M’Cheyne Bible Reading Plan
अहीतोपेलले दाऊदबारे सल्लाह दिन्छन्
17 अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु। 2 जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। 3 त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।”
4 यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो। 5 तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”
हूशैले अहीतोपेलको सल्लाहलाई खतम पारिदिन्छ
6 हूशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।”
7 हूशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन। 8 तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। 9 जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दैछन्।’ 10 तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्।
11 “म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफैं युद्धभूमिमा जानुहोस्। 12 हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। 13 तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेंसीको तल तान्ने छौ एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन्।”
14 अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।
हूशैले दाऊदलाई चेतावनी पठाउँछन्
15 हूशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हूशैले अहीतोपेलको अब्शालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हूशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हूशैले भने, 16 “दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरुभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”
17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पर्खिएका थिए। शहरभित्र आफू नदेखुन् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिँडे।
18 तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहूरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए। 19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्। 20 अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”
त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”
अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।
21 अब्शालोमको नोकर हिँडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”
22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सूर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।
अहीतोपेलले आत्माहत्या गर्छन्
23 अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।
अब्शालोमले यर्दन नदी पार गरे
24 दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए। 25 अब्शालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरूयाहकी बहिनी नाहाशकी छोरी थिइन्। सरूया योआबकी आमा थिइन्। 26 अब्शालोम र इस्राएलीहरूले गिलादमा छाउनी बसाए।
शोबी, माकिर अनि बर्जिलाइ
27 दाऊद महनैम पुगे। शोबी, माकीर र बर्जिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। बर्जिलाइ गिलादका रोग्लीमबाट थिए।) 28-29 ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेंडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।
पावल आफ्नो सेवकाइको प्रतिक्षा गर्छन्
10 म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिन्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु। 2 फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिनीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला। 3 हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं। 4 हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बलियो किल्ला समेत नाश पार्न सक्छ। हामी मानिसहरूका तर्कहरू नाश गर्छौं। 5 अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ। 6 तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ।
7 तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले सम्झनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं। 8 त्यो साँच्चो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन। 9 यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन। 10 कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” 11 यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।
12 हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ।
13 तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ। 14 हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं। 15 हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ़छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ। 16 हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं। 17 तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”(A) 18 किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैंलाई असल मान्छ।
भाँडो अनि मासु
24 परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं बर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’ 3 यो कुरा त्यो घरानालाई (इस्राएल) भन जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“‘भाँडा आगोमाथि राख,
भाँडा राख अनि त्यसमा पानी हाल।
4 त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल,
फिला अनि कुमको मासुको टुक्राहरू हाल।
भाँडा सर्वोत्तम हड्डीहरूले पूरा भर।
5 बगालको राम्रो-राम्रो पशुहरू मार,
भाँडाको तल पूरा आगो लगाऊ,
अनि मासुको टुक्राहरू पकाऊ।
सुरूवालाई त्यस बेला सम्म पकाऊ,
जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’
6 “‘यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
यो यरूशलेमको निम्ति नराम्रो हुन्छ।
यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ।
यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ,
अनि त्यो खियाको दाग जब सम्म हट्दैन,
त्यो भाँडा शुद्ध हुँदैन यसकारण मासुको प्रत्येक टुक्रा,
भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाऊ।
पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!
7 यरूशलेम त्यो कलंकित दाग लागेको भाँडा जस्तै हो।
किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ!
उसले खुल्ला चट्टानमा रगत हाली।
उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।
8 मैले त्यसको रगत खुल्ला चट्टानमा हालें।
यसकारण यो नछोपियोस्।
मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होउन्,
अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।
9 “‘यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ।
म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।
10 भाँडाको मुनि धेरै दाउरा लगाऊ।
आगो बाल राम्रोसँग मासु पकाऊ।
मसला मिलाऊ अनि हड्डीहरू बेस्सरी पकाऊ,
जब सम्म ती हड्डीहरू गल्दैनन्।
11 तब भाँडालाई खाली कोईलामा छोडीदेऊ।
यसलाई यति तातो हुनु देऊ कि
यसको दाग पनि डडोस्।
त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्।
12 “‘यरूशलेमले आफ्नो दागलाई धनुको लागि,
कठोर परिश्रम गर्न सक्छ
तर त्यो ‘खिया’ जाँदैन।
आगोले (दण्डले) मात्र त्यो खिया हटाउनु सक्छ!
13 “‘तिमीले मेरो विरूद्ध पाप गर्यौ,
अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें,
अनि तिमीलाई शुद्ध बनाउन चाहें।
तर दाग बाहिर आएन।
म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन।
जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।
14 “‘म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दु:खीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ। परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।’”
इजकिएलको पत्नीको मृत्यु
15 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ, तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैंलाई रून नदेऊ। 17 तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैँ जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”
18 त्यसको अर्को बिहान, म मानिसहरूलाई भन्दै थिएँ। त्यही साँझ मेरी पत्नीको मृत्यु भयो। अर्को बिहान मैले त्यही गरें जुन परमेश्वरले मलाई आज्ञा दिनु भएको थियो! 19 त्यसपछि मानिसहरूले मलाई सोधे, “तिमीले यो काम किन गरिरहेकाछौ? यसको अर्थ के हो?”
20 मैले तिनीहरूलाई भने, “परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 21 इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्। 22 तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्। 23 तिमीहरूले आफ्नो फेटा अनि जुत्ता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रूने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ, तिमी चुपचाप आफ्नो अफशोस् अरूसँग गर्नेछौ। 24 यसकारण इजकिएल तिम्रो निम्ति एउटा उदाहरण हो। तिमीले त्यही सब गर्नेछौ जुन उसले गर्यो। दण्डको समय आउँनेछ अनि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।’”
25-26 “हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरहेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु। बाँच्नेहरू मध्ये एकजनाले तिमी कहाँ नराम्रो समाचार लिएर आउनेछ। 27 त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् म, नै परमप्रभु हुँ।”
सुलेमानको भजन।
1 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)
© 2004, 2010 Bible League International