M’Cheyne Bible Reading Plan
दाऊदले धेरै युद्धहरू जित्छन्
8 पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भागमाथि अधिकार जमाए। 2 दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।
3 रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे। 4 दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए।
5 दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे। 6 त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।
7 दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए। 8 दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवह र बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।)
9 हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने। 10 यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए। 11 दाऊदले ती सम्पूर्ण सामानहरू परमप्रभुमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपर्ण गरेका सामानहरूसँगै ती सामानहरूराखे। 12 दाऊदले अराम, मोआब, अम्नोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए। 13 दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कंदा साह्रै ख्याती कमाए। 14 दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता-ततै विजय दिलाउनु भयो।
दाऊदको शासन
15 दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे। 16 सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए। 17 अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। 18 यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाँहि प्रमुख थिए।
शाऊलका परिवार प्रति दाऊद दयालु बन्छन्
9 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”
2 शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”
सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”
3 राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”
सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।”
4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”
सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”
5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। 6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।
दाऊदले भने, “मपीबोशेथ?”
मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”
7 दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।”
8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”
9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। 10 तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।”
सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए। 11 सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”
यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। 12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। 13 मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।
2 यसैले, मैले निश्चय गरें कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन। 2 मैले तिमीहरूलाई दुःखीत बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःखीत बनाएँ। 3 यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ। 4 अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुःखीत थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुःखीत तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।
भुल गर्नेलाई क्षमा देऊ
5 तिमीहरूलाई मण्डलीमा कसैले दुःखीत पार्यो। उसले मलाई दुःखीत बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ। 6 तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दण्ड दिए उसको लागि मनग्गे छ। 7 तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ। 8 यसककारण म विन्ती गर्छु कि तिमीले उसलाई तिम्रो प्रेम देखाऊ। 9 यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें। 10 कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ। 11 शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।
परमेश्वरले हामीहरूलाई समस्याहरूमा बिजय दिनुहुन्छ
12 ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो। 13 तर मैले मनमा शान्ति पाइनँ, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेट्टाईनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें।
14 तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सधैँ ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ। 15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं। 16 मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ? 17 हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।
16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! यरूशलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन्। 3 तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर! तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन। 4 यरूशलेम जुन दिन उत्पन्न भयो, तिम्रो नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिम्रो शरीरमा नुन मलिदिएन, अनि तिमीलाई सफा तुल्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन्। 5 यरूशलेम, तिमी एक्लै थियौ। कसैले पनि तिमीप्रति दया देखाएन, न त कसैले तिमीलाई हेरचाह नै गर्यो। हे! यरूशलेम तिमी जन्मिएको दिन, तिम्रो आमा-बाबुले तिमीलाई खेतमा राखिदिए। जब तिमी जन्मियौ तिमी रगतमा लपेटिएका थियौ।
6 “‘त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!” 7 मैले तिमीलाई खेतमा बिरूवा सियारे जस्तै सेवा गरेर बढाएँ। तिमी बढ्दै गयौ। तिमी जवान स्त्री बनियौ, तिम्रो मासिक-धर्म आरम्भ भयो, तिम्रो स्तन बढ्यो, तिम्रो कपाल बढ्न थाल्यो। तर त्यसबेला सम्म तिमी वस्त्रहीन र नाङ्गै थियौ। 8 मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 9 “‘मैले तिमीलाई पानीले नुहाई दिएँ। मैले तिम्रो रगत धोई दिएँ अनि तिम्रो शरीरमा तेल मालिश गरिदिएँ। 10 मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुत्ता दिएँ। मैले तिमीलाई एउटा मिहीन मलमलको अनि एउटा रेशमको लुगा दिएँ। 11 तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ। 12 मैले तिमीलाई नाकमा एउटा मुन्द्री, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ। 13 तिमी सुन, चाँदीको गर-गहना अनि रेशमको लुगामा बुट्टा गरेको लगाउँदा सुन्दर देखियौ। तिमीले राम्रो खाना खायौ। तिमी अत्याधिक सुन्दरी थियौ अनि तिमी रानी बनियौ 14 तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
