M’Cheyne Bible Reading Plan
दाऊद युद्धको निम्ति तयार हुन्छन्
18 दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने। 2 दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकहरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई ईत्तैबाटका गित्तीको अधिकारमा थिए।
राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”
3 तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।”
4 राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।”
तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे।
5 योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालु बन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने।
दाऊदका सेनाले अब्शालोमका सेनालाई हराउँछन्
6 दाऊदका सैनिकहरूले अब्शालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एप्रैमको जङ्गलभित्र लडाईं गरे। 7 दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए। 8 देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे।
9 अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढा भाग्ने चेष्टा गरे। खच्चर बजराँठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए।
10 एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बजराँठको रूखमा अब्शालोम झुण्डिरहेको देखें।”
11 योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!”
12 त्यस मानिसले योआबलाइ भने, “यदि मलाई 1,000 चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरालाई केही गर्ने थिइनँ। कारण राजाले तपाईं अबीशै र इत्तैलाई भएको आदेश हामीले सुन्यौ। राजाले भनेका थिए, ‘नौजवान अब्शालोमलाई चोट नपुर्याउनु।’ 13 यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।”
14 योआबले भने, “म यहाँ तँसँग समय बरबाद गर्दिन।”
अब्शालोम अझै जीवितै बजराँठको रूखमा झुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अब्शालोमलाई हाने। भाला गएर अब्शालोमको मुटुमै रोपियो। 15 योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन्। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।
16 अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके। 17 योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए।
अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए।
18 जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।
योआबले दाऊदलाई समाचार पठाउँछन्
19 सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर सूचना दिन्छु।”
20 योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किनभने राजाका छोरा मारिएका छन्।”
21 तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई स्चना गर।”
कूशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे।
22 तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”
योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिंदा तैंले कुनै पुरस्कार पाउने छैनस्।”
23 अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।”
योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।”
तब अहीमास यर्दन बेंसी भएर कूशीलाई नाघेर गए।
दाऊदले खबर सुन्छन्
24 दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एक्लै कुद्दै आइरहेको देखे। 25 पहरादारले चिच्याएर राजा दाऊदलाई भने।
राजा दाऊदले भने, “यदि मानिस एक्लै छ भने त्यसले खबर ल्याउँदैछ।”
शहरको नजिकै त्यो मानिस आइपुग्यो। 26 पहरादारले अर्को मानिस पनि कुद्दै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एक्लै कुदेर आइरहेछ।
राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”
27 त्यस पहरादारले भने, “मलाई लाग्दैछ त्यो पहिला कुद्दै आउने चाहिं सादोकका छोरा अहीमास हुनुपर्छ।”
राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”
28 अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अघि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाऔ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”
29 राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?”
अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”
30 तब राजाले भने, “यहाँ उभ र पर्ख।” अहीमास त्यहाँ उभिए र पर्खिए।
31 कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”
32 राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?”
कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”
33 तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”
पावल र झूटा प्रेरितहरू
11 जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ। 2 मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु। 3 तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। 4 यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।
5 तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्। 6 साँच्चो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।
7 सित्तैमा तिमीहरूलाई मैले परमेश्वको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झारें। त्यो भूल भयो र? 8 मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सकुँ भनेर मैले तिनीहरूबाट पैसा लिएँ। 9 जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिएँ। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइनँ। अनि कहिल्यै भार बन्ने छैन पनि। 10 यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोक्ने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु। 11 अनि किन म भार थिइनँ? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।
12 अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्। 13 तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्। 14 त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। 15 यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।
पावल आफ्ना कष्टहरू सुनाउँछन्
16 म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै सम्झन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ। 17 म गर्व गर्छु किनकि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु। 18 धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु। 19 तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ। 20 यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफैं घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ। 21 तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।
तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु। 22 के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हुँ। 23 तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हुँ।
24 मैले पाँच पल्ट यहूदीहरूबाट उनन्चालिस कोर्रा खाएको छु। 25 तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ। 26 मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।
27 मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो। 28 अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु। 29 कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो।
30 यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्। 31 परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ। 32 जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे। 33 तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।
अम्मोनको बिरूद्ध अगमवाणी
25 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरूद्धमा केही भन। 3 अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ: तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए। 4 यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बस्नेछन्। उनीहरू तिमीहरूको फल खानेछन अनि तिमीहरूका दूध पिउनेछन्।
5 “‘म रब्बा शहरलाई ऊँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेंडा़हरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। 6 परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ। 7 यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।’”
मोआब अनि सेइरको बिरूद्ध अगमवाणी
8 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’ 9 म मोआबको काँध काट्नेछु यी शहरहरू बेत्याशीमोत, बाल्मोन अनि किर्यातैम जुन त्यस देशको महिमा हुन म लिनेछु। 10 त्यसपछि म यी शहरहरू पूर्वका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिन्छन् अनि म अम्मोनका मानिसहरूलाई एउटा राष्ट्र हुनदिन्छु। त्यसपछि प्रत्येकले बिर्सिनेछ कि अम्मोनका मानिसहरू त्यही राष्ट्रका थिए। 11 यस्तो प्रकारले म मोआबलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”
एदोमको बिरूद्ध अगमवाणी
12 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।” 13 यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्। 14 म आफ्ना मानिसहरू, इस्राएल एदोमको विरूद्ध उपयोग गर्छु। यस्तो प्रकारले इस्राएलका मानिसहरूले मेरा क्रोधलाई एदोमको विरूद्ध व्यवहार गर्छन्। त्यसपछि एदोमका मानिसहरूले बुझ्नेछन् मैले तिनीहरूलाई दण्ड दिएँ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
पलिश्तीहरूको बिरूद्ध अगमवाणी
15 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।” 16 यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिश्तीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पार्छु। म समुद्रको किनारमा बस्ने ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पार्छु। 17 म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बद्ला लिन्छु। म आफ्नो क्रोधद्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”
तेस्रो भाग
(भजनसंग्रह 73–89)
आसापको स्तुति-गान।
73 साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ।
परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।
2 म प्रायः चिप्लिएँ र नियन्त्रण हराएँ।
म प्रायः चुकें अनि पाप गर्न थालें।
3 मैले दुष्ट मानिसहरू सफल भएको देखें।
म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
4 ती मानिसहरू ह्रिष्टपुष्ट छन्।
तिनीहरूलाई बाँच्नको लागि सङ्घर्ष गर्नु पर्दैन।
5 ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्।
अन्य मानिसहरू जस्ता तिनीहरू सङ्कटमा छैनन्।
6 यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्।
तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।
7 यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए,
तिनीहरू जान्छन् र लिन्छन्,
तिनीहरूले जे चाहे पनि गर्दछन्।
8 तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन्,
तिनीहरू घमण्डी र हठी खालका छन्
अनि तिनीहरूले सधैँ नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
9 ती अहंकारीहरू आफूलाई देवता मान्दछन्।
तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।
10 यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए,
र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।
11 ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्!
सर्वोच्च परमेश्वरले जान्दैनन्।”
12 ती घमण्डी मानिसहरू दुष्ट छन्,
तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
13 यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु?
किन मैले मेरो हातहरू धोई सफा राख्नु।
14 हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु
अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।
15 हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु।
तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।
16 मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें।
तर ती सबै मेरो लागि एकदम कठिन थिए।
17 जबसम्म म परमेश्वरको मन्दिरमा गईनँ,
तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिनँ।
18 परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ।
सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
19 सङ्कट अचानक आउन सक्छ,
तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्।
भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन्
अनि तिनीहरू समाप्त हुन्छन्।
20 हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्,
हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्।
हाम्रो सपनाका राक्षसहरू जस्ता
तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।
21-22 म अज्ञानी थिएँ।
मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यार्थै खिन्न भएँ।
हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ।
मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।
23 म सधैँ नै तपाईंसँग साथमा छु।
हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
24 हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ।
त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।
25 हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु।
अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।
26 मेरो तन र मन नष्ट हुन सक्छ,
तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु।
मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
27 हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ।
तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
28 म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो।
मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ।
परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।
© 2004, 2010 Bible League International