M’Cheyne Bible Reading Plan
योआबले दाऊदलाई गाली गर्छन्
19 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।” 2 दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।”
3 मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। 4 राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड-जोडले रोइरहेका थिए।”
5 योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए। 6 जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो। 7 अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”
8 त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए। अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।
दाऊद फेरि राजा भए
9 इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्क-बितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे। 10 यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”
11 राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे। 12 तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयौ?’ 13 अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।’”
14 दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”
15 तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे।
शिमीले राजा दाऊदसँग क्षमा मागे
16 गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेट्न हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए। 17 झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।
18 ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेट्न आए। 19 राजाको अघि भुइँतिर झुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरें त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गरेका कु-कर्महरू नसम्झनुहोस्। 20 मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेट्ने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”
21 तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”
22 दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरूद्धमा छौ। इस्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।”
23 तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए।
मपीबोशेत दाऊदलाई भेट्न जान्छन्
24 शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइन्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुँगा काटेनन् र लुगाफाटा धोएनन्। 25 जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?”
26 मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेट्न जान्छु।’ 27 तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेट्न गए अनि तिनले अघि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्। 28 तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”
29 राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”
30 मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”
दाऊदले बर्जितलाई डाके
31 गिलादीको बर्जितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए। 32 बर्जितले 80 बर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। बर्जितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए। 33 दाऊदले बर्जितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु।”
34 तर बर्जितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति बर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ? 35 म 80 बर्षको मानिस हुँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ? 36 तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु। 37 तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई प्रयोग गर्न सक्नु हुन्छ।”
38 राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”
दाऊद घर फर्कन्छन्
39 राजाले बर्जितलाई म्वाईं खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।
40 राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए।
इस्राएलीहरूले यहूदाका मानिसहरूसँग तर्क गर्छन्
41 सबै इस्राएलीहरू राजा कहाँ आए र भने, “हाम्रो दाज्यू-भाइहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”
42 यहूदाका सबै मानिसहरूले इस्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”
43 इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढ्ता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।”
तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियो।
पावलको जीवनमा विशेष आशिष
12 अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु। 2 म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। 3-4 म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगियो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन। 5 म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व गर्दिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।
6 यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किनकि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्।
7 मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म गर्वित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो। 8 यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें। 9 तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ। 10 यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।
कोरिन्थिका ख्रीष्टयन प्रति पावलको प्रेम
11 म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। 12 जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरें। 13 कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफैं तिमीहरूकोलागि भार भइनँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।
14 तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ। 15 यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैंलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?
16 यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यंईं प्रयोग गरें। 17 तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। 18 मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अँहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं।
19 के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। 20 म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला 21 मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लन्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।
टायरको विषयमा दु:खको समाचार
26 देशबाट निकालिएको एघारौं बर्षको पहिलो महीनाको पहिलो दिनमा, परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। ‘चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।’”
3 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरूद्धमा छु! म तिम्रो विरूद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँनेछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँनेछ।”
4 परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाई दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चट्टानमा परिणत गर्नेछु। 5 टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान झैं अन्य राष्ट्रहरूलाई दिइनेछ। 6 मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”
नबूकदनेस्सरले टायरमाथि आक्रमण गर्नेछ
7 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरूद्धमा उत्तरबाट शत्रु ल्याउँनेछु। बाबेलको महान राजा नबूकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्। 8 नबूकदनेस्सरले मूल-प्रदेशमा तिम्रो छोरीहरूलाई (सानो शहरहरू) मार्नेछ। त्यसले तिम्रो शहरमा आक्रमण गर्नका निम्ति किल्ला बनाउँनेछ! त्यसले तिम्रो शहरको चारैतिर कच्चा सडकहरू बनाउनेछ। त्यसले पर्खाल सम्म पुग्ने एउटा कच्चा बाटो बनाउँनेछ। 9 त्यसले तिम्रो पर्खालहरू भत्काउन काठको मूढाहरू लिएर आउँनेछ। तिम्रो किल्लाहरू भत्काउन उसले शक्तिशाली हतियारहरू प्रयोग गर्नेछ। 10 त्यसको घोडाहरूको संख्या यति ज्यादा हुनेछ कि तिनीहरूले उडाएको धूलोले तिमीलाई छोप्नेछ। जब बाबेलको राजा शहर द्वारबाट शहरमा प्रवेश गर्छन् तिम्रो पर्खालहरू घोडसवार सैनिकहरू, माल गाडीहरू अनि रथहरूको आवाजले हल्लिनेछन्। हो, त्यो तिम्रो शहरमा आउनेछ किनकि त्यसको पर्खाल भत्काइनेछ। 11 बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पार्दै आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्नेछ। 12 नबूकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीजहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यौ, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा फ्याँकिदिनेछ। 13 यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्। 14 म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
अन्य देशहरू टायरको निम्ति रूनेछन्
15 परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्। 16 तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दु:ख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले भाङ्ग्रा (जुटको) लुगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चाँडै नष्ट भएकोमा आघात हुनेछन्। 17 तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्:
“‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ।
समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए।
तिमी प्रसिद्ध थियौ।
तर अहिले तिमी केही छैनौ।
तिमी समुद्रमा शक्तिशाली थियौ
अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए।
तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई,
भयभीत पार्यो।
18 अब जुन दिन तिम्रो पतन हुन्छ,
समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ।
तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ,
जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।’”
19 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ। 20 म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ! 21 अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
आसापको “मस्किल” भन्ने भजन।
74 हे परमेश्वर, के तपाईंले हामीलाई सधैँको निम्ति त्याग्नु हुन्छ?
के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?
2 तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्।
तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ।
जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।
3 परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्,
पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।
4 शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए।
तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।
5 शत्रुका सैनिकहरू यस्ता देखिन्छन्,
कि घाँस काट्ने मानिसहरू घाँस काटिरहे जस्तो।
6 हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै,
तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।
7 ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए।
जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो
तिनीहरूले त्यो मन्दिर भूईँमा लडाए।
8 शत्रुले हामीलाई पूर्ण रूपले तहस्-नहस् पार्ने निर्णय गरे,
तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
9 हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं।
अब त्यहाँ अगमवक्ताहरू छैनन्।
के गर्नु पर्ने कसैले जान्दैनन्।
10 हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो?
के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैँ दिइरहनुहुन्छ?
11 हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ?
तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
12 हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ,
तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।
13 हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो,
समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
14 तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो,
तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो,
अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।
15 तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो
अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
16 हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ।
तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
17 तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो।
अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
18 हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो।
ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
19 ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्!
तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!
20 हाम्रो करार याद गर्नुहोस्!
यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ।
21 हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्ब्हाबार गरियो।
तिनीहरू प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्।
दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्।
22 हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्!
सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
23 तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्,
तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।
© 2004, 2010 Bible League International