15 परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं। 16 तिमीले आफ्नो सुन्दर लुगा लियौ अनि त्यसको प्रयोग आफ्नो पूजाको स्थानमा सजाउन गर्यौं। तिमीले त्यस ठाँउमा एउटा वेश्याले जस्तो काम गर्यौ। तिमीले आफूलाई प्रत्येक मानिससँग अर्पित गर्यौ जो त्यहाँ आयो! 17 तब मैले दिएको सुन्दर गर-गहना लियौ अनि त्यो सुन-चाँदी मानिसहरूको मूर्तिहरू बनाउँनमा प्रयोग गर्यौ। तिमीले तिनीहरूलाई वेश्याले झैं पूज्यौ। 18 त्यसपछि तिमीले सुन्दर लुगा लियौ अनि ती मूर्तिलाई लगाई दियौ। तिमीले सुगन्धि धूप अनि बत्ती लियौ जुन मैले तिमीलाई दिएको थिएँ, अथवा त्यसलाई ती देवमूर्तिहरू अगाडी चढायौ। 19 मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियौ। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झूटा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौं।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
20 परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो? 21 तिमीले मेरो छोराहरूको हत्या गर्यौ अनि तिनीहरूलाई ती झूटा देवताहरूकोमा चढायौं। 22 तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दा काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियौ तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाँए त्यति बेला तिमी नाङ्गै थियौं अनि रगतमा लटपटिरहेको थियौं।
23 “ती सबै नराम्रा चीजहरू पछि, हे यरूशललेम! यो तिमीलाई एकदमै नराम्रो हुन्छ।” परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो। 24 “ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ। 25 तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायौ। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायौ। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यसो गर्यौं। तिमीले आफ्नो खुट्टा देखियोस् भनी फरियामाथि उठायौ अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झैं व्यवहार गर्न थाल्यौ। 26 तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयौं, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई उत्तेजित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौं। 27 यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन्। तिम्रो ब्यावहारले गर्दा पलिश्तीहरूका छोरीहरू पनि लज्जित भए। 28 त्यसपछि तिमीले अश्शूरहरूसित शारीरिक सम्बन्ध गर्यौ। तर तिमीलाई पर्याप्त भएन। तिमी कहिल्यै पनि सन्तुष्ट भएनौ। 29 यसकारण तिमी कनान पट्टि फर्कियौ अनि त्यसपछि बाबेल पट्टि। तब पनि तिमी सन्तुष्ट भएनौ। 30 तिमी साह्रै कमजोर छौ। तिमीले ती सबै मानिसहरू र राज्यहरूलाई पाप गर्न लगायौ। तिमीले ठीक एउटी वेश्याले जस्तै काम गर्यौ।” यी कुराहरू परमप्रभु मेरो मालिकले भन्नुभयो।
31 “तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ। 32 तिमी व्यभिचारी स्त्री हौ। तिमीले आफ्नो पतिको भन्दा विदेशीहरूसँग शारीरिक संम्बन्ध राख्न ज्यादा राम्रो मान्यौ। 33 प्राय वेश्याहरू शारीरिक सम्बंधको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वंय भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बंधको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बंधको लागि आमन्त्रित गर्यौ। 34 तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरूषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरूषहरूलाई आफूसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।”
35 हे वेश्या! परमप्रभुको वचन सुन। 36 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो। 37 यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्। 38 त्यसपछि म तिमीलाई दण्ड दिन्छु। म तिमीलाई कुनै हत्यारिनी अनि त्यस स्त्रीलाई जस्तै दण्ड दिन्छु जसले व्यभिचारी पाप गरेकी छे। तिमी त्यस्तै दण्डित हुनेछौ मानौ कुनै क्रोधित तथा ईंर्ष्यालु पतिले आफ्नी पत्नीलाई दण्ड दिए जस्तै। 39 म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिम्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिम्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिम्रो लुगाहरू च्याति दिनेछन् तथा तिम्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वस्त्रहीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियौ। 40 तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्। 41 अनि तिनीहरूले तिम्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिम्रो वेश्यावृति देखि रोक्नेछु र तिमीले अरू ज्याला पाउने छैनौ। 42 त्यसपछि म क्रोधित अनि डाही हुन छोडिदिनेछु। म शान्त हुनेछु। म फेरि क्रोधित हुनेछैन। 43 यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्यौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्यौ अनि मलाई क्रोधित बनायौ। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
44 “तिम्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन, ‘जस्तो आमा त्यस्तै छोरी।’ 45 तिमी आफ्नो आमाको छोरी हौ। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिँदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिम्रो आमा हित्ती अनि बाबु एमोरी थिए। 46 तिम्रो ठूलो दिदी सामरिया थिई ऊ तिम्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्थी अनि तिम्रो सानो बहिनी सदोम थिई। ऊ आफ्नो छोरीहरूसँग (शहरहरू) तिम्रो दक्षिणमा बस्थी! 47 तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्यौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो। 48 म परमप्रभु अनि मालिक हुँ। म सदा जीवित छु अनि आफ्नो जीवनको शपथ खाएर भन्छु कि तिम्रो बहिनी सदोम अनि उसको छोरीहरूले कहिल्यै पनि त्यति नराम्रो काम गरेनन् जति तिम्रो छोरीहरूले गरे।”
49 परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए। 50 सदोम अनि उसको छोरीहरू अत्याधिक घमण्डी भए र मेरो अघि डरलाग्दा पाप गर्न थाले। जब मैले ती कामहरू गरेको देखें, मैले दण्ड दिएँ।”
