Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 11

दाऊद बेतशेबासँग मिल्छन्

11 बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।

तर दाऊद यरूशलेममा नै बसे। साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्। त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।”

दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्। र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्।

दाऊदले आफ्नो पाप लुकाउन चाहे

दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउँनु।”

यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए। उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे। तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।”

उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए। तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते। 10 नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।”

त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”

11 उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।”

12 दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।”

उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे। 13 त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।

दाऊदको उरियाहलाई मार्ने योजना

14 अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए। 15 पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”

16 जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्टाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने। 17 रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।

18 तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए। 19 योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए। 20 योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्। 21 के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।’”

22 दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए। 23 दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्‌दै भगायौं। 24 तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।”

25 दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिरूद्धमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।”

दाऊदले बेतशेबालाई विवाह गर्छन

26 बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई गर्छिन्। 27 तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कु-कर्म ठीक लागेको थिएन।

2 कोरिन्थी 4

माटाको भाँडामा आत्मिक धन

परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अँहँ! ठ्याम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्। हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्। यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ। हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं। परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन। हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं। हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं। 10 येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्। 11 हामी जीवित छौं तर येशूको निम्ति हामी सधैँ मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरण्शील शरीरमा येशूको जीवन पनि झल्कन सकोस्। 12 यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ।

13 धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरें, यसकारण म बोलें।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं। 14 परमेश्वरले प्रभु येशूलाई मृत्युबाट जीवन दिनुभयो। अनि हामी जान्दछौं परमेश्वरले हामीलाई पनि येशूसित बौराउनु हुन्छ। परमेश्वरले हामीलाई तिमीहरूसितै ल्याउनु हुनेछ अनि हामी उनका अघि उभिने छौं। 15 यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ।

विश्वासमा जिउनु

16 त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ। 17 यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ। 18 त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैँको लागि हुनेछ।

इजकिएल 18

18 परमप्रभुको वचन मकहाँ आयो, “तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ:

‘आमा-बाबुहरूले अमिलो अङ्गुर खाए,
    तर नानीहरूले अमिलो स्वाद पाए।’”

तर परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै साँच्चो सम्झँदैनन्! म सबै मनिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्!

“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ। त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन। असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ। यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। ऊ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्। ऊ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि ऊ राम्रो मानिस हो, यसकारण ऊ जीवित रहन्छ।

10 “तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ। 11 छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। ऊ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ। 12 उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ। 13 कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयङ्कर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।

14 “सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ। 15 त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्। 16 त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ। 17 उसले गरीबलाई सहायता गर्छा यदि कुनै मानिस ऋण लिन चाहन्छ भने त्यो राम्रो छोरोले ऋण दिन्छ अनि उसले त्यसको ब्याज लिँदैन। राम्रो छोराले मेरो नियमहरू पालन गर्छ अनि मेरो नियमहरू अनुसार चल्छ। त्यो राम्रो छोरा आफ्नो आमा बाबुको पापले मर्दैन। त्यो राम्रो छोरा बाँचिरहन्छ। 18 उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन।

19 “तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण ऊ बाँचिरहन्छ। 20 जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।

21 “यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ। 22 परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”

23 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्।

24 “यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोड्न सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”

25 परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय सँगत छैन। तिमीहरूकै मार्गहरू अन्याय सँगत छन्। 26 यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ। 27 यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ! 28 त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”

29 इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।”

परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्। 30 किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलाओस्। 31 ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ? 32 म तिमीलाई मार्न चाहँदिन। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

भजनसंग्रह 62-63

प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति दाऊदको भजन।

मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ।
    मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।
    परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।

कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ?
म ढल्की सकेको भित्ता जस्तो छु,
    ढल्न तयार भएको बार हुँ।
मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि,
    ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्।
मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्।
    जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन्
    तर गुप्त रूपमा भने मलाई सराप्दछन्।

मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
    परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
    परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
    उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
    तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
    परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
    तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
    फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
    चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्‌य हुनेछौ,
    सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
    अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”

12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
    परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

दाऊदको एउटा भजन, जब तिनी यहूदाको मरुभूमिमा थिए।

हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि
    तपाईंकै निम्ति तिर्खाउँछ।
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
    मैले तपाईंको शक्ति र महिमा देखेको छु।
तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
    मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा,
    म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
    अनि मेरो प्रफुल्लित ओंठले तपाईंकै गुण गाउँनेछ।
म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
    मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो।
    म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
मेरो प्राण तपाईंमा अल्झिन्छ,
    अनि तपाईं मेरो हात समाउनु हुन्छ।

कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन्,
तर तिनीहरू नाश हुने नै छन्।
    तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
10 तिनीहरू तरवारले मारिनेन्छन्।
    जङ्गली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।
11 तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन्,
अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।
    किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International