M’Cheyne Bible Reading Plan
अम्नोन र तामार
13 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो। 2 तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरै पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैँ सम्झिरहने भएकोले आफैं बिरामी भयो।
3 अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाख थिए। 4 योनादाबले अम्मोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन, तरै पनि दुब्लाउँदै छौ? मलाई भन त! किन?”
अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”
5 योनादाबले अम्नोनलाई भने, “ओछ्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।’”
6 त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”
7 दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।”
8 यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्। 9 त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।
अम्नोनले तामारलाई बलात्कार गर्छ
10 तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।”
त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्। 11 उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”
12 तामारले अम्नोनलाई भनिन्, “होइन, दाजू! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन। 13 यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”
14 तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामार भन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे। 15 त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”
16 तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।”
तर अम्नोनले तामारका कुरा पटक्कै सुनेनन्। 17 अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”
18 अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।
तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्। 19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।
20 तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजू अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।
21 राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउँन चाहेनन् यसकारण केही गरेनन्। 22 अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे अब्शालोमले राम्रो-नराम्रो कुनै कुरै गरेनन्। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।
अब्शालोमको प्रतिशोध
23 दुइ बर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेंडाका ऊन कात्रन आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। 24 अब्शालोमले राजालाई भने, “मैले भेंडाको ऊन कात्रन केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”
25 राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”
अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।
26 अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।”
राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”
27 अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।
अम्नोनको हत्या हुन्छ
28 तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनु। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”
29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।
दाऊदले अम्नोनको मृत्युको खबर सुने
30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”
31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुइँमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।
32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो। 33 मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”
34 अब्शालोम भागे।
शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे। 35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”
36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए। 37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।
अब्शालोम भागेर गेशुर गए
अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए। 38 भागेर गएपछि अब्शालोम तीन बर्ष सम्म गशूरमा बसे। 39 राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घट्यो, तर उसले अब्शालोलाई एकदमै गुमाए अनि उसलाई अतिनै हेर्न चाहन्थे।
6 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ। 2 परमेश्वर भन्नु हुन्छः
“ठीक समयमा मैले तिमीलाई सुनें,
अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।”(A)
तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
3 मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं। 4 तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं 5 हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन 6 हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफैं देखाँउछौं। 7 हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं।
8 कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं। 9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं। 10 हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।
11 कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसीत हामीले हाम्रा हृदय खोलेका छौं। 12 तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ। 13 तिमीहरू मेरा नानीहरू जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।
अन्यजातिहरूसँग जीउन वारे चेताउनी
14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। 15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ? 16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ,
“म तिनीहरूसित बस्छु,
तिनीहरूसितै हिँड्छु,
म तिनीहरूका परमेश्वर हुनेछु,
अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”(B)
17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद्ध कुराहरू नछोऊ,
र म तिमीरूलाई स्वीकार गर्नेछु।”(C)
18 “म तिमीहरूका पिता बन्नेछु,
अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”(D)
20 एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं बर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।
2 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 3 “हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’ 4 हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए। 5 तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” 6 त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिएँ। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।
7 “‘मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” 8 तर तिनीहरू मेरो विरूद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फ्याँकेनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरें अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजें। 9 तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई भित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाहँदिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ। 10 मैले इस्राएलको परिवारलाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिनीहरूलाई मरुभूमिमा लिएर गएँ। 11 त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्यो भने ऊ बाँच्नेछ। 12 मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ।
13 “‘तर इस्राएलको परिवार मरुभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुशरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरुभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें। 14 तर मैले तिनीहरूलाई नष्ट गरिनँ। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिनँ। 15 मैले मरुभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।
16 “‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुशरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए। 17 तर मलाई तिनीहरू प्रति दया जाग्यो, यसकारण मैले तिनीहरूलाई नष्ट गरिन्। 18 मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुशरण नगर। तिनीहरूको आदेशहरू पालन नगर। 19 म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु। 20 यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”
21 “‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरुभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्। 22 तर मैले आफैंलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिनँ। 23 यसकारण मैले मरुभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें।
24 “‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे। 25 यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्। 26 मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’ 27 यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए। 28 तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटी[a] ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए। 29 मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ।’”[b]
30 परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैंलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे। 31 तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन। 32 तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि ढुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।’”
33 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु! 34 म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु। 35 म तिमीलाई मरुभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ। 36 म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिम्रो पिता-पुर्खाहरूसित मिश्रको मरुभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
37 “म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु। 38 म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”
39 हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”
40 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाउँ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ। 41 तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्। 42 तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहा पाउँछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ। 43 त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ। 44 हे इस्राएलको परिवार! तिमीहरूले धेरै दुष्ट कामहरू गर्यौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
45 तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 46 “हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलको[c] विरूद्ध अगमवाणी गर। 47 नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ। 48 त्यसपछि मानिसहरूले थाह पाउनेछन् कि मैले अर्थात परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउन सक्तैंन।’”
49 त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँच्चो हुनेछ।”
प्रमुख संगीतकारलाई: प्रशंसाको गीत।
1 पृथ्वीमा भएका प्रत्येकले चिजले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ।
2 उहाँको नाउँको महिमाको प्रशंसा गर!
स्तुति-गानहरूले उहाँको सम्मान गर!
3 उहाँको कार्यहरू कति अद्भूतपूर्ण छन् भन!
परमेश्वर तपाईंको शक्ति महान् छ।
तपाईंका शत्रुहरू झुक्छन्।
तिनीहरू तपाईंसँग डराउँदछन्।
4 सारा पृथ्वीले तपाईंको उपासना गरून,
प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
5 परमेश्वरले गर्नु भएको कामहरू हेर!
ती कुराहरूले हामीलाई छक्क पार्छ।
6 परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो।
उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
7 परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ,
उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ।
कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
8 हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
ठूलो स्वरले उहाँको गुण-गान गर।
9 मानिसहरूलाई जीवन दिनु भयो।
अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
10 मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11 हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो।
तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
12 तपाईंले आगो र पानी माथिबाट
टाउको समातेर हामीलाई तान्नु भयो,[a]
त्यसैले तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।
13-14 यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु।
जब-जब म सङ्कटमा परें तब तपाईंको सहयोग मागें।
मैले तपाईंसँग प्रतिज्ञाहरू गरेको थिएँ।
अब, म तपाईंलाई ती चीजहरू दिइरहेछु जुन मैले प्रतिज्ञा गरेथें।
15 म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु,
म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु,
म साँढेहरू र बाख्राहरू चढाउने छु।
16 तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ।
आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।
17-18 मैले उहाँलाई प्रार्थना गरें,
र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
मेरो हृदय शुद्ध थियो,
यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
19 परमेश्वरले मलाई सुन्नुभयो।
परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
20 परमेश्वरको प्रशंसा गर!
परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो।
उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।
प्रमुख संगीतकारलाई: वाद्य-वादन सहित। एउटा स्तुतिगान।
1 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्।
कृपया हामीलाई ग्रहण गर्नुहोस्!
2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
प्रत्येक जातिले देखुन् कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्।
किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
5 मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।
6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
हाम्रो खेतले विस्तृत फसल दिओस्।
7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।
© 2004, 2010 Bible League International