अंहकारी नहौ!’”
6 पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन
जसले कुनै मानिसलाई महत्वपूर्ण पार्छ।
7 परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ।
अनि उहाँले नै को महत्वपूर्ण हुनेछ, भन्ने कुराको निर्णय गर्नुहुन्छ।
परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ,
उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
8 परमेश्वर सधैँ दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ।
परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ,
जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ।
उहाँले त्यो विषयुक्त दाखमद्य खन्याउनुँ हुन्छ,
अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
9 म यस बारेमा सधैँ मानिसहरूलाई भन्नेछु।
म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।
10 परमप्रभु भन्नुहुन्छ, “म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु,
अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।”
वाद्य-वादन साथ संगीतकारले गाउनु पर्ने आसापको भजन।
1 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्।
इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्छन्।
2 शालेममा परमेश्वरको मन्दिर छ।
परमेश्वरको घर सियोन पर्वतमा छ।
3 त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार
र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।
4 हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ,
जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो,
तपाईं गौरवमय देखिनु हुन्छ।
5 ती सिपाहीहरूले आफू बलियो भएको सोचे।
तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्।
तिनीहरूको शरीर लुटिएर लडिरहेको छ।
ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
6 जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो,
घोडसवारहरू र घोडाहरू मरे।
7 हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ!
जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
8-9 परमप्रभु न्यायकर्ता झौं उभिनु भयो र निर्णय घोषणा गर्नुभयो,
परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।
स्वर्गबाट उहाँले निर्णय दिनुभयो,
सम्पूर्ण पृथ्वी निस्तब्ध र भयभीत भए।
10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ,
तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्।
तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ,
अनि जीवित् रहनेहरू बलिया हुन्छन्।
11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ।
अब उहाँप्रति ती वचनहरू पूरा गर।
प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्।
तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
12 परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ।
पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।
© 2004, 2010 Bible League International