M’Cheyne Bible Reading Plan
नातानको दाऊदसँग कुराकानी
12 परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब। 2 त्यस धनी मानिसका धेरै भेंडा र पशुहरू थिए। 3 तर त्यस गरिब मानिसको एउटा किनेको भेंडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।
4 “तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेंडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेंडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”
5 दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। 6 उसले भेंडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
नातानले दाऊदलाई उसको पाप कर्मबारे भने
7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ। 8 मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए। 9 यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो? 10 यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
11 “परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्। 12 तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।’”
13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”
नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ। 14 तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
दाऊद र बेतशेबाको काखे नानी मर्छ
15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो। 16 दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।
17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्। 18 सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”
19 तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?”
नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”
20 त्यसपछि दाऊद भुइँबाट उठे। आफू स्नान गरे र लुगाहरू लगाए र तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।
21 दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”
22 दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइनँ र रोइमात्र रहें कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’ 23 तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”
सुलेमानको जन्म
24 त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो। 25 परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।
दाऊदले रब्बामाथि अधिकार जमाउँछन
26 रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए। 27 योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें। 28 अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाएँ भनें शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”
29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए। 30 दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडा[a] सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।
31 दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।
5 हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। 2 हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ। 3 त्यो हामीलाई पहिर्याई दिइनेछ र हामी नाङ्गो हुने छैनौं। 4 जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ। 5 परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।
6 यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। 7 हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। 8 त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। 9 हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। 10 न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।
मद्दतकारी मानिस परमेश्वरका मित्र बन्छन्
11 परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ। 12 हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नैं बारेमा भन्दैछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्। 13 यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो। 14 ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। 15 ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ।
16 अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। 17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। 18 यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। 19 मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। 20 यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। 21 ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
19 परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दु:खको गीत गाउनु पर्छ:
2 “‘कस्तो सिंहिनी तिम्री आमा?
ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई।
ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी
अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।
3 ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई।
त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो।
त्यसले शिकार गर्न सिक्यो।
त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।
4 “‘जाति-जातिहरूले त्यसले गर्जेको सुने
अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए।
तिनीहरूले त्यसको मुखमा बल्छी लगाए
अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।
5 “‘आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ।
तर अहिले तिनका सबै आशा हराए।
यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई।
त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।
6 त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो।
त्यो जवान सिंह एउटा बलवान सिंह भयो।
उसले आफ्नो शिकार पक्रन सिक्यो।
उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।
7 उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो।
त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे,
जतिबेला त्यसको गर्जन सुन्थे।
8 त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए
अनि तिनीहरूले त्यलाई खाल्डामा पारे।
9 तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए।
तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे
यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए।
अब त्यसको गर्जन तिमीहरूले,
इस्राएलको पर्वतमा सुन्नेछैनौ।
10 “‘तिम्री आमा पानीको छेउको
दाखको बोट जस्तै थिई।
त्योसँग प्रशस्त पानी थियो।
यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।
11 त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो,
त्यो हाँगा टेक्ने लौरो जस्तो थियो।
त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो।
बोट अग्लो अनि अग्लो हुँदै गयो।
यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।
12 तर बोटलाई जरैसँग उखेलिदियो,
अनि त्यसलाई जमीनमा फ्याँकि दियो।
गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो,
शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।
13 “‘तर त्यो दाखको बोट अब मरुभूमिमा रोपियो,
यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।
14 विशाल हाँगामा आगो फैलियो,
आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो।
यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन।
कुनै राजाको राजदण्ड थिएन।’
यो मृत्युको बारेमा दु:खको गीत थियो अनि यो मृत्युको बारेमा दु:खको गीतको रूपमा गाइयो।”
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्।
मेरो शत्रुले मलाई धमास दिएको छ।
त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!
2 मेरो शत्रुहरूका षड्यन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।
ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।
तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्,
तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट
ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताक्छन्।
5 एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काउँछन्।
तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्।
तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
6 तिनीहरूले पासोहरू लुकाएका छन्।
तिनीहरूले शिकार खोजीरहेका हुन्छन्।
मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
7 तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!
अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।
8 दुष्ट मानिसहरूले अरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्।
तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ,
अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ।
तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हल्लाउने छन्।
9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्।
अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्।
तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ।
कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।
ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ,
तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुति-गान।
1 सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
2 सबै मानिसहरू तपाईंकहाँ आउँछन्,
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
3 जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्,
तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
4 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
5 हे परमेश्वर, हामीलाई बचाउँनु होस्।
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन्,
अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
6 परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
7 परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
8 संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
9 तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ
तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो
अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
11 तपाईंले नयाँ-बर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
अनि बर्षको अन्त प्रशस्तै फसलहरूले भर्नुभयो।
12 तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
13 चउरहरू भेंडाहरूले भरिएका छन्,
बेंसीहरू अन्नले पुरिएका छन्।
हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।
© 2004, 2010 Bible League International