51 परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ। 52 यसकारण तिमी लज्जित हुनुपर्छ। तिमीले तिम्रो दिदी बहिनीहरूलाई तिमी भन्दा धार्मिक देखिने बनायौ। तिमीले भयंकर पापहरू गरेकीछौ यसकारण तिमी लज्जित हुनुपर्छ।”
53 परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु। 54 म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ। 55 यस्तो प्रकारले तिमी अनि तिम्रो बहिनीहरू फेरि बनाइनेछन्। सदोम अनि उसको चारैतिरको शहरहरू, सामरिया अनि त्यसको चारैतिरको शहरहरू तथा तिमी अनि तिम्रो चारैतिरको शहरहरू फेरि बनाइनेछन्।”
56 परमेश्वरले भन्नुभयो, “बितेका दिनहरूमा तिमी घमण्डी थियौ अनि तिम्रो बहिनी सदोमको हाँसो उडाउँथ्यौ। तर तिमीले त्यस्तो फेरि गर्न सक्तैनौ। 57 तिमीलाई सजाय दिनु भन्दा पहिला आफ्नो छिमेकीहरूद्वारा हाँसो उडाउन शुरू गर्नु भन्दा पहिला तिमीले त्यो गरेकी थियौ। एदोमको छोरीहरू तथा पलिश्तीले अहिले तिम्रो हाँसो उडाइरहेकाछन्। 58 अब तिमीले जुन भयङ्कर पाप गर्यौ त्यसका निम्ति कष्ट उठाउँनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
59 परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भङ्ग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौं। 60 तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैँ रहने थियों। 61 म तिम्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिम्रो छोरीहरू बनाउँनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिम्रा निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्यौ अनि तिमी लज्जित हुनेछौ। 62 यसकारण म तिमीसित मेरो करार बाँध्नेछु र तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ। 63 तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।
प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा, दाऊदको “मिक्ताम” भन्ने भजन।
1 हे न्यायकर्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ।
तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
2 होइन, तिमीहरू दुष्ट्याँई कामहरू गर्नलाई मात्र सोच्दछौ।
तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ।
तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
4 तिनीहरूको क्रोध सर्पको बिष[a] जस्तै डरलाग्दो छ।
साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।
5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन।
अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।
6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन्
यसैले परमप्रभुले, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।
7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्।
तिनीहरू बाटोमा कुल्चिने जंगली झारहरू झैं होऊन्।
8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्।
तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन्।
9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू
जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।
10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ
तब धार्मिक मानिस खुशी हुन्छ।
ऊ सबै शत्रुहरूलाई परास्त गर्ने
सिपाही जस्तो हुनेछ।
11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन,
परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।”
प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम्” भन्ने भजन। जब शाऊलले दाऊदको चियो गरेर मार्न मानिसहरू पठाए।
1 हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउँनु होस्।
मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।
2 मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउँनु होस्।
मलाई ती हत्याराहरूबाट बचाउँनु होस्।
3 हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्।
तिनीहरू मलाई मार्न पखिरहेका छन्।
यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।
4 मैले कुनै गल्ती काम गरिनँ, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्।
हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्।
5 तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ!
उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्।
ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।
6 ती पापीहरू कुकुर जस्ता
साँझै पिच्छे भुकदै शहरभित्र आउँदछन्,
अनि ङ्वार-ङ्वार र ङुर-ङुर गर्दै शहरभित्र घुम्छन्।
7 तिनीहरूका निन्दा र धम्की सुन्नु होस्।
तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्,
तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्।
8 हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्।
ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।
9 म तपाईंको स्तुति-गान गर्नेछु।
हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ।
10 परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ।
उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
11 हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्।
मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।
12 ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्।
तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्,
तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।
13 तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्।
तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्।
तब संसार भरिका मानिसहरूले बुझ्ने छन्
परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!
14 ती धूर्त पुरूषहरू कुकुरहरू जस्तै छन्,
ङ्वार्र-ङ्वार्र र ङुर-ङुर गर्ने कुकुरहरू जस्तै भुक्दै शहरभित्र पस्नेछन्।
15 तिनीहरूले खाने-कुरा खोज्छन्
तर तिनीहरूले न त खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्।
16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु
म तपाईंको प्रेममा आनन्दित हुनेछु।
किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु।
किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
© 2004, 2010 Bible League International