M’Cheyne Bible Reading Plan
अब्शालोमले धेरै मित्रहरू बनाउँछन्
15 त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे। 2 बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्ति समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।” 3 तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।”
4 अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।”
5 अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अघि आएर झुकेर अभिवादन गरे भने, अब्शालोमले अघि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे। 6 अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए।
अब्शालोमले दाऊदको राज्य लिने योजना बनाउँछ
7 चार बर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्। 8 मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’”
9 राजा दाऊदले भने, “शान्तिसित जाऊ।”
अब्शालोम हेब्रोन गए 10 तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’”
11 अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए। 12 अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।
दाऊदले अब्शालोमको षड्यन्त्र बुझे
13 दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।”
14 तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोड्ने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।”
15 राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।”
दाऊद र तिनका मानिसहरू भाग्छन्
16 राजा दाऊद उसको महलमा बस्ने जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे 17 राजा आफ्ना मानिसहरूका साथमा हिंडे। अन्तिम महलमा पुगेर तिनी रोकिए। 18 त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। (अघाडी 600 गित्तीहरू राजासित आए।) गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए।
19 राजाले गित्तीबाट आएका इत्तैलाई भने, “तिमीहरू किन हामीसँग हिंडदैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हौ। यो तिमीहरूको मातृभूमि होइन। 20 क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।”
21 तर इत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।”
22 दाऊदले इत्तैलाई भने, “आऊ, हामी किद्रोन बेंसी तरौं।”
त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेंसी तरे। 23 सबै मानिसहरू चिच्चाई रहेका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए। 24 सादोक र तिनीसँग भएका लेवीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे।
25 राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ। 26 तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”
27 राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ। 28 तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्छन्।”
29 यसैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यहीं बसे।
दाऊद अहीतोपेलको बिरूद्धमा प्रार्थना गर्छन्
30 दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।
31 एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।” 32 दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।
33 दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयौ भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ। 34 तर यदि तिमी यरूशलेम फर्कियौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हुँ। मैले तपाईंको पितालाई सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु।’ 35 पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ। 36 सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नदेऊ।”
37 तब दाऊदका साथी हूशै शहर गए। अनि अब्शालोम यरूशलेम पुगे।
ख्रीष्टिय दान
8 अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो। 2 ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो। 3 ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन। 4 तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे। 5 अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ। 6 यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे। 7 तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं।
8 मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु। 9 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
10 अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ। 11 यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ। 12 तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन। 13 जब अरूहरू सुखी रहाँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबथोक बराबरी होस् भन्ने चाहन्छौं। 14 यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्। 15 धर्मशास्त्रमा यस्तै लेखिएको छः
“जसले धेरै बटुल्यो उसको धेरै रहेन,
जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”(A)
तितस र उनका साथीहरू
16 म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ। 17 हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो। 18 तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्। 19 हामीले यस्तो दान लिएर हिँड्दा यी भाइ हामीसित हिँड्न मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।
20 यो घरै धन व्यावहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपाओस्। यसर्थ हामी खुबै सर्तक छौं। 21 हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
22 अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैँ अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
23 अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्। 24 त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन गर्वित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
इजकिएल यरूशलेमको बिरूद्धमा बोल्छन
22 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे? 3 तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।
4 “‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्। 5 टाढा अनि नजिकका मानिसहरूले तिम्रो हाँसो उडाउने छन्। तिमीले आफैंलाई बदनाम गर्यौ। तिमी उपद्रोले भरीएका छौ।
6 “‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्। 7 यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्। 8 तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्। 9 यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन्।
“‘यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्। 10 यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्। 11 कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्। 12 यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
13 परमेश्वरले भन्नुभयो, “‘अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउँनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु। 14 के त्यसपछि तिमी वीर बन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउँनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अँहँ म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें! 15 म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु। 16 तर यरूशलेम तिमी अपवित्र हुन्छौ अनि अरू देशहरूले यो घटना देख्नेछ। त्यसपछि तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।’”
इस्राएल बेकामको मरुभूमि जस्तै छ
17 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
18 “हे मानिसको छोरो, तामा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ। 19 यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएकाछौ। त्यसकारण म तिमीहरूलाई यरूशलेम भित्र भेला गराउनेछु। 20 कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो। 21 म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ। 22 चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।’”
इजकिएल यरूशलेमको विरूद्ध बोल्छन्
23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! यरूशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हौ जुन सफा पारिएको छैन्। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन। 25 यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमूल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई विधवा बनाए।
26 “पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।
27 “यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फाइदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
28 “अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिदैनथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगार जस्तै हुन जसले पर्खाल दृढ बनाउँदैन केवल दूलोमा लेप लगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको प्रयोग भविष्य जान्नका निम्ति गर्छन्। तर तिनीहरू खाली झूटो बोल्छन्। तिनीहरू भन्छन्, ‘परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।’ तर तिनीहरू खाली झूटो बोलिरहेछन् परमप्रभुले तिनीहरूसँग बात गर्नुभएन।
29 “सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।
30 “देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउनँ सकिनँ। 31 यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
प्रमुख संगीतकारलाई: “लिलिको धुनमा” दाऊदको भजन।
1 हे परमेश्वर, मेरो सम्पूर्ण सङ्कटहरूबाट बचाउँनु होस्!
मेरो मुखसम्म पानी उठिसक्यो।
2 त्यहाँ उभिने कुनै ठाउँ छैन।
म तल-तल दलदलमा भाँसिदैछु,
म गहिरो पानी भित्र छु,
अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्।
3 तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु।
मेरो घाँटी पोलिरहेछ।
म तपाईंको सहयोगको निम्ति
मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
4 मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्।
कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्।
तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे।
मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्,
तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्।
तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्।
5 हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन।
म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिनँ।
6 हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्।
हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।
7 मेरो अनुहार शरमले ढाकिएको छ।
म तपाईंको निम्ति त्यो शरम सहन्छु।
8 मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्।
मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्।
9 तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ।
म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
10 म रोएँ र उपवास बसें,
अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।
11 आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ,
अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन।
मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः
तपाईंले मलाई ग्रहण गरेको चाहन्छु।
हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु,
म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
14 दलदल देखि मलाई तान्नु होस्।
मलाई दलदल भित्र भासिन नदिनुहोस्।
मलाई यो गहन पानीबाट बचाउनुहोस्।
मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
15 पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्।
गहीरो प्वालले मलाई निल्न नदिनुहोस्।
मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।
म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।
म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्।
18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।
मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।
19 मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ,
तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो।
20 गालीले मलाई धूलो-पिठो पारेको छ।
म गालीको कारणले मर्न लागेको छु
म संवेदना पर्खिएको छु,
तर कसैबाट पाउन सकिन।
म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसें,
तर कोही पनि आएन।
21 तिनीहरूले मलाई खानलाई विष दिए।
तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।
22 तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्।
तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्।
मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ।
23 तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्।
24 तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव
तिनीहरूले पनि गरून्।
25 तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्।
कोही पनि त्यहाँ बस्न नपाओस्।
26 तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्।
त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्।
27 तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्।
तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्।
28 जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्,
तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।
29 म दुःखीत र पीडित छु।
परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।
30 म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु।
म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
31 यसले परमेश्वरलाई खुशी पार्नेछ!
यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ।
32 नम्र मानिसहरू जो परमेश्वरलाई उपासना गर्न आएका छन्।
यी कुरा जानेर तिनीहरू खुशी हुने छन्।
33 किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ।
कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
34 स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्।
समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर।
35 परमप्रभुले सियोनलाई बचाउनुहुनेछ।
परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ
ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्।
36 उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्,
मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।
© 2004, 2010 Bible